logo
  • २०८३ बैशाख २ | Wed, 15 Apr 2026
  • पूर्वीय मार्गदर्शन: कर्म र शुद्धता (दर्शन)

    पूर्वीय मार्गदर्शन: कर्म र शुद्धता (दर्शन)

    पूर्वीय मार्गदर्शन: कर्म र शुद्धता (दर्शन)

     

    तोमनाथ उप्रेती

    उपसचिव,नेपाल सरकार

    पूर्वीय दर्शनको पवित्र पृष्ठभूमिमा कर्म र शुद्धताको संगमले जीवनलाई सत्यताको सुवासित सन्देश दिन्छ। कर्मको कल्याणकारी कन्सेप्टले कर्तव्यपरायणताको कमल फुलाउँछ, जसले आत्माको आँगनमा उज्यालोको उदय गर्छ। शुद्धताको शिखरमा उभिएको जीवनले लोभ, लालच र लम्पटता लत्याएर दायित्व, धैर्य र धर्मका दिव्य दृष्टान्तहरू अंगाल्छ। पूर्वीय दर्शनले कर्मलाई केवल क्रियाकलाप होइन, कृतज्ञताको कर्मकाण्ड मान्छ, जहाँ प्रत्येक प्रयासले आत्मानुशासनको आलोक फैलाउँछ।

    नैतिकताको न्यानोपनले समाजमा सहिष्णुता, सदाचार र सद्भावको सुवास छर्छ। यो दर्शनले मानवीय मर्मलाई महसुस गराउँदै, पापको पर्दा पर्खेर बस्ने प्रवृत्तिलाई परास्त गर्छ। कर्म र शुद्धताको सहयात्राले व्यक्तिलाई स्वार्थको सानो साँचोबाट मुक्त गराएर समष्टिको सेवा गर्ने साहस दिन्छ। पूर्वीय मार्गदर्शनले सत्ताको स्वार्थ, स्वार्थको सत्ता र सत्ता स्वार्थको संगठित सञ्जाललाई नैतिकताको निर्भीक नशाले झस्काउँछ।

    जब हामी पूर्वीय दर्शनको शुद्धता र कर्मको करुणामा करिश्मा खोज्छौं, तब जीवन केवल बाँच्ने साधन होइन, आत्मोन्नतिको आकर्षक अवसर बन्छ। असल कर्मको आभाषले मनमा मोक्षको मन्जरी फुलाउँछ, र शुद्ध आचरणको आलोकले राष्ट्रलाई न्याय, शान्ति र समृद्धितर्फ लैजान्छ। पूर्वीय मार्गदर्शनले मानवता, मित्रता र मोहबिना कर्ममा केन्द्रित निष्ठाको शिक्षा दिन्छ, जसले जीवनलाई सत्कर्मको सुवास र शुद्ध आचरणको अनुशासनले सुगन्धित बनाउँछ।कर्म र शुद्धतामा आधारित पूर्वीय मार्गदर्शनले जीवनलाई गहिरो, गौरवपूर्ण र गरिमामय यात्रामा रूपान्तरण गर्छ।

    पूर्वीय दर्शन संसारका प्राचीनतम र पवित्रतम परम्पराहरू मध्येको एक अमूल्य आभूषण हो, जसले जीवनको गहिरो गूढार्थ खोज्न साधकलाई साधन प्रदान गर्छ। यस दर्शनको दिव्य धरोहरमा सत्य, सत्कर्म, सदाचार र स्व-ज्ञानका सुवासित सूत्रहरू सँगालिएका छन्। सत्यलाई सर्वोपरी सर्वोच्चता दिँदै, पूर्वीय चिन्तनले मान्छेलाई मायाको मोहभञ्जन गरेर अज्ञानको अन्धकारबाट मुक्त गरी यथार्थताको उज्यालोमा उभ्याउँछ। कर्मको कञ्चन सिद्धान्तले कर्तव्यपरायणताको कान्तिकिरण फैलाउँदै भन्छ—“हरेक कर्मको कठोर परिणाम हुन्छ।” सत्कर्मले सुखको सुवास ल्याउँछ भने कुकर्मले कष्टको काँडा कोप्याउँछ। त्यसैले कर्ममा कर्तव्य, करुणा र कन्फिडेन्स अनिवार्य हुन्छ।

    नैतिकता जीवनको ज्योतिर्मय ज्योति हो, जसले मानव सम्बन्धलाई सौहार्दताको सन्देश, समाजलाई सहिष्णुताको स्पर्श, र प्रकृतिलाई प्रेमको प्रार्थना गर्न सिकाउँछ। पूर्वीय दर्शनले धर्म र नैतिकतालाई जीवनका अभिन्न अंग बनाउँदै आचरणलाई आदर्शताको आधार बनाउँछ। आत्मज्ञान, अर्थात् आत्माको अडिग अद्वितीयता पहिचान गर्नु, जीवनको परम प्राप्ति हो। आत्मज्ञानले मनुष्यलाई मोक्षको मार्गमा मार्गदर्शन गर्छ, जहाँ मोह, माया र मृत्युका मायाजालबाट मुक्त भई मुक्ति र ममत्वको अनुभव हुन्छ। यसरी पूर्वीय दर्शन सत्यको सन्धान, कर्मको जिम्मेवारी, नैतिक आचरण र आत्मज्ञानमार्फत जीवनलाई सार्थक, सशक्त र सुगन्धित बनाउने मार्गचित्र प्रस्तुत गर्छ।

