तोमनाथ उप्रेती, उपसचिव, नेपाल सरकार
एउटा बत्तीले नजीकैका हजारौं बत्तीलाई बाले झैं एकजना ज्ञानवान्, जीवन्मुक्त महात्माले वर्तमानलाई मात्रै होइन भविष्यलाई समेत आलोकिक बनाइदिन्छन्। यस धरतीमा त्यस्ता कालजयी महापुरूषहरू, यदाकदा जन्मन्छन् र आफ्नो ज्ञान, गुण, सेवा र परोपकारले सम्पूर्ण समाज र देशलाई नै सुखी, शान्त र समुन्नत बनाएर एउटा युगान्तकारी कीर्तिमान कायम गरी सदा–सदाका लागि एउटा अविस्मरणीय दृष्टान्त छोडेर जान्छन्। यही अनुक्रममा नेपाल जननीले एक महान् आत्मा भएका युगपुरुष पाइन् ती हुन् श्री १००८ स्वामी परमहंस योगीराज श्रोत्रिय ब्रहृमनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात जीवन्मुक्त महात्मा सच्चिदानन्द सरस्वती।
खप्तड बाबा (वि.सं. १९३७–२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुन् । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी चिकित्सक थिए । भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका उनले कोलकाताबाट एमबीबीएस र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि भने उनको झुकाव अध्यात्मतिर भयोसन् १९४० को दशकमा एक जना करिब ६० वर्षिय बृद्ध साधु भारतको पञ्जाव प्रान्तबाट पश्चिम नेपालको हालको खप्तड (बाजुरा, बझाङ्ग, अछाम र डोटी जिल्लाको बिचमा अवस्थित) क्षेत्रमा आई साधना गर्न थाले र कालान्तरमा उनै व्यक्ति ‘श्री १००८ परमहंश सचितानन्द सरस्वती अर्थात ‘खप्तड स्वामी र ‘खप्तड बाबाको नामबाट चर्चित हुन पुगे । यद्यपि, उनका अधिकांश पुस्तकहरु उर्दु भाषामा लेखिएका हुनाले कतिपय इतिहासकारहरु उनी पाकिस्तानबाट आएका हुन सक्ने अड्कल पनि काट्ने गर्छन ।
खप्तड स्वामीको जन्म र पारिवारीक पृष्ठभुमी बारे बिस्तृत विवरण सधैं रहस्य कै गर्भमा सिमित रह्यो । कतिपय विषयवस्तुहरु यस्ता थिए उनी सधैँ त्यसबाट पन्छिन खोज्थे । उनले आफ्नो उमेर र नाम कहिल्यै कसैलाई बताएनन् । स्वर्गिय राजा बिरेन्द्र जो विभिन्न पर्व र अवसरमा स्वामीको सल्लाह र आशीर्वाद लिन खप्तड जाने गर्थे तर उनलाई समेत स्वामीले आफ्नो बारे कहिल्यै केही बताउन चाहेनन् । कतिपय व्यक्तिहरुसँगको संवादको आरम्भमै उनी “सबै सोध्नुहोस् तर मेरो उमेर नसोध्नुहोस” भनेर भन्ने गर्थे ।
इतिहासकारहरुका अनुसार उनी लण्डनमा तालिमप्राप्त एक वरिष्ठ चिकीत्सक थिए । अस्पतालमा बिरामीको उपचार गर्दा गर्दै जीवन मृत्यू सम्बन्धी केही चमत्कारिक घटनाहरुबाट आश्चर्यचकित भएर सफताको उत्कर्ष बिन्दुमा पुगेको डाक्टरी पेशा त्यागी उनी साधु बन्न पुगे । एक दिन उनी कार्यरत अस्पतालमा मृत घोषित व्यक्ति पुनः जिवित भएको थियो जुन आधुनिक स्वास्थ्य