राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा असारको मध्यरातमा गैरकानुनी तरिकाले भुक्तानी भइरहेको छ। नगरपालिकाका मेयर रामलखन मलाहको सक्रियतामा निलम्बित लेखापाल अनिता परियारलाई मध्यरातमा बोलाएर नियमविपरीत भुक्तानी गराइएको आरोप छ। यो घटना असार २३ गते राति १२ बजेको समयमा भएको बताइएको छ , जब कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल परियार सहित अन्य कर्मचारीविरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरिसकेको छ।
स्थानीय स्रोतका अनुसार, लेखापाल परियार र अन्य कर्मचारीहरू मध्यरातमा नगरपालिका कार्यालयमा उपस्थित भएर फाइल मिलाउने र भुक्तानी प्रक्रिया अघि बढाउने कार्यमा संलग्न थिए। यस घटनाबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मंडलसँग कुरा गर्दा त्यस्तो कुनै कर्मचारीलाई काममा नलगाएको प्रतिक्रिया दिए ।
स्थानीय नागरिकहरू यस घटनाप्रति निकै चिन्तित रहेका छन्। एक स्थानीय बासिन्दा, जसले नाम नबताउने शर्तमा , भने, “यो त केवल भ्रष्टाचारको अर्को उदाहरण हो। यदि यसलाई रोकिन्न भने हाम्रो सेवाग्राहिता र विकासका योजनामा ठूलो असर पर्नेछ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले भने, “हामी यस विषयमा गम्भीर छौँ र अनुसन्धानको प्रक्रिया जारी छ। अविलम्ब उचित कदम चालिनेछ।”
तर, यस घटनाले नगरपालिकाको प्रशासनिक कार्यप्रणाली र पारदर्शिता बारे गम्भीर प्रश्न उठाएको छ। यो विषयमा राजनीतिक दलका प्रतिनिधिहरूले पनि चासो देखाएका छन्। जसपा नेता ओमप्रकाश यादवले भने, “भुक्तानीको प्रक्रियामा यति ठूलो अनियमितता हुनु गम्भीर कुरा हो। यसबाट निम्नस्तरका सेवाग्राहीहरू असर पर्नेछन्।”
डाक्नेश्वरी नगरपालिकामा भइरहेको यो गतिविधि नेतृत्वको कमजोर र प्रशासनिक नैतिकताको कमीलाई उजागर गर्दछ। यस घटनामा संलग्न व्यक्तिहरूलाई गम्भीर परिणाम भोग्नुपर्नेछ भन्ने स्थानीय नागरिकको धारणा छ। यसैबीच, नगरपालिकाका जिम्मेवार निकायलाई यस घटनामा छानबिन र कारवाहीको तर्फ अघि बढ्नुपर्ने समय आएको बताइएको छ।
प्रतिक्रिया