logo
  • २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • रतुवाको मौन किनार(कथा)

    रतुवाको मौन किनार(कथा)

    रतुवाको मौन किनार(कथा)

                     

     

    तोमनाथ उप्रेती

     

     

    बिहानको पहिलो किरण क्षितिजबाट बिस्तारै उक्लन्छ। सुनौलो प्रकाश रतुवा नदीको छालमाथि टुक्राटुक्रा भएर नाच्छ। पश्चिमतिर बक्राहा खोलाले आफ्नै लयमा सुसाइरहेको हुन्छ। दुई नदीको बीचमा फैलिएको रतुवामाई निद्राबाट बिउँझन्छ। हावाले धानका बाला एकसाथ हल्लाउँछ। हरियो खेत समुद्रका छालझैँ तरंगित हुन्छन्। उखुबारीबाट गुलियो सुवास फैलिन्छ। तोरीका पहेँला फूलहरू बिहानको घामसँगै मुस्कुराउँछन्। बाँसघारी हावाको तालमा झुक्छ। सिसौ र सालका रूखले चरा फर्केको खबर एकअर्कालाई सुनाउँछन्।

    सिजुवाको बाटोमा किसान हलो काँधमा बोकेर निस्कन्छ। इटहराको खेतमा गोरु जोतिन थाल्छ। महादेवाका आँगनमा ढिकीको लय सुनिन्छ। झुर्कियाका कच्ची सडकमा साइकलको घण्टी बज्छ। वरडंगाको पोखरीबाट बतखहरू पानी चिर्दै बाहिर निस्कन्छन्। गोविन्दपुरका बालबालिका झोला बोकेर विद्यालयतिर दौडिन्छन्। प्रत्येक गाउँसँग आफ्नै बिहान छ। प्रत्येक बिहानसँग आफ्नै कथा।

    असार लागेपछि बादल आकाशभरि फैलिन्छ। पानीको पहिलो थोपाले माटोलाई सुगन्धित बनाउँछ। रोपाइँमा किसानहरू हिलोसँग खेल्छन्। खेत गीतले भरिन्छ। साउनमा रतुवा उर्लन्छ। बक्राहा गर्जन्छ। किनारका सिसौका रूखहरू पानीको वेगसँग जुध्छन्। मङ्सिरमा धान पाक्छ। खेत सुनौलो बन्छ। हँसिया चम्किन्छ। परालका थुप्रा उठ्छन्। साँझ गाउँभरि धान कुट्ने आवाज गुञ्जिन्छ। फागुनमा आँपका बोट मञ्जरीले ढाकिन्छन्। कोइलीको पहिलो स्वर हावामा घुल्छ। चैतमा सालका पात झर्छन्। नयाँ पालुवा पलाउँछन्। प्रकृतिले फेरि अर्को चक्र सुरु गर्छ।

    यही भूमिले शताब्दीहरू देखेको छ। यही माटोले इतिहासका पाइला महसुस गरेको छ। यही नदीले यात्रुहरू बोक्यो। यही खेतले पुस्तौँलाई अन्न दियो। यही हावाले प्रेमका गीत पनि सुन्यो। विलापका स्वर पनि सुन्यो। बिहान यहाँ सधैँ उज्यालो भएर आउँछ। तर हरेक घरमा उज्यालो भने सधैँ पुग्दैन। हरिया खेतको बीचमा कहिलेकाहीँ अदृश्य पीडाका बिउ पनि उम्रिरहेका हुन्छन्। प्रकृति हाँसिरहेकी हुन्छ। समाज भने आफ्नै अन्धकारसँग सङ्घर्ष गरिरहेको हुन्छ।