विज्ञानको दृष्टीमा बिलकुल असम्भव थियो । त्यसै गरी एक अर्को घटनामा उनी एउटा बिरामी बालकको उपचार गर्दै थिए । जतिसक्दो बचाउने कोसिस गर्दा पनि उक्त बालक क्रमशः मृत्यूको मुखतिर उन्मुख भइरहेको थियो र उनको प्रयास निरर्थक सावित भयो । अन्ततः उक्त जम्मुकाश्मिरको शहरमा हिमाली जडिबुटीहरु र योगाको शक्ति लिएर एउटा साधु आई सोही बिरामी बालकलाई निको पारे ।तत् पश्चात, मानव ईच्छाशक्ति (विल पावर) र हिमाली जडिबुटीहरु आधुनिक स्वास्थ्य विज्ञान भन्दा कैयौं गुणा बढि शक्तिशाली हुन्छन् भन्ने कुरालाई महसुस गरी उनी वेद र उपनिषदको गहन अध्ययन गर्न थाले र अधिकांश समय धार्मिक गुरुहरुको संगतमा बिताउन थाले ।
उनले काश्मिरदेखि मेघालय हुदै हिमालय तर्फको यात्रा तय गरे । हिमालयको मनमोहक दृष्यले उनलाई मन्त्रमुग्ध बनायो । यात्रा गर्दै जांदा उनी पश्चिम नेपालको खप्तडको पठारमा आइपुगे । खप्तडको विलक्षण जादुमय सुन्दरताले उनलाई सम्मोहित पार्यो र उनले त्यही बस्ने निधो गरे । एउटा ओढार (गुफा) लाई कुटी बनाएर योग साधना संगसंगै जङ्गलमा रहेका प्राकृतिक, ऐतिहासिक र पुरातात्विक रहस्यहरुको खोजी तथा अनुसन्धान गर्न थाले । उत्तरवैदिक (ई.पू १५०० देखि ५०० सम्म) सभ्यताको उद्गम थलो खप्तड नै रहेको कुरा उनले पत्ता लगाए र खप्तड नै चमत्कारिक जडिबुटीहरुको अथाह भण्डार रहेको निष्कर्षमा पुगे । पश्चिमी इरानबाट हिमालयको बाटो हुँदै आएका नेप्टालाइट्सहरु (पछी उनीहरुलाई हेप्टाली खस भन्न थालियो) ले खप्तडको पठारमा आई सभ्यताको सुरुवात गरेको कुरा पनि उनले पत्ता लगाए ।
भगवान शिवले नै पार्वतीसँग बिहेको लागि पर्खिरहँदा खप्तडको फेदमा अवस्थित नेपालका चारधाम मध्येको एक अछाम जिल्ला अवस्थित वैद्यनाथधाममा बिरामीको उपचार गर्न पहिलो पटक जडिबुटीहरुको प्रयोग गरेका थिए भन्ने कुरा उनले पुराण पढेर थाहा पाए र आफुले पनि सोही उपचार पद्धती अनुसरण गरे । उनलाई सबैभन्दा धनी देवता कुबेरको धनको भण्डार बाजुरा जिल्लाको बडिमालिका भन्ने स्थानमा रहेको थाहा थियो तर सुन र अन्य बहुमूल्य धातुहरुको रुपमा रहेको उक्त सम्पत्ति उनका लागि अर्थहिन र मूल्यहिन थियो । तर सबै भन्दा सम्भावित कुरा त के हुन सक्छ भने उनले त्यस क्षेत्रमा भएका सुन, यूरेनियम, अभ्रक, अक्वामरिन जस्ता बहुमूल्य धातुहरुका खानीहरु पत्ता लगाएका थिए तर लोभि मानव प्रवृतिले ती खानीहरु उत्खनन् गर्दा उक्त क्षेत्रको पर्यावरणीय र स्वर्गिय सुन्दरतामा दुर्गामी असर पर्न सक्छ भन्ने उनमा ठूलो चिन्ता थियोे त्यसैले उनले कहिल्यै ती स्थानहरु कसैलाई बताउन चाहेनन् ।उनी कैयौँ दिनसम्म केही नखाई सवासन (मृत शरीर जस्तो योगाको आसन) मा सानो गुफा भित्रै बस्थे जहाँ कि दर्जनौँ माइल भन्दा नजिक मानव वस्ती थिएन । केवल मृग र चितुवा जस्ता जनावरहरु मात्रै उनका साथीहरु हुन्थे । हिउँदको समयमा त खप्तडलाई दश फिट भन्दा बाक्लो हिउँको पत्रले ढाकेको हुन्थ्यो ।
