logo
  • २०८३ श्रावण ९ | Sat, 25 Jul 2026
  • जीवन सफलताका लागि मनोबल र आत्मिक सन्तुलनको आधार

    जीवन सफलताका लागि मनोबल र आत्मिक सन्तुलनको आधार

    जीवन सफलताका लागि मनोबल र आत्मिक सन्तुलनको आधार

     

     

    तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार

    मानव जीवनको वास्तविक शक्ति आन्तरिक संसारमा निहित हुन्छ। मनोबल र आत्मिक सन्तुलन मानव अस्तित्वका दुई त्यस्ता आधारस्तम्भ हुन्, जसले व्यक्तिलाई कठिन परिस्थितिमा पनि स्थिर, सचेत र सक्षम बनाइराख्छन्। जब बाह्य संसार अस्थिर हुन्छ, तब आन्तरिक संसारको मजबुती नै जीवनको दिशानिर्धारक शक्ति बन्छ।

    मनोबल भनेको दीर्घकालीन मानसिक दृढता हो, जसले व्यक्तिलाई चुनौती, असफलता र संकटसँग सामना गर्न सक्षम बनाउँछ। उच्च मनोबल भएको व्यक्ति परिस्थितिको दास हुँदैन, बरु परिस्थितिलाई आफ्नो अनुकूल बनाउन प्रयास गर्छ। उसले असफलतालाई अन्त्य होइन, सिकाइको अवसरका रूपमा लिन्छ। यही दृष्टिकोणले जीवनलाई निरन्तर अगाडि बढाउने ऊर्जा प्रदान गर्छ।मनोबलको स्थायित्व आत्मिक सन्तुलनमा निर्भर हुन्छ। आत्मिक सन्तुलन भनेको मन, बुद्धि र भावनाबीचको समन्वय हो। जब यी तीन तत्वहरू सन्तुलित हुन्छन्, तब व्यक्ति आन्तरिक रूपमा स्थिर हुन्छ। यस्तो स्थिरता बाह्य घटनाबाट सजिलै विचलित हुँदैन। सुखमा अति उत्साह र दुःखमा अत्यधिक निराशाबाट मुक्त भएर व्यक्ति मध्यम मार्गमा रहन सक्छ।आत्मिक सन्तुलनले मानिसलाई आफ्ना भावना बुझ्न र नियन्त्रण गर्न सिकाउँछ। क्रोध, लोभ, ईर्ष्या र डर जस्ता नकारात्मक भावनाहरू मानव मनलाई अस्थिर बनाउने प्रमुख कारण हुन्। जब आत्मचिन्तन र आत्मबोध विकसित हुन्छ, यी भावनाहरू क्रमशः नियन्त्रणमा आउँछन्। यसको परिणामस्वरूप व्यवहारमा शान्ति, धैर्य र सहिष्णुता बढ्छ।

    मनोबल र आत्मिक सन्तुलन एक–अर्कासँग जोडिएका छन्। कमजोर आत्मिक अवस्था भएको मनोबल दीर्घकालीन हुन सक्दैन। त्यसैगरी कमजोर मनोबल भएको आत्मिक सन्तुलन व्यवहारमा प्रकट हुन सक्दैन। जब यी दुईबीच समन्वय हुन्छ, तब व्यक्ति आन्तरिक रूपमा सशक्त र बाह्य रूपमा प्रभावशाली बन्छ।आधुनिक जीवनशैलीले मानिसलाई अत्यधिक प्रतिस्पर्धा, तनाव र अस्थिरताको अवस्थामा पुर्याएको छ। प्रविधिको तीव्र विकासले सुविधा बढाए पनि मानसिक शान्ति घटेको देखिन्छ। यस्तो अवस्थामा मनोबल र आत्मिक सन्तुलनको महत्व अझ बढी हुन्छ। ध्यान, आत्मचिन्तन, सकारात्मक सोच र आध्यात्मिक अभ्यासले यसलाई मजबुत बनाउन सकिन्छ।