    महादेवाको एउटा सानो गाउँमा हरिनारायण चौधरीको घर थियो। उनी साधारण किसान थिए। दुई बिघा जमिन, केही गाईभैँसी र वर्षभरि पुग्नेभन्दा कम अन्न। गरिबी उनका लागि नयाँ थिएन, तर आत्मसम्मान उनको सबैभन्दा ठूलो सम्पत्ति थियो। उनकी एउटी मात्र छोरी थिई—माधवी। गाउँका मानिसहरू भन्थे, “माधवीको अनुहारभन्दा उसको मन सुन्दर छ।” ऊ विद्यालयमा उत्कृष्ट विद्यार्थी थिई। पुस्तकसँग उसको मित्रता थियो। नदीसँग उसको आत्मीयता थियो। ऊ प्रायः रतुवाको किनारमा बसेर कापीमा कविता लेख्थी। उसलाई लाग्थ्यो, नदीजस्तै जीवन पनि बगिरहनुपर्छ, रोकिनु हुँदैन। ऊ शिक्षिका बन्न चाहन्थी। गाउँका छोरीहरूले आफ्नो भाग्य आफैँ लेख्न सकून् भन्ने उसको सपना थियो। उसकी आमा जानुकाका लागि छोरी अधुरो जीवनको उज्यालो थिई।

    माधवीको विवाह वरडंगाका सुरजसँग तय भयो। सुरज स्नातक पढेको थियो। बजारमा एउटा सहकारी संस्थामा काम गर्थ्यो। उसले पहिलो भेटमै माधवीको सरलता मन पराएको थियो। माधवीलाई पनि सुरजका कुरा विश्वास लागेका थिए। उनीहरू धेरै पटक भेटेका थिएनन्, तर भविष्यका साना सपनाहरू भने साझा गरिसकेका थिए। सुरजले एक दिन भनेको थियो, “हामी सानो घर बनाउँला। धेरै धन चाहिँदैन। माया भए पुग्छ।” त्यो वाक्य माधवीले हृदयमा सुरक्षित राखेकी थिई। उसलाई लागेको थियो, पढाइले मानिसलाई ठूलो बनाउँछ, शिक्षाले लोभभन्दा प्रेमलाई जिताउँछ। तर उसले एउटा कुरा बुझ्न बाँकी थियो—कहिलेकाहीँ शिक्षित मानिस पनि अशिक्षित परम्पराको कैदी हुन्छ।

    विवाहको मिति नजिकिँदै जाँदा सुरजका बुबा धनबहादुरको व्यवहार बदलिन थाल्यो। सुरुमा उनले केही मागेनन्। पछि बिस्तारै कुरा घुमाएर भन्न थाले—“आजकाल समाजमा इज्जत राख्न पनि त पर्छ। जन्ती आउँदा खाली हात फर्किन मिल्दैन।” त्यसपछि सूची आयो। मोटरसाइकल। सात तोला सुन। नगद पन्ध्र लाख रुपैयाँ। आधुनिक फर्निचर। विद्युतीय सामान। त्यो सूची सामानको थिएन, गरिब किसानको आत्मालाई नाप्ने तराजु थियो। हरिनारायणको हात काँप्यो। उनले सूची धेरै पटक पढे। प्रत्येक वस्तुसँग उनलाई आफ्नो खेतको एउटा कान्लो जोडिएको देखियो। प्रत्येक रकमसँग आफ्नी छोरीको मुस्कान टुक्रिँदै गएको अनुभूति भयो।

    गाउँका केही मानिसहरूले सल्लाह दिए, “ऋण गर। छोरी त एकपटक मात्रै बिहे हुन्छ।” कसैले भन्यो, “इज्जत जोगाउनुपर्छ।” कसैले भने, “सबैले दिएकै छन्, तिमीले पनि दिनुपर्छ।” समाजले कसैलाई अपराधी देखेन। उल्टै, दाइजो दिन नसक्ने बुबालाई असफल ठहर गर्‍यो। हरिनारायणले आफ्नो पुर्ख्यौली जमिन धितो राखे। एउटा गाई बेचे। पत्नीले विवाहमा लगाउने भनेर राखेका सुनका चुरा बेचिन्। पुरानो घर मर्मत गर्ने सपना पनि बेचियो। तर सबै बेचिसक्दा पनि सूची अधुरै रह्यो। गरिबीले आफ्नो सीमा देखाइसकेको थियो।

    विवाहको दिन आयो। बिहानदेखि गाउँ उत्सवमय थियो। सहनाइ बजिरहेको थियो। आँगनमा रङ्गोली सजाइएको थियो। जन्तीका लागि परिकार पाकिरहेका थिए। माधवी रातो सारीमा सजिएकी थिई। उसको अनुहारमा डर र आशाको मिश्रित रङ थियो। आमाले निधारमा टीका लगाइदिँदा उनी दुवै रोएका थिए। त्यो विदाइको आँसु हो भन्ने सबैले सोचे। तर त्यो आँसु भविष्यको अशुभ संकेत थियो।

    जन्ती घरको आँगनमा आइपुग्यो। स्वागत भयो। माला लगाइयो। तर विवाह मण्डपमा पुग्नुअघि धनबहादुरले सबैको अगाडि आवाज उठाए, “पहिले मोटरसाइकलको चाबी देखाऊ। नगद कहाँ छ?” एकछिन वातावरण स्तब्ध भयो। हरिनारायण हात जोडेर अगाडि बढे। “दाइ, धान बेच्नेबित्तिकै सबै दिन्छु। केही समय दिनुस्।” उनको स्वर याचकको थियो, तर त्यसमा एउटा बुबाको आत्मसम्मान पनि बाँकी थियो। धनबहादुरको अनुहारमा कठोरता झन् बढ्यो। “हामी भिख माग्न आएका होइनौँ। अहिले नदिए विवाह हुँदैन।”

    सुरज त्यहीँ उभिएको थियो। उसको मुखमा शब्द थिएनन्। आँखामा लज्जा थियो, तर त्यो लज्जा विद्रोह बन्न सकेन। उसले बुबाको आदेश तोड्न सकेन। माधवीले टाढाबाट यो दृश्य देखिरहेकी थिई। उसलाई एकाएक सबै कुरा बुझियो। प्रेमभन्दा ठूलो समाज रहेछ। शिक्षाभन्दा बलियो लोभ रहेछ। विवाहभन्दा महँगो दाइजो रहेछ। उसका सपना एकएक गरी चर्किन थाले। उसले बुबाको काँपिरहेको शरीर हेरिन्। आमाको रुँदै गरेको अनुहार हेरिन्। त्यसपछि उसले आफूलाई हेरिन्। उसलाई लाग्यो, ऊ कुनै मानिस होइन; किनबेच हुने वस्तु हो।

    माधवी चुपचाप मण्डपबाट बाहिर निस्की। कसैले ध्यान दिएन। सबैको ध्यान विवादमा थियो। ऊ खेत हुँदै रतुवा नदीतिर लागी। साँझको सूर्य पश्चिममा बक्राहामाथि झुक्दै थियो। रतुवाको पानी सुनौलो देखिन्थ्यो। नदी शान्त थिई, तर उसको गहिराइमा हजारौँ वर्षको इतिहास बगिरहेको थियो। यही किनारबाट यात्रुहरू गुज्रिएका थिए। यही किनारमा सभ्यताले घर बनाएको थियो। आज त्यही नदी एउटा छोरीको अन्तिम साक्षी बन्ने तयारीमा थिई।

    माधवी नदीकिनारको बालुवामा बसिन्। उनले सानो डायरी निकालिन्। काँपिरहेको हातले अन्तिम वाक्य लेखिन्—“बुबा, तपाईंले मलाई बेच्न खोज्नुभएको होइन। समाजले तपाईंलाई बेच्न बाध्य बनायो। मेरो मृत्युको दोष तपाईंको होइन। मेरो मूल्य तोक्ने सोचको हो।” उनले डायरीलाई ढुङ्गामुनि राखिन्। हावाले उनका कपाल उडायो। टाढाबाट विवाहको बाजा अझै सुनिन्थ्यो। तर त्यो बाजा अब उनलाई मृत्युगीतजस्तो लागिरहेको थियो।

    केही क्षणपछि नदीले एउटा ठूलो छाल उठायो। साँझको रातो घाम पानीमा मिसियो। रतुवाले एउटा रातो छायाँ आफ्नो काखमा समेटी।

    रातभर गाउँभरि खोजी भयो। बिहान माछा मार्न गएका माझीहरूले नदीकिनारमा माधवीको शरीर भेट्टाए। उनको हातमा बालुवाको एक मुठ्ठी अझै अडिएको थियो। मानौँ उनले अन्तिम क्षणसम्म आफ्नो जन्मभूमि छोड्न मानेकी थिइनन्। हरिनारायण छोरीको शव अँगालेर कराए। त्यो करुण चित्कार रतुवाको किनारबाट बक्राहासम्म फैलियो। चराहरू उडे। गाउँ मौन भयो। तर समाज फेरि पनि मौन रह्यो। कसैले दाइजो माग्नेलाई अपराधी भनेन। कसैले छोरी गुमाउने बुबालाई न्याय दिलाएन।

    सुरज धेरै दिनसम्म गाउँ निस्कन सकेन। उसले माधवीको डायरी पढ्यो। प्रत्येक शब्दले उसलाई भित्रभित्रै जलायो। उसले आफूलाई प्रेमी भन्न लायक नभएको महसुस गर्‍यो। ऊ अदालतमा गएर आफ्नै बुबाविरुद्ध बयान दिन चाहन्थ्यो। तर परिवार, नातागोता र समाजले उसलाई रोक्यो। “बुढेसकालमा बाबुलाई जेल पठाउने?” भन्ने प्रश्नले उसको विवेकलाई फेरि बाँध्यो। केही वर्षपछि उसको अर्को विवाह भयो। घर बन्यो। सन्तान जन्मिए। तर प्रत्येक वर्ष असारमा रतुवा नदी उर्लँदा उसले पानीमा माधवीको अनुहार देख्थ्यो। अपराधबोधले बाँचेको जीवन पनि एउटा सजाय नै थियो।

    हरिनारायणको परिवार भने त्यो घटनापछि कहिल्यै उठ्न सकेन। धितो राखेको जमिन लिलाम भयो। घर बेचियो। उनकी पत्नी विक्षिप्तजस्तै भइन्। उनी दिनहुँ नदीकिनारमा गएर छोरीको नाम बोलाउँथिन्। गाउँका मानिसहरूले उनलाई पागल भन्न थाले। वास्तवमा पागल उनी थिइनन्; पागल त त्यो समाज थियो, जसले छोरीको सम्मानलाई नगद र मोटरसाइकलसँग साट्न सिकेको थियो।

    वर्षौंपछि रतुवामाई नगरपालिकाले नदीकिनारमा एउटा सार्वजनिक पुस्तकालय निर्माण गर्‍यो। प्रवेशद्वारअगाडि एउटा पीपलको रूख रोपियो। त्यसको फेदीमा एउटा सानो शिलालेख राखियो—“दाइजोका कारण असमयमै जीवन गुमाएका सम्पूर्ण छोरीहरूको स्मृतिमा।” मानिसहरू त्यहाँ आए। फोटो खिचे। फूल चढाए। भाषण गरे। तर वास्तविक श्रद्धाञ्जली त्यो दिन हुनेछ, जुन दिन कुनै बुबाले छोरीको विवाहका लागि आफ्नो जमिन बेच्नुपर्ने छैन। कुनै आमाले आफ्ना गहना गलाउनुपर्ने छैन। कुनै युवकले आफ्ना बाबुको लोभविरुद्ध बोल्न डराउने छैन र कुनै माधवीले आफ्नो सम्मान बचाउन नदी रोज्नुपर्ने छैन।

    रतुवा आज पनि बगिरहेकी छ। बक्राहा आज पनि आफ्नै लयमा छ। धानका खेतहरू आज पनि हरियै छन्। इतिहासका पुराना पदचाप अझै यही भूमिमा सुन्न सकिन्छ। तर जब साँझ पर्छ र रतुवाको पानीमा घामको रङ रातोजस्तै देखिन्छ, गाउँका वृद्धहरू भन्छन्,“यो सूर्यास्तको रङ मात्र होइन। यो ती छोरीहरूको मौन स्मृति हो, जसको जीवन दाइजोको वेदीमा बलि चढाइयो।” नदी बोल्दिन। तर उसको मौनताभित्र एउटा प्रश्न सधैँ बगिरहन्छ।सभ्यता यति पुरानो भयो, तर मानिसको चेतना किन अझै यति अधुरो छ?

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ श्रावण २, शनिबार २०:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP