हाइकुहरू
तोमनाथ उप्रेती
१.
ऐना भन्छ
तिम्रो अनुहार अँध्यारो
सत्य लुक्दैन
२.
मतको मूल्य
मदिरामा बेचियो
लोक रोइरह्यो
३.
शब्द चम्के
व्यवहार भने कालो
दोहोरिँदो पाप
४.
भीडमा हरायो
नागरिकको पहिचान
मौन करायो
५.
कागज फूल
सुगन्ध विहीन पूजा
भ्रमको युग
६.
नेताको माला
अयोग्यको घाँटीमा
न्याय रोइरह्यो
७.
कर नतिरी
सुशासनको माग
लाज हरायो
८.
नदी फोहोर
आफैँलाई शुद्ध भन्छ
ढुङ्गा आकाश
९.
सत्य थुनियो
डरको कारागारमा
आवाज मर्छ
१०.
करुणा सुक्यो
हृदय मरुभूमि भयो
मानव हरायो
११.
लोकतन्त्र
मत मात्रै होइन
मुटुको नियम
१२.
अधिकार बोल्छ
कर्तव्य भने मौन
सन्तुलन टुट्छ
१३.
भीडको नाम
मात्रै बाँकी रह्यो
मानिस हरायो
१४.
आत्मा सोध्छ
तिमी योग्य छौ ?
मौन उत्तर
१५.
ऐना फेरि
सुधारको खोजीमा
उज्यालो पलाउँछ
प्रतिक्रिया