    पूर्वीय दर्शन जीवन, जगत र कर्मको गहन गहिरो अध्ययन हो, जसले सत्य, ज्ञान, नैतिकता र आत्माको आध्यात्मिक अहमियतलाई उच्चतम प्राथमिकता दिन्छ। यसमा कर्मलाई जीवनको कञ्चन कडी मानिन्छ, जसले व्यक्तिको वर्तमान र भविष्यलाई निर्धारण गर्छ। कर्मको सिद्धान्तले मानवलाई सदाचार, सजगता र दायित्वबोधको दिशामा डोर्याउँछ। धर्म, संस्कार, योग, ध्यान र आत्मज्ञान पूर्वीय दर्शनका स्तम्भ हुन्, जसले जीवनलाई दिव्य दिशातर्फ डो-याउँछ।

    नेपाल र दक्षिण एसियाको संस्कृतिमा पूर्वीय दर्शनका हिन्दू, बौद्ध र जैन परम्पराले मानवीय आचरण र सामाजिक संरचनालाई स्वर्णिम स्वरूप दिएका छन्। बौद्ध धर्मका चार आर्यसत्य र अष्टाङ्गिक मार्गले दुःखको दमन र शान्तिको संधान देखाउँछन्, हिन्दू दर्शनले कर्म, धर्म र मोक्षलाई जोड्दै आत्मिक उन्नतिको उज्यालो फैलाउँछ। आत्मालाई अमर र शरीरलाई नश्वर मान्दै, पूर्वीय दर्शनले हरेक कर्मको परिणामप्रति उत्तरदायी हुन सिकाउँछ। यसले व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा नैतिकता र आत्ममूल्यांकनको माध्यमबाट सन्तुलन र समृद्धिको सञ्चार गर्छ।

    पूर्वीय दर्शनले सहिष्णुता, सद्भाव र सहकार्यमा जोड दिँदै, रिस, राग, द्वेष र दम्भको दलदलबाट मानवता मुक्त हुन सिकाउँछ। तेरो–मेरो भन्ने भेदभाव भत्काई, भाइचारा र आत्मीयताको आलोक फैलाउँछ। यसले दिनचर्या, आश्रम व्यवस्था र कानुन पालनामा गहिरो जोड दिंदै नागरिक र राज्यबीचको दायित्वबोध, कर्तव्यबोध र अपनत्वको भावना सृजना गर्छ।

    व्यक्तिले शास्त्रीय ज्ञानप्रतिको श्रद्धा बढाउँदै, अहंकार, ईर्ष्या र लोभको लप्काबाट मुक्ति पाई, कुकर्मको काँडाबाट बाहिर निस्केर सत्कर्मको सुवासमा जीवनलाई सिँगार्न पूर्वीय दर्शनको रसपान गर्न जरुरी हुन्छ। सार्वजनिक पदमा रहेको व्यक्तिले व्यक्तिगत स्वार्थको सानो संसारलाई छोडेर, राष्ट्र र जनताको हितमा कर्म र कर्तव्यको प्रतिबद्धता प्रदर्शन गर्नुपर्ने सन्देश यो दर्शनले दिन्छ।

    वेदको निष्कर्ष, गीताको मूल मर्म र बुद्धका चार आर्यसत्य तथा अष्टाङ्गमार्गले शुद्ध आचरण, ईमानदारी र चरित्रवान नेतृत्व सृजना गरी, उनीहरूको कर्मले राष्ट्रलाई स्वच्छ, पारदर्शी, निष्पक्ष, समावेशी, सहभागीमुखी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन सहयोग पुर्याउँछन्। पूर्वीय दर्शन कर्म र नैतिकताको दिव्य दीपमा जीवनलाई ज्योतिर्मय बनाउँदै, राष्ट्र निर्माणको शुद्ध आधार निर्माण गर्न हामीलाई सतत् प्रेरित गर्दछ।

    नेपालले नवयुगीन निष्ठा र नवप्रभातको प्रतिज्ञासहित संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, दर्पहीन विकास र दिग्गज समृद्धिको स्वर्णिम सपना सजाएको छ। तर, यस सपनालाई साकार पार्ने सेतु बन्न सामाजिक न्याय र साझा एकता, आर्थिक समानता र श्रम सम्मान, भ्रातृत्व र भागीदारी, सहअस्तित्व र सहकार्यजस्ता मूल्यव्रतलाई व्यवहारमा उतार्न राज्यले सत्यनिष्ठ भावनाका साथ स्वीकृत गर्नुपर्छ। लोकतान्त्रिक शासन व्यवस्था सत्ताको सन्तुलन र नागरिकको सक्रिय सहभागिताको सन्धान हो, जसले समाजमा समता, सहिष्णुता र सजगता सँगै सिर्जना गर्छ।