उनी वृहत क्षेत्रको ज्ञान भएका एक नामी विद्वान थिए । विज्ञान र अंग्रेजीका पनि त्यतिकै ज्ञाता थिए । उनी छिमेकी जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीबाट आएका बिरामी र अशक्त मानिसहरुलाई आवश्यकता अनुसार जडिबुटीहरुका साथसाथै आधुनिक पद्धतिको औषधोपचार गरेर निको पार्दिन्थे भने बदलामा ती मानिसहरु स्वामीलाई दही र खानेकुराहरु ल्याइदिन्थे । यदि हामी आधुनिक रसायनयुक्त खाद्यपदार्थको उपभोगले अस्वस्थ हुन गयौँ वा आधुनिक औषधिहरुको सेवनले रोग निको भएन भने हामीले आफ्नो शरीर, मस्तिष्क र आत्मालाई चिन्ने कोषिस गर्नु पर्छ र योगाको साथसाथै प्राकृतिक उपचार पद्धति अपनाउनु पर्छ भनेर उनी ती मानिसहरुलाई भन्ने गर्थे । उनले मानव मात्रको सेवा गरेनन्, एक पटक त उनले चितुवाको पञ्जामा बिझेको काँडा समेत झिकी औषधी लगाइदिएका थिए ।
स्वामीले करिब सय वर्षको उमेर पार गरिसके पछि राजा बिरेन्द्रले उनलाई कम्तिमा पनि एक जना सहयोगी हात त साथमा राख्नुहोस् भनेका थिए तर स्वामी भने जीवनको उत्तराद्र्धमा झन सांसारिक दुनियाबाट टाढिदै र एक्लिदै गएका थिए । उमेरले नेटो काट्दै जाँदा पनि उनको मुहारमा भने झन चमक र उर्जा देखिन्थ्यो । खप्तडको सुन्दरता र आध्यात्मिक वातावरणले उनलाई झन मोहित पार्दै गएको थियो । राजा बिरेन्द्रले स्वामीका लागि काठमाडौँको बुढानिलकण्ठमा सुविधासम्पन्न मन्दिर बनाइदिने र त्यहीँ बस्न भनी आग्रह गर्दा स्वामीले “खप्तड नै मेरो प्रिय ठाउँ हो र यसको बिकल्प छैन” भनेर टारेका थिए । उत्त घटना पछि राजा बिरेन्द्रले सेनाको एउटा टुकडी स्वामीको सहयोगार्थ खप्तडमा उनको आगमन भएको झण्डै चार दशक पछि अर्थात सन १९८४ (वि.सं.२०४३) मा खटाएका थिए ।
आफनो जीवनकालको झण्डै पचास वर्ष खप्तडमा बिताएका एक चर्चित डाक्टर, कुशल वैद्य तथा महान हिन्दु गुरु खप्तड स्वामीको करिब ११० वर्षको उमेरमा मे ९, १९९६ (वि. सं २०५२) का दिन निधन भयो । उनले खप्तडमा अति नै योजनाबद्ध र संयमित ढंगले आध्यात्मिक, आर्थिक पर्यटन प्रवद्र्धन गरिनु पर्ने कुरामा जोड दिन्थे । उनका ‘धर्म विज्ञान, ‘स्वास्थ्य विज्ञान, ‘योग विज्ञान, ‘विचार विज्ञान, ‘वेदान्त विज्ञान, ‘म र मेरो कर्तव्य’, ‘नारीधर्म, ‘पुरुषधर्म र ‘आत्मज्ञान जस्ता पुस्तकहरु प्रकाशित छन् ।
