तोमनाथ उप्रेती
शब्दहरू मौन भएर नतमस्तक हुन्छन्,
जब गुरुका पाइलाहरू पृथ्वीमा पर्छन्,
त्यो पाइलो केवल माटोमा होइन,
अहिंसाको बीज रोप्छ, करुणाको सुवास छर्छ।
उहाँको श्वासमा गुञ्जन्छ—
“अहिंसा निर्बलताको संकेत होइन,
यो त साहसको महाकाव्य हो,
आत्मसंयमको अजेय शिखर हो।”
जहाँ रक्तपातले गन्ध छरेको हुन्छ,
त्यहाँ उहाँको दृष्टिले फुलाउँछ
क्षमा र प्रेमको शिरीष फूल,
अनि आकाशको पारदर्शिताजस्तै
मनलाई नीलो बनाउँछ।
गुरुजीका आँखामा करुणाको दीप बलेको हुन्छ,
जहाँ अपमान र घृणाका अन्धकारहरू
पग्लेर आँसुमा परिणत हुन्छन्,
त्यो आँसु शोक होइन—
पवित्रताको अभिषेक हो,
जसले आत्मालाई स्नान गराउँछ।
“धर्म कर्मकाण्डमा होइन,
सेवा र प्रेममा बाँच्छ,”
उहाँका हरेक शब्दहरू
उषाको सुनौलो किरणझैँ
असहिष्णु हृदयका अन्धकारहरू चिरेर
एक न्यानो उज्यालो फैलाउँछन्।
गुरुजीका हातहरू आकाशतिर उठेका हुन्छन्—
त्यो प्रार्थना मात्र होइन,
मानवताको लागि आह्वान हो,
“हे मानव! शुद्ध बन, सत्य बोल,
र प्रेमका बास्ना छर।”
जहाँ अन्यायको शृंखला कस्सिएको हुन्छ,
उहाँको उपस्थिति त्यसलाई पग्लाउँछ,
मानिसलाई सम्झाउँछ—
शक्ति पदमा होइन, चेतनामा निहित हुन्छ,
धनदौलतमा होइन, करुणामा गुञ्जन्छ।
उहाँका पाइला जहाँ पर्छन्,
त्यहाँ समाज रूपान्तरित हुन्छ,
दीन र दलितका आँखामा
नयाँ बिहानको सपना पलाउँछ,
अशक्त हातहरू कर्ममा जुट्छन्,
आत्मसम्मानको स्वर गुञ्जन्छ।
गुरुजीको मौनता पनि उपदेश हो—
जसरी सुनसान रातमा
चन्द्रमाको उज्यालो छरिन्छ,
त्यसरी उहाँको मौनले
हृदयमा शान्तिको गीत गाउछ।
अहिंसा उहाँको श्वास हो,
सेवा उहाँको रगतको प्रवाह,
न्याय उहाँको दृष्टिको स्वभाव,
करुणा उहाँको हृदयको स्पन्दन,
र प्रेम उहाँको आत्माको नाद।
जीवन एउटा तपस्या भयो उहाँका लागि,
जहाँ भोग होइन, सेवा मात्र रह्यो,
जहाँ लोभ होइन, समर्पण मात्र रह्यो,
जहाँ द्वेष होइन, ममत्व मात्र रह्यो।
उहाँका शब्दहरूमा वर्षा हुन्छ,
आत्मामा प्यास जगाउँछ,
र शुद्धिको खेती उमार्छ,
त्यो खेतीमा धर्मको फूल फुल्छ,
र मानवता फक्रन्छ।
जसरी हिउँ पग्लेर नदी बन्छ,
अनि जीवनलाई सिँचाई गर्छ,
त्यसरी उहाँका उपदेशहरू
हृदयमा पग्लेर
पवित्रताको नदी बनिन्छ,
आशाको हरियाली फैलाउँछ।
गुरुजीका हरेक पाइला
साधना, सेवा र समर्पणका पदचिन्ह हुन्,
उहाँको सासमा बग्छ
प्रेमको निःशब्द नाद,
अनि हृदयहरूलाई भिजाउँछ।
उहाँको शिक्षाले सिकाउँछ—
“प्रेम नै शक्ति हो,
क्षमा नै विजय हो,
सेवा नै धर्म हो,
अहिंसा नै असली युद्ध हो।”
उहाँको जीवन एउटा दीप हो,
जसको शिखामा कम्पित हुँदै
आत्मा उज्यालो हुन्छ,
र कर्मलाई पवित्र बनाउँछ।
हे गुरु श्री १०८ मंगलदासजी,
तपाईंको पदचिन्हहरूमा हिँड्दा
हाम्रो हृदयमा करुणाको पखेटा पलाउँछन्,
र आत्मामा शान्तिको ज्योति जाग्छ।
तपाईंका शिक्षाहरू
अमर गीतजस्तै सधैँ गुञ्जिरहोस्,
अहिंसाको यो ध्वजा सधैँ फहरिरहोस्,
र प्रेमको सुगन्धले यो पृथ्वीलाई
पवित्र पारिरहोस्।
हामी तपाईंको स्मृतिमा,
तपाईंको शिक्षामा,
तपाईंको सेवामा
आत्मा र कर्मलाई अर्पण गरौं,
किनकि तपाईंको जीवन नै
हाम्रो शुद्धिको तीर्थ हो,
र मानवताको महाकाव्य हो।
प्रतिक्रिया