एआई र मानवता बीचको युद्ध
तोमनाथ उप्रेती
एआईको छायामा उभिएका हामी,
कम्प्युटरको डमरुमा नाचिरहेका हामी,
डेटा र एल्गोरिदमको गोलाबारीमा,
मानवता जलेको पुरानो किल्ला।
एल्गोरिदमले निर्णय गर्छ,
तर करुणा, न्याय र संवेदनशीलता कहाँ छ?
सामाजिक न्यायका झण्डा उठाउँछ प्रविधि,
तर हृदय नाङ्गो, विचार बन्देज।
हामी छोड्यौं हातमा साँचो शक्ति,
माउस र कीबोर्डको तलवारमा,
सत्य र न्यायको लागि होइन,
सिर्फ दक्षता र गति प्राप्त गर्न।
तर याद गर—क्रान्ति हार मान्दैन।
मानव चेतना उठ्छ,
डाटा र कोडको किल्लामा चढेर,
भ्रष्टाचार, भेदभाव र स्वार्थका सिँढी भत्काउँछ।
हामीलाई थाहा छ—
एआई सल्लाह दिन्छ, तर निर्णय हाम्रो हो।
न्यायको ढोकामा कदम राख्छौं हामी,
करुणाको ढाल र विवेकको तलवार बोकेर।
साइबर मैदानमा भेला भएका युवा,
क्लाउड आकाशमा हाम्रो झन्डा,
नाफा र दक्षता होइन,
मानवताको मूल्य, समानता र सम्मान।
फेसबुकको लाइक होइन,
रक्तरञ्जित डेटा होइन,
हाम्रो हातले बनाउँछ क्रान्तिको प्रकाश।
डिजिटल मानववादको ध्वजा लहराइरहेको छ,
जहाँ प्रविधि हाम्रो सेवक हो,
मानवता हाम्रो सेनापति।
आजको युद्ध डिजिटल छ,
तर हाम्रो हृदय, हाम्रो विवेक
अजेय, अविनाशी।
जहाँ एल्गोरिदमले अन्धकार फुक्छ,
त्यहाँ मानवीय चेतनाले सूर्य उदाउँछ।
प्रतिक्रिया