श्री खप्तडबाबा यस युगकै एक असाधारण तपस्वी, अद्वितीय योगी, अतुलनीय ज्ञानवान्, अविस्मरणीय समाजसेवी, परोपकारी, अपार शास्त्रज्ञ, अकाट्यतर्क प्रवीण एवं अत्यन्त मीठो मधुर वाणी र उज्यालो ओजस्वी मुहार भएका महान् व्यक्तित्व थिए । जस–जसले उनको दर्शन गर्ने, उनसँग सत्सङ्ग गर्ने, उनको सान्निध्य पाउने, उनलाई गुरु बनाउने र उनको उपदेश सुन्ने सौभाग्य पाए ती धन्य हुन्। त्यस्ता व्यक्ति अत्यन्त प्रभावित भएको र आफ्नो जीवनलाई नै अर्को मोडतिर लगेको थुप्रै घटना हामीले सुनेका छौं। त्यस्तै नै उनका विचार विज्ञान, स्वास्थ्यविज्ञान, धर्मविज्ञान खण्ड १,२,३,४ र धर्म विज्ञान सार–संक्षेप म र मेरो कर्तव्य, नारीधर्म र पुरूषधर्म, योगविज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान, र तीनओटा अङ्ग्रेजी पुस्तकसहित जम्मा १६ ओटा पुस्तक प्रकाशित भइसकेका छन्। यी ग्रन्थहरूले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेका छन्।
वैदिक सिद्धान्त र दर्शन अनुरूपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरूमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान् कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट हुन्छ। विचार–विज्ञान त यति लोकप्रिय ग्रन्थ बनेको छ– सामान्य पढे लेखेका नर–नारीदेखि लिएर ठूलाठूला दार्शनिक, वेदान्ती पनि यो ग्रन्थ पढेपछि अत्यन्त प्रभावित भएका कुरा सुनेका छौं। खप्तडबाबाका विचारहरू अत्यन्त दार्शनिक अनि व्यावहारिक पनि, वैज्ञानिक अनि भावनात्मक पनि, सरल अनि अत्यन्त गम्भीर पनि सामान्य जस्तो देखिने अनि विचारोत्तेजक पनि छन्।
खप्तड बाबा महान् तपस्वी, महान् ज्ञानी, महान् त्यागी, महान् योगी, महान् लेखक, महान् साधक हुन। त्यसैले खप्तडमा बाबा भिजेका छन् । अनि बाबामा खप्तड भिजेको छ। खप्तड लेकमात्र थियो, पहाडमात्र थियो, जङ्गलमात्र थियो– आज सौभाग्यले खप्तड बाबा बनेको छ। खप्तडसँग बाबा गाँसिएका छन्, बाबासँग खप्तड गाँसिएको छ। खप्तडमा चेतना पलाएको छ। खप्तडले पवित्रताको, सत्यताको, ज्ञानको ज्योति पाएको छ बाबाका कारणले। अनि बाबाको ज्ञानज्योति, तपोधन, नाम ख्याति, ग्रन्थमूर्ति, योगधारा, त्यागकीर्ति चारैतिर फैलिएको छ खप्तडका कारणले। आज बाबाकै कारणले खप्तडको ख्याति, सम्मान, इज्जत र लोकप्रियता बढेको छ। त्यसैले बाबा खप्तडका भूषण बने । खप्तडलाई हामीले चिनेको पनि बाबाकै कारणले हो। नत्र खप्तडको निगालोमात्र प्रसिद्ध थियो, नलीमात्र प्रसिद्ध थियो, हामीले नेपालको भूगोलमा यही पढेका थियौँ। आज खप्तड धार्मिक, भौगोलिक, प्राकृतिक दार्शनिक हर दृष्टिकोणले पर्यटकीय प्रसिद्ध स्थल बनेर विश्वलाई आकषिर्त गर्दछ। बाबाकै कारणले। खप्तडले बाबालाई केही दिएर धेरै पाएको छ।
प्रतिक्रिया