    ध्यान आत्मिक सन्तुलनको प्रमुख माध्यम हो। ध्यानले मनलाई एकाग्र बनाउँछ, अनावश्यक विचारहरूलाई घटाउँछ र आन्तरिक शान्तिको अनुभव गराउँछ। जब मन शान्त हुन्छ, तब निर्णय क्षमता स्पष्ट हुन्छ र मनोबल स्वतः बढ्छ। यसरी ध्यानले दुवै पक्षलाई एकसाथ सुदृढ बनाउँछ।त्यस्तै, सकारात्मक सोच पनि मनोबलको महत्वपूर्ण आधार हो। व्यक्तिले आफूलाई कसरी हेर्छ र संसारलाई कसरी बुझ्छ भन्ने कुराले उसको व्यवहार निर्धारण गर्छ। नकारात्मक सोचले कमजोरी बढाउँछ भने सकारात्मक सोचले सम्भावनाको ढोका खोल्छ। आत्मविश्वास र आशावाद मनोबलको ऊर्जा स्रोत हुन्।

    आत्मिक सन्तुलन  व्यक्तिगत लाभका लागि मात्र होइन, सामाजिक जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ। सन्तुलित व्यक्ति सम्बन्धमा स्थिर, सहयोगी र जिम्मेवार हुन्छ। यस्तो व्यक्तिले समाजमा द्वन्द्व होइन, सहकार्य र समझदारीको वातावरण निर्माण गर्छ। यसले समग्र सामाजिक संरचनालाई नै सुदृढ बनाउँछ।आत्मिक शान्ति  मन, शरीर र आत्माबीचको सन्तुलन हो। यो बाहिरी वातावरणमा होइन, भित्रको स्थायीत्व र सन्तुष्टिमा पाइन्छ। जब मानिसको मन अशान्त हुन्छ, तब ऊ कति सफल वा धनी भए पनि जीवन अपूर्ण लाग्छ। शान्ति बिना सफलता स्वादहीन हुन्छ। ध्यान, योग, आत्मचिन्तन र सकारात्मक सोच आत्मिक शान्तिको प्राप्तिका महत्वपूर्ण उपाय हुन्।

    जब इच्छाशक्ति र आत्मिक शान्ति एकसाथ विकसित हुन्छन्, तब मानिस सशक्त, सन्तुलित र सच्चा अर्थमा सफल बन्न सक्छ।इच्छाशक्तिले मार्ग देखाउँछ भने आत्मिक शान्तिले त्यो मार्गमा सन्तुलन कायम गर्न सहयोग गर्छ।  आत्मविकास आन्तरिक रूपान्तरणको यात्रा हो, जसको मूल केन्द्र मानव मन, इच्छाशक्ति र शान्तिमा हुन्छ। मानव मन चञ्चल र परिवर्तनशील प्रकृतिको हुन्छ। यदि मनलाई सही दिशामा प्रशिक्षित गरियो भने, यसले महान उपलब्धि र आत्मसम्बोधनको मार्ग देखाउन सक्छ। तर यसको लागि आवश्यक छ इच्छाशक्तिको बलियो साथ। इच्छाशक्ति  मनको नियन्त्रण गर्ने आन्तरिक शक्ति हो, जसले लक्ष्यप्रति अडिग रहन, प्रलोभनहरूलाई जित्न र अनुशासन कायम गर्न सहयोग गर्छ। आत्मविकासको बाटोमा निरन्तर अभ्यास, धैर्य र समर्पण आवश्यक पर्छ, र यी सबै इच्छाशक्तिबाट नै सम्भव हुन्छन्।

    शान्ति  आत्मविकासको अन्तिम गन्तव्य हो। बाहिरी सफलता हुँदा-हुँदै पनि यदि भित्र शान्ति छैन भने जीवन अधुरो रहन्छ। ध्यान, आत्मनिरीक्षण र सकारात्मक चिन्तनले मनलाई स्थिर राख्न मद्दत गर्छ, जसले आत्मिक शान्ति जन्माउँछ।, मानव मनलाई बुझेर, इच्छाशक्तिको माध्यमबाट मार्गदर्शन गर्दै र अन्ततः शान्तिको खोजी गर्दै अगाडि बढ्नु नै साँचो आत्मविकासको मार्ग हो जब व्यक्ति भित्रबाट सशक्त र शान्त हुन्छ, तब मात्र ऊ बाह्य जीवनमा पनि सन्तुलन र सफलता प्राप्त गर्न सक्षम हुन्छ।मानव मन चञ्चल र अस्थिर हुन्छ, जसका कारण उसका विचार र भावना विचलित हुन्छन्। जबसम्म मानिसले आफ्नो मनलाई नियन्त्रणमा लिन्न सक्छ, तबसम्म उसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन। मुख्य कारण इच्छाहरू हुन्, जसले विचार र भावनालाई प्रभावित गरि मनलाई स्थिर हुन दिँदैन। त्यसैले, व्यक्तिले पहिले आफ्नी इच्छालाई नियन्त्रणमा लिनका लागि उपायहरू खोज्नु आवश्यक छ।

    हामी सकारात्मक सोच्छौ भने हामी सकारात्मक बन्छौ, तर यदि हामी नकारात्मक सोच्छौ भने हामी त्यही बन्छौ दैनिक जीवनमा आफ्नो विचारप्रति मात्र सकारात्मक रहियो भने जीवनमा अकल्पनीय परिवर्तनहरू देखिनेछन्।अशान्त मनलाई शान्त पार्न मुस्किल त छैन तर यसका लागि केहि उपायहरुको भने सहि तरिकाले अपनाउनुपर्छ। जबसम्म मानिसले आफ्नो मनलाई शान्त गर्न सिक्दैन तबसम्म उसले जीवनमा अरू केही पनि कुरा राम्रोसँग सिक्न सक्दैन। अस्थिर र चन्चल दिमागका कारण धेरै पटक हामी ठूला निर्णय लिन सक्दैनौं र सानो कुरामा गल्ती गर्छौं। यी गल्तीहरूबाट बच्न र  मनलाई शान्त पार्न केहि उपायहरु निकै नै लाभदायक हुन सक्छन्। आफ्नो मनलाई शान्त पार्ने सबैभन्दा राम्रो उपाय हो योगा गर्नु । योगा गर्नाले मन र दिमाग दुवै शान्त हुन्छ। योगको मुख्य फाइदा दिमागलाई शान्तपार्नु हो। योगको सहायताले थोरै समयमा मनलाई शान्त बनाउन सकिन्छ । केही प्रकारका योगहरु पनि छन्, जसको सहायताले मनलाई लामो समयसम्म शान्त राख्न सकिन्छ। कुनै दृश्यमा ध्यान केन्द्रित गर्दा मन शान्त हुन्छ। यो उपाय अलि ध्यान जस्तो लागे पनि यो ध्यानभन्दा फरक छ। कुनै पनि शब्द वा विचारहरू सोच्नुको सट्टा मनलाई शान्त र खुसी दिने दृश्यमा ध्यान केन्द्रित गर्दा फाइदा हुन्छ।

    मानव मन स्वभावतः चञ्चल हुन्छ र प्रायः आफ्नै संसारमा रमाउँछ। मनलाई चेतन र अवचेतन दुई भागमा विभाजन गरिन्छ, जहाँ अवचेतन मनले कहिलेकाहीँ नचाहँदा पनि भावनाहरू प्रकट गराउँछ। धेरैजसो अवस्थामा मानिसले मनमा जे हुन्छ त्यो बाहिर देखाउँदैनन्। प्रेम, घृणा, विचार आदि सबै मनबाटै उत्पन्न हुन्छन्। मन नियन्त्रण गर्ने कुनै यन्त्र छैन, त्यसको नियन्त्रण व्यक्ति स्वयंले नै गर्नुपर्छ।मनोबल र आत्मिक सन्तुलन मानव जीवनको आधारभूत शक्ति हुन्। बाह्य उपलब्धि क्षणिक हुन सक्छ, तर आन्तरिक सन्तुलन दीर्घकालीन शान्तिको स्रोत हो। जब व्यक्ति आफ्नो भित्री संसारलाई बुझ्न र नियन्त्रण गर्न सिक्छ, तब उसले बाह्य संसारमा पनि स्थिरता प्राप्त गर्छ। यही स्थिरता नै सफल, सन्तुलित र अर्थपूर्ण जीवनको आधार हो।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङमा कार्यरत छन्)

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण ३, आईतवार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP