लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। सप्तरीको खडक नगरपालिकाले साक्षर नगरपालिका निर्माण अभियानको शुक्रबार सुरु गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्रावधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन्।
संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क गरेको तथा शिक्षालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अनिवार्य शिक्षासम्बन्धी ऐनले वि.सं.२०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधासमेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा देशभरका सबै स्थानीय तहको वेलैमा ध्यान जानुपर्ने बताए।
जनताको ठुलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गर्नु ठुलो सफलता भएको उल्लेख गर्दै प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीव्र बनाउनुपर्ने बताए।
नगर साक्षरता अभियान कार्यपत्र प्रस्तुत गर्दै खडक नगरपालिका नगर उपप्रमुख रिता चौधरीले नगरपालिकालाई पुर्ण साक्षर बनाउने लक्ष्य अनरुप नगभित्रका ११ वटै वडामा गरि २ सय २० वटा साक्षरता केन्द्र संचालन गरी संकलित तथ्याङ्क बमोजिम निरक्षरलाई केन्द्रमा सहभागी गराई साक्षर बनाउने कार्य भई रहेको बताउँदै बैकल्पीक शिक्षा र सामुदायिक सिकाई केन्द्रका माध्यमबाट ७ सय १२ जना किशोर किशोरीलाई नगरभित्रका ४१ वटा समुदायिक विद्यालयमा भर्ना गराई सकेको बताउनु भयो।
खडक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपेश झाले नगरपालिकाको कुल जनसंख्या ५२ हजार ७ सय ७८ जना मध्ये बढीमा तीन हजार जना निरक्षर रहेको बताउँदे सघन साक्षरता अभियान चलाई साक्षर खडक नगरपालिका बनाउने सपना सकार हुने बताए।
कार्यक्रमको अध्यक्षता खडक नगरपालिका नगरप्रमुख जय प्रकाश चौधरीले गर्नु भएको थियो।
प्रतिक्रिया