बलिवेदीमा जन्मिएको विद्रोह
तोमनाथ उप्रेती
म पहाडको पेटबाट ओर्लिएको थिएँ
धुलो–ढुङ्गा चुम्दै
मानिसको हातमा बाँधिएको विश्वास बोकेर
दाम्लो मेरो घाँटीमा थियो
तर भरोसा मेरो हृदयमा।
म सोझो थिएँ
घाँस चिन्दथे
माया चिन्दथे
तर नियम चिन्दिनँ
जसले मलाई दूध खुवायो
उसैले मलाई मृत्यु खुवाउन लागेको रहेछ
यो त मैले जीवनमै पढ्न नपाएको पाठ थियो।
ढुङ्गाले बनाएको बाटो चढ्दै
म मानिसको देवता भेट्न गइरहेछु भन्ने भ्रममा थिएँ
घण्टीहरू बजिरहेका थिए
प्रार्थनाका कि चेतावनीका?
म छुट्याउन सकिनँ।
फूल थिए
प्रसाद थिए
मिठाइ थिए
तर ती सबैको सुगन्ध
रगतसँग मिसिएर
मलाई वान्ता लाग्दो बनाइरहेको थियो।
एक आमा आयिन्
मेरो जातकी
मेरो पीडाकी
उनले कानमा फुस्फुसाइन्
“आज तिम्रो पालो।”
त्यो वाक्य
कुनै मन्त्र थिएन,
मृत्युदण्डको मिति थियो।
मन्दिरभित्र
देवता ढुङ्गा थिए
तर हत्यारा जिउँदो
खड्ग चम्किरहेको थियो
न्याय होइन
सत्ताको प्रतिबिम्ब।
म देख्दै थिएँ
एक टाउको छुट्टियो
एउटा शरीर छटपटायो
र मानिसले ‘जय’ भन्यो
त्यो जय
मेरो कानमा
चीत्कार बनेर ठोक्कियो।
त्यो क्षण
म बुझ्दै थिएँ
यहाँ पूजा होइन
व्यापार हुँदैछ
एक जीवनको साटो
अर्को जीवनको बीमा।
म सोध्न चाहन्थेँ
हे ढुङ्गाकी देवी
तिमी बोल्दिनौ भने
तिम्रो नाममा
किन यत्रो रगत?
यदि तिमी करुणाकी माता हौ भने
किन तिम्रो आँगन
कसाइखाना बनाइयो?
परेवाले भन्यो—
“बलि हत्या होइन रे।”
तर मेरो शरीर काँपेर भनिरहेको थियो
नाम जे दिए पनि
घाँटी त काटिन्छ।
मैले चिच्च्याएँ
यदि म मरेर
कसैको जीवन बाँच्छ भने
म सहिद हुँ
तर सम्झनू
यो सहिदत्व
मेरो सहमतिमा होइन
तिमीहरूको स्वार्थमा जन्मिएको हो।
अचानक
देवी प्रकट भइन्
रातो जिब्रो
गर्जने स्वर
तर वाक्य मानवीय थियो
“जीव हत्या महापाप हो।”
त्यो क्षण
देवता ढुङ्गाबाट होइन
मानिसको चेतनाबाट जन्मिइन्।
खड्ग रोकियो
रगत मान्छेको हातबाट बग्यो
र इतिहास
एकछिनका लागि
लज्जित भयो।
आज म बाँचिरहेको छु
तर मेरो आत्मा
त्यही बलिवेदीमा उभिएर
सोधिरहेछ—
मानव
तिमी देवता खोज्दै
कति प्राणी मार्नेछौ?
र कहिले बुझ्नेछौ
करुणा बिना पूजा
रगतको अर्को नाम मात्र हो।
प्रतिक्रिया