बोदेबरसाईन । राजविराज शैक्षिक सुधार अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूको अवलोकन गरिरहेका अभियन्ता डा. सूर्य प्रसाद यादव (सूर्या) ले राजविराजको समग्र शैक्षिक सुधारका लागि ‘एक वडा–एक नमुना सामुदायिक विद्यालय’ अवधारणा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
उनका अनुसार हालसम्म राजविराज नगरपालिकाभित्रका ५० प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयको अवलोकन सम्पन्न भइसकेको छ। अवलोकनका क्रममा विद्यालयका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षलाई नजिकबाट अध्ययन गर्ने अवसर प्राप्त भएको उनले बताए।
डा. यादवले विद्यालयहरूको अवस्थाको अध्ययनपछि प्रत्येक वडामा कम्तीमा एउटा नमुना सामुदायिक विद्यालय विकास गर्न सके नगरको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे। उनले उक्त अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भए राजविराज मात्र नभई सम्पूर्ण सप्तरीका विद्यार्थी गुणस्तरीय शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने दाबी गरे।
उनले राजविराजको सर्वाङ्गीण विकासका लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै आगामी स्थानीय निर्वाचनमा नगरको नेतृत्वका लागि निस्वार्थ, इमान्दार र योग्य व्यक्तिलाई चयन गर्न नागरिकसँग आग्रह गरेका छन्।
डा. यादवले “शिक्षित राजविराज, विकसित राजविराज” महाअभियानमार्फत नगरको शिक्षा प्रणालीमा दीर्घकालीन सुधार ल्याउने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया