logo
  • २०८२ जेष्ठ ५ | Mon, 19 May 2025
  • सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित

    सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित

    काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

    एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पाँच जना नेतालाई कारबाही गरेको जनाएको हो।

    पार्टी केन्द्रीय सचिवालय बैठकले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै पाँच नेतालाई एमालेले पार्टीबाट निकालेको छ।

    एमालेले पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्यलाई पार्टीबाट निष्कासन गरेको हो।

    प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    खड्कालाई यसअघि पनि स्पष्टीकरण सोधिएको थियो। पहिलो पटक स्पष्टीकरण सोध्दा चित्त बुझ्दो जवाफ दिएका कारण एक पटकको लागि कारबाही नगर्ने भनिएको तर, फेरी सोही गतिविधिमा संलग्न रहेपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    अर्का प्रदेश सल्लाहकार परिषद् सदस्य कुँवरलाई यस अघि नै तीन महिनाको लागि निष्कासन गरिएको जानकारी दिँदै फेरी पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ। कुँवर पूर्व प्रदेशसभा सदस्य हुन्। उनी प्राकृतिक स्रोत समिति सभापतिसमेत भएका थिए।

    प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिएका छन्।

    प्रदेश कमिटी सदस्य विकलाई यस अघि नै स्पष्टीकरण सोध्दा पनि उनले स्पष्टीकरण नबुझाएको एमाले सुदूरपश्चिमले जनाएको छ।

    विष्ट र मियाँलाई यस अघि तीन महिनाको लागि कारबाही गरिएकोमा पुनः पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमाले सुदूरपश्चिमले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २०, आईतवार १९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP