जनकपुरधाम । तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा खण्डमा सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचनाहरू बिहीबारबाट हटाउन सुरु गरिएको छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले सडक क्षेत्रभित्र रहेका घर, टहरा र घुम्ती पसल हटाउने अभियान अघि बढाएको हो । पटकपटक सूचना जारी गर्दा पनि संरचना नहटाइएपछि हटाउने काम सुरु गरिएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।
उनका अनुसार सडक सीमाभित्रका संरचनाका कारण निर्माण तथा विस्तारको काम प्रभावित हुँदै आएको छ । केही स्थानमा सडक निर्माण नै सुरु हुन नसकेको भन्दै आवश्यक परे बल प्रयोग गरेर भए पनि अतिक्रमित संरचना हटाइने उनले बताए ।
यस सडकखण्डको अधिकांश भाग कालोपत्र भइसकेको छ भने धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
आगामी मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । पुल सञ्चालन भएपछि सवारीसाधनको चाप बढ्ने भएकाले सडक क्षेत्र खाली गराउन थालिएको कार्यालयले जनाएको छ । मङ्सिरको पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहबाट सडकखण्डको निरीक्षण हुनसक्ने तयारीसमेत गरिएको छ ।
साथै सडक छेउमै गाईवस्तु बाध्ने, गोबर गाोईठा राख्ने समस्या देखा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया