logo
  • २०८३ कार्तिक ६ | Thu, 22 Oct 2026
  • खाली कुर्सीको गणतन्त्र(कथा)

    खाली कुर्सीको गणतन्त्र(कथा)

    खाली कुर्सीको गणतन्त्र(कथा)

     

    तोमनाथ उप्रेती

     

    बिहान सात बजे शहरले एउटा यस्तो समाचार सुन्यो, जुन कसैले लेखेको थिएन। नगरपालिकाको पुरानो घडीले आठ बजेको घोषणा गर्यो। पहिलो घण्टी बज्यो। मानिसहरू रोकिए। दोस्रो घण्टी बज्यो। चिया पसलमा गिलास अड्किए। आठौँ घण्टीसम्म पुग्दा सडकमा सानो भीड जम्मा भइसकेको थियो। सबैलाई थाहा थियो,अहिले सात बजेको थियो। तर घडीले आठ भनिरहेको थियो। कसैले घडी बिग्रिएको होला भन्यो। कसैले विद्युत्को समस्या होला भन्यो। कसैले वास्ता गरेन। किनकि यो शहरमा गलत कुरा भइरहनु असामान्य थिएन। असामान्य कुरा केवल यति थियो,त्यो बिहान एउटा निर्जीव घडीले सत्यभन्दा ठूलो आवाजमा झूट बोलेको थियो।

    त्यसैबेला जनता चोकमा एउटा कुर्सी देखियो। हिजोसम्म त्यहाँ केही थिएन। आज एउटा सेतो कपडाले ढाकिएको कुर्सी थियो। अगाडि ताजा फूल। पछाडि राष्ट्रिय झन्डा। माथि एउटा बोर्ड “जनताको सेवाका लागि समर्पित।” तर सेवा गर्ने कोही थिएन। कुर्सी खाली थियो। अनौठो कुरा यही थियो।

    कुर्सी खाली भए पनि त्यसलाई हेर्ने मानिसहरूको अनुहारमा सम्मानभन्दा बढी भय देखिन्थ्यो। नगरपालिका कर्मचारी आए। प्रहरी आए। पत्रकार आए। नेता आए। सरकारी गाडी आयो। सबैले कुर्सी वरिपरि घेरा बनाए। तर कसैले एउटा प्रश्न गरेन “यो कुर्सी यहाँ कसले राख्यो?” सायद उत्तर सबैलाई थाहा थियो। सायद कसैलाई थाहा थिएन। अथवा सायद यो शहरमा प्रश्न सोध्नु नै सबैभन्दा ठूलो अपराध थियो।

    चोकको छेउमा चिया बेच्ने धनबहादुरले कुर्सीलाई धेरैबेर हेरे। उसले बिस्तारै भन्यो, “हिजो यहाँ कुर्सी थिएन।” नजिकै उभिएको कर्मचारीले फाइल बन्द गर्दै भन्यो, “अब छ।” धनबहादुर मुस्कुरायो। “त्यही त समस्या हो।” कर्मचारीले उसको अनुहार हेर्यो। “के समस्या?” धनबहादुरले चियाको गिलासमा चम्चा घुमाउँदै भन्यो, “हिजो नभएको कुरा आज यति सजिलै कसरी सत्य भयो?” कर्मचारीले कुनै उत्तर दिएन।

    त्यही बेला एउटा वृद्ध लठ्ठी टेक्दै कुर्सीअगाडि पुगे। उनले दुवै हात जोडेर नमस्कार गरे। धनबहादुरले सोध्यो, “बाजे, कसलाई नमस्कार गर्नुभएको?” वृद्धले कुर्सीतर्फ हेरेर भने, “पदलाई।” “पदमा को छ?” वृद्ध केही क्षण मौन रहे। त्यसपछि मुस्कुराए “त्यो कुरा थाहा पाउनु खतरनाक हुन्छ।” धनबहादुरको हात चियाको गिलासमै रोकियो।

     

    हरिप्रसाद चौध वर्षदेखि जागिर खोजिरहेको थियो। उसको फाइल बाक्लो थियो। उसको आशा पातलो थियो। फाइलको नाम थियो “रोजगारका लागि निवेदन।” फाइलभित्र प्रमाणपत्र थिए। सिफारिसका पत्र थिए। आवेदनका प्रतिलिपि थिए। केही पुराना फोटो थिए। र थिए असफलताका मितिहरू। उसले आवेदन दिएको कार्यालयको भित्तामा ठूलो अक्षरमा लेखिएको थियो “जनताको सेवा हाम्रो धर्म हो।” हरिप्रसादले त्यो वाक्य तीनपटक पढ्यो। त्यसपछि काउन्टरमा पुग्यो।

    कर्मचारीले सोध्यो, “कागज?” “सबै छन्।” “सिफारिस?” “छैन।” कर्मचारीले भौँ उठायो। “अनुभव?” हरिप्रसादले गर्वका साथ भन्यो, “छ।” “कसको?” “बेरोजगार भएको।” कर्मचारी केही क्षण मौन रह्यो। अनि चस्मा मिलाउँदै भन्यो, “त्यो अनुभव मान्य हुँदैन।” हरिप्रसादले सोध्यो, “त्यसो भए मान्य अनुभव के हो?” कर्मचारीले मुस्कुरायो। “काम पाएको अनुभव।” हरिप्रसादले आफ्नो फाइलतर्फ हेर्यो

    । चौध वर्षको बेरोजगारी त्यसभित्र बाक्लो भएर बसेको थियो। उसले फाइल बन्द गर्यो। बाहिर निस्कँदा भित्तामा अर्को पोस्टर देख्यो “युवा नै राष्ट्रको भविष्य हुन्।” उसले पोस्टर हेर्यो। फेरि आफ्नो फाइल हेर्यो। अनि बिस्तारै सोच्यो “भविष्य यति लामो समयदेखि किन बेरोजगार छ?” भित्ताले उत्तर दिएन। कार्यालयले दिएन। शहरले पनि दिएन।

    त्यही शहरमा माया बस्थी। ऊ शिक्षित थिई। स्नातकोत्तर गरेकी थिई। धेरै किताब पढेकी थिई। उसले राज्य, नागरिकता, अधिकार र लोकतन्त्रबारे लेखहरू पढेकी थिई। तर एक दिन उसले थाहा पाई, उसको नागरिकता हराएको रहेछ। प्रमाणपत्रहरू थिए। डिग्री थियो। परिचय थियो। तर राज्यको नजरमा ऊ अपूर्ण थिई। नागरिकता बनाउन ऊ कार्यालय गई। कर्मचारीले भन्यो, जन्म प्रमाणपत्र चाहिन्छ।

    ऊ जन्म प्रमाणपत्र लिन अर्को कार्यालय गई। त्यहाँ कर्मचारीले भन्यो, “नागरिकता चाहिन्छ।” माया केही क्षण कर्मचारीको अनुहार हेरिरही। “तर नागरिकता बनाउन जन्म प्रमाणपत्र चाहिन्छ।” कर्मचारीले अत्यन्त गम्भीर भएर टाउको हल्लायो। “नियम हो।” “तर यो सम्भव छैन।” “नियम सम्भव वा असम्भव हुँदैन। नियम केवल नियम हुन्छ।” माया बाहिर निस्की। घाम चर्किएको थियो। सडकमा मानिसहरू दौडिरहेका थिए। कसैको हातमा नागरिकता थियो। कसैको हातमा पासपोर्ट। कसैको हातमा सरकारी फाइल। उसले आकाशतिर हेरी। आकाशसँग कुनै प्रमाणपत्र थिएन। उसलाई कसैले जन्ममिति सोधेको थिएन। कसैले बाबुको नाम मागेको थिएन। कसैले सिफारिस खोजेको थिएन। माया अचानक मुस्कुराई। “मान्छे हुन प्रमाण चाहिन्छ,” उसले मनमनै भनी, “तर आकाश हुन पर्दैन।” त्यो हाँसो खुशीको थिएन। त्यो अस्तित्वको विडम्बनामा जन्मिएको हाँसो थियो।

    भोलिपल्ट माया विद्यालय पुगिन्। त्यहाँ शिक्षक रमेशले विद्यार्थीहरूलाई नागरिकशास्त्र पढाउँदै थिए। बोर्डमा लेखिएको थियो “नागरिकका अधिकार।” एउटा विद्यार्थीले सोध्यो, “सर, अधिकार भनेको के हो?” रमेशले किताब खोले। “राज्यले नागरिकलाई प्रदान गर्ने सुविधा।” अर्को विद्यार्थीले सोध्यो, “सर, नागरिक को हो?” रमेश रोकिए। उनले बोर्डतिर हेरे। अनि भने, “जसको प्रमाण छ।” कक्षामा हाँसो उठ्यो। रमेश हाँसेनन्।

    उनले अर्को शब्द लेखे “लोकतन्त्र।” “लोकतन्त्र भनेको के हो?” विद्यार्थीहरूले उत्तर दिए “जनताको शासन।” रमेशले सोधे, “जनता कहाँ छन्?” कक्षा चुप भयो। झ्यालबाहिर सडक थियो। सडकमा मानिसहरू थिए। तर कुनै पनि मानिस ‘जनता’ जस्तो देखिँदैनथ्यो। सबैको आफ्नै नाम थियो। आफ्नै काम थियो। आफ्नै डर थियो।

    रमेशले बोर्डमा एउटा ठूलो गोलो बनाए। “यो राज्य हो,” उनले भने। त्यसको बाहिर अर्को गोलो बनाए। “यो नागरिक हो।” एउटा विद्यार्थीले सोध्यो, “सर, दुवै छुट्टाछुट्टै किन?” रमेशले केही क्षण सोचेर भने, “किनकि किताबमा पनि त्यस्तै छ।” विद्यार्थीले फेरि सोध्यो, “किताब गलत हुन सक्छ?” रमेशले चक भुइँमा राखे। “हुन सक्छ।” त्यो दिन पहिलोपटक शिक्षकले पाठ्यपुस्तकभन्दा ठूलो कुरा पढाए, प्रश्न गर्ने साहस।

    त्यो रात जनता चोक असामान्य रूपमा शान्त थियो। पसलहरू बन्द थिए। सडकका बत्तीहरू धुमिल थिए। नगरपालिकाको पुरानो घडीले बाह्र बजेको संकेत गर्यो, तर त्यसले फेरि आठ बजेको आवाज निकाल्यो। कसैले सुनेन वा सायद सबैले सुने, तर सुनेको स्वीकार गरेनन्। चोकको बीचमा त्यही खाली कुर्सी थियो। सेतो कपडा हावासँग बिस्तारै हल्लिरहेको थियो। अगाडि राखिएको फूल ओइलाइसकेको थियो। झन्डा भने अस्वाभाविक रूपमा स्थिर थियो। कुर्सीमुनि धुलोमा दुईवटा ताजा पाइला देखिन्थे, मानौँ केही क्षणअघि मात्र कोही त्यहाँ आएर उभिएको थियो।

    हरिप्रसाद रातको त्यही मौनतामा जनता चोकमा आइपुग्यो। उसले चारैतिर हेर्यो। “माया?” उसको स्वर चोकका खाली भवनहरूमा ठोक्किएर आफैँतिर फर्कियो। कुनै उत्तर आएन। ऊ विस्तारै कुर्सीतर्फ गयो र सेतो कपडा उठायो। आसनमाथि एउटा सानो कागज थियो। त्यसमा लेखिएको थियो—“तिमीले मलाई खोज्दैछौ। तर कसलाई?” हरिप्रसाद केही क्षण स्थिर रह्यो। उसले कागज पल्टायो। पछाडि अर्को वाक्य थियो “जसलाई खोज्छौ, ऊ तिमीलाई खोजिरहेको हुन सक्छ।” उसको हात काँप्यो। उसलाई अचानक लाग्यो, कसैले उसलाई बाहिरबाट होइन, उसको आफ्नै भित्रबाट बोलाइरहेको छ।

    त्यसैबेला पछाडिबाट कसैले अत्यन्त बिस्तारै फुसफुसायो “हरिप्रसाद।” ऊ झस्कियो। आवाज मायाको थियो। उसले तुरुन्त पछाडि फर्केर हेर्यो। चोक खाली थियो। “माया?” उसले फेरि बोलायो। उत्तर आएन। अचानक नगरपालिकाको घडी चल्न थाल्यो टक, टक, टक। यसपटक घडीले सही समय देखाइरहेको थियो सात बजेर एक मिनेट। हरिप्रसादले आश्चर्यले घडी हेरिरह्यो। त्यसपछि उसको नजर फेरि कुर्सीतर्फ गयो। कुर्सी अब खाली थिएन। त्यहाँ माया बसेकी थिइन्। उनी मुस्कुराइरहेकी थिइन्। हरिप्रसाद एक कदम अगाडि बढ्यो। “तिमी कहाँ थियौ?” मायाले कुनै उत्तर दिइनन्। उनले केवल आफ्नो औँला ओठमा राखिन् र बिस्तारै भनिन्—“शान्त।”

    हरिप्रसादले एकपटक आँखा झिम्कायो। कुर्सी फेरि खाली थियो। माया त्यहाँ थिइनन्। तर आसनमा अर्को कागज थियो। त्यसमा केवल चार शब्द थिए, “अब तिमी बस।” हरिप्रसाद लामो समयसम्म कागज हेरिरह्यो। उसले कुर्सीतर्फ हेर्यो। फेरि आफ्नै छायातर्फ। उसको छाया कुर्सीमा बसेको थियो, तर ऊ स्वयं उभिएको थियो। त्यो कसरी सम्भव थियो? उसले पछाडि फर्केर हेर्यो। चोकमा कोही थिएन। केवल एउटा बालक टाढा उभिएर उसलाई हेरिरहेको थियो।

    “घडी ठीक भयो?” हरिप्रसादले बालकतर्फ हेर्दै सोध्यो। बालकले टाउको हल्लायो। “घडी कहिल्यै गलत थिएन।” हरिप्रसादले अचम्म मान्दै सोध्यो, “त्यसो भए गलत के थियो?” बालक केही क्षण मौन रह्यो। त्यसपछि मुस्कुराउँदै भन्यो, “हामी गलत समयमा हिँडिरहेका थियौँ।” हरिप्रसादले अर्थ खोज्ने प्रयास गर्यो, तर बालक विस्तारै अँध्यारोतर्फ लागिसकेको थियो। केही कदमपछि ऊ रोकियो। पछाडि नहेरी भन्यो,“मायालाई भेट्न चाहनुहुन्छ भने आफ्नो नाम बिर्सनुहोस्।” त्यसपछि ऊ अँध्यारोमा विलीन भयो। हरिप्रसादले उसको पछाडि धेरैबेर हेरिरह्यो। तर त्यहाँ अब बालकको कुनै चिन्ह थिएन।

    उसले आफ्नो छाती छाम्यो। त्यहाँ उसको नागरिकता थिएन। जागिरको फाइल थिएन। प्रमाणपत्र थिएन। सिफारिस थिएन। केवल एउटा अनौठो खाली ठाउँ थियो। उसले त्यस खाली ठाउँभित्र कुनै आवाज सुन्यो। आवाज अत्यन्त पुरानो थियो, तर अत्यन्त नजिक पनि। “तत्त्वमसि।” उसले आँखाहरू बन्द गर्यो। केही क्षणका लागि उसलाई लाग्यो, ऊ आफूलाई होइन, आफूभित्र लुकेको अर्को कसैलाई सुनिरहेको छ। जब उसले आँखा खोल्यो, बिहान भइसकेको थियो।

    जनता चोकमा फेरि मानिसहरूको भीड जम्मा भइसकेको थियो। पसलहरू खुलिरहेका थिए। चिया उम्लिरहेको थियो। बसहरू हर्न बजाउँदै दौडिरहेका थिए। कर्मचारीहरू कार्यालयतर्फ लागिरहेका थिए। जीवन फेरि सामान्य भएको थियो। कुर्सी भने फेरि खाली थियो। माथिको बोर्डमा उही पुरानो वाक्य थियो“जनताको सेवाका लागि समर्पित।” तर “जनता” शब्दमाथि कसैले सानो अक्षरमा अर्को शब्द थपेको थियो “को?” हरिप्रसादले त्यो प्रश्न लामो समयसम्म हेरिरह्यो। त्यो प्रश्न कसले लेख्यो? माया? बालक? उसले आफैँ? वा स्वयं कुर्सीले? कुनै उत्तर थिएन।

    त्यस दिनदेखि नगरपालिकाको घडीले सधैँ सही समय देखाउन थाल्यो। तर मानिसहरू भने अझै गलत समयमा हिँडिरहे। कार्यालय खुल्थे, फाइलहरू चल्थे, भाषणहरू हुन्थे, चुनावहरू आउँथे, कुर्सीहरू भरिन्थे र खाली हुन्थे। मानिसहरूले आफ्नो परिचय प्रमाणित गरिरहे। आफ्नो अस्तित्वका लागि कागज बोकी हिँडिरहे। तर जनता चोकको खाली कुर्सी भने जस्ताको तस्तै रह्यो। हरेक बिहान त्यसमा घाम पर्थ्यो। हरेक साँझ त्यसमा अँध्यारो बस्दथ्यो। कहिलेकाहीँ कुनै चरा आएर केही क्षण त्यसमा बस्थ्यो र फेरि उडेर जान्थ्यो।

    कसैले निश्चित रूपमा भन्न सकेन त्यो कुर्सी कसैलाई पर्खिरहेको थियो कि थिएन। सायद त्यो कुनै नयाँ नेताको प्रतीक्षामा थियो। सायद जनताको। सायद मायाको। सायद हरिप्रसादको। सायद यस्तो मानिसको, जो त्यसमा बस्नुअघि आफ्नै चेतनाभित्रको कुर्सी देख्न सक्नेछ। अथवा सम्भवतः कुर्सीले कसैलाई पर्खिरहेको थिएन। सम्भवतः मानिसहरू नै त्यसको वरिपरि घुम्दै आफूले हराएको केही खोजिरहेका थिए। त्यसैले आज पनि बिहान घडी सही समय देखाउँछ, शहर आफ्नो गलत समयमा दौडन्छ, र जनता चोकको खाली कुर्सी मौन रहन्छ। कहिलेकाहीँ हावाले त्यसको सेतो कपडा उठाउँछ। त्यतिबेला कुर्सीमुनि एउटा छाया देखिन्छ। मानिसको जस्तो, तर मानिसको होइन। अनि प्रश्न फेरि जन्मिन्छ“कुर्सी खाली छ, कि हामी?”

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ आश्विन १७, शनिबार १०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP