जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन आगामी असोज २७ र २८ गते जनकपुरधाममा आयोजना हुने भएको छ ।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिशोर यादवले अधिवेशनका लागि प्रदेशभरिबाट प्रतिनिधि छनोटको काम लगभग सम्पन्न भइसकेको जानकारी दिएका छन् । उनका अनुसार अधिवेशनमा ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षकको सहभागिता रहनेछ ।
अध्यक्ष यादवका अनुसार जनकपुरधाम स्थित निधि भवनमा आयोजन हुने उक्त अधिवेशनको उद्घाटन सत्र पार्टी अध्यक्ष उपेन्द्र यादवले असोज २७ गते गर्ने कार्यक्रम तय गरिएको छ । उनका अनुसार जसपाले सुरु देखिनै संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, न्याय प्रणालीको पुनर्संरचना, संवैधानिक अदालतको स्थापना, सामाजिक न्याय, सुशासन र भ्रष्टाचारको अन्त्य जस्ता एजेन्डा उठाउँदै आएको छ ।
यादवले भने “यी मुद्दाहरू अहिले नयाँ पुस्ता ‘जेन जेड’ ले पनि जोडतोडका साथ उठाउन थालेका छन्, जसलाई हामी एक दशकदेखि अघि सार्दै आएका हौं । यी विषयहरू यस अधिवेशनमा पनि प्रमुख रूपमा उठाइनेछन् ।”
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र केन्द्रीय सदस्य योगेन्द्र राय यादव सशक्त उम्मेदवारका रुपमा उभिएका छन् ।
प्रतिक्रिया