    शासन सञ्चालनमा मानवीय मूल्यहरूको मर्म बुझ्न नसकेर मुलुकको माटोमा अझै पनि मूर्खता र मतलबी प्रवृत्तिहरू पलाइरहेका छन्। नागरिकलाई जिम्मेवारीबोध र राष्ट्रसँग आत्मीयता जोड्न, शान्ति र सहिष्णुता सँगसँगै बन्धुत्व र भाइचारालाई बहुउद्देश्यीय सम्बल बनाउँदै अघि बढ्न पूर्वीय दर्शनले दिशा देखाउँछ। यस दर्शनले कला, संस्कृति र संस्कारलाई सम्मानको शिखरमा राख्दै शान्ति, सदाचार र सहिष्णुताको सुगन्ध फैलाउँछ। मानव जीवनलाई माया, प्रेम, दया र अहिंसाको उज्यालोमा उभ्याउँदै बहुधार्मिक, बहुजातीय, बहुभाषिक समाजमा समभाव र सहअस्तित्व सृजना गर्छ।

    नेपालको संविधानले लोकतान्त्रिक शासनलाई नङमासुको सम्बन्धझैँ अपनाउँदै मौलिक हकसँगै मानवीय मूल्यलाई प्रतिष्ठित पवित्रता दिएको छ। यी मूल्यहरूले सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षहरूलाई समृद्धिको सीढी चढाउँछन्। गुरुकुल र परिवारले सिकाएको नैतिक शिक्षाले बालमनलाई कर्मकाण्डी क्रान्ति र कर्तव्यपरायणताको चेतना प्रदान गर्छ। असल संस्कार र सजग संगतले व्यक्ति, परिवार, समाज र राष्ट्रको उज्यालो व्यक्तित्व सृजना गर्छ।

    सनातन दर्शनले अधिकार, कर्तव्य, अनुशासन र विधिको पालना, असल कर्म र सामाजिक मर्यादालाई राष्ट्रहितका पूर्वसर्तका रूपमा प्रतिष्ठा दिएको छ। व्यक्तिको सदाचार, परिवारको संस्कृति र समाजको सुसंस्कारले राज्यलाई स्वच्छ र सशक्त बनाउँछ। धैर्य, दया, संयम, शुद्ध आचरण र विवेकपूर्वक जीउनुको महत्वलाई पूर्वीय चिन्तनले वैज्ञानिक दृष्टिले पुष्टि गरेको छ।

    “असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युबाट अमरतर्फ”—पूर्वीय दर्शनको यो दिव्य घोष देश र जनताको चरित्र निर्माणको मूल मन्त्र बन्न सक्छ। मानिसको व्यवहारमा अहंकार, क्रोध, लोभ र मोहको मलिनता हटाएर आत्ममूल्यांकन र सदाचारको उज्यालो फैलाउने पूर्वीय चिन्तन, सार्वजनिक प्रशासनलाई पारदर्शी, न्यायपूर्ण र भ्रष्टाचारमुक्त बनाउन सक्षम छ।

    पूर्वीय दर्शनको सार हो—उत्कृष्ट नागरिक निर्माण, उत्कृष्ट कर्मको सर्जना र समुन्नत राष्ट्र निर्माण। यसका लागि नागरिकमा निष्ठा, सकारात्मक सोच, सत्कर्म र सदाचारको आत्मसात अनिवार्य छ। सार्वजनिक पदाधिकारीहरूले लोभ र लालचको लोभिन्तीलाई तिलाञ्जलि दिएर राष्ट्रहित र नीति अनुरूप आचरण गर्न सके, पूर्वीय दर्शन व्यवहारमा खन्याउन सकिन्छ।

    यस दर्शनले जीवनलाई मात्र होइन, समाज र संसारलाई शुद्धता, शान्ति र सहिष्णुताको सुवासले सुवासित बनाउँदै जनजीवनलाई न्याय, नैतिकता र नवजागरणको नयाँ यात्रामा लैजान प्रेरित गर्दछ। कर्म र नैतिकताको अविच्छिन्न संगमले मात्र मोक्षको मार्ग खुल्छ, जसले आत्मा, समाज र राष्ट्रलाई एकैपटक उचाइमा पुर्याउँछ।पूर्वीय दर्शनको अनुप्रासयुक्त आदर्शले नेपाली समाजलाई सत्य, सदाचार र सत्कर्मको नयाँ उज्यालोतर्फ डोहोर्याउँदै स्वर्णिम समृद्धिको सप्तपदी यात्रा तय गराउन सक्षम छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र १, आईतवार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP