logo
  • २०८२ चैत्र २८ | Sat, 11 Apr 2026
  • कुलिङ अफ पिरियडको नाममा ( व्यंग्य कविता)

    कुलिङ अफ पिरियडको नाममा ( व्यंग्य कविता)

    कुलिङ अफ पिरियडको नाममा ( व्यंग्य कविता)

    कानुनका कागज कराउँछन्, कुरुप कुरुप कानफुक गर्छन्,
    सभासदका सपथहरू सस्तो सौदा सरी सडकमा सर्छन्,
    ‘दुई वर्ष धैर्य धारण’ भन्ने धारिलो धार पन्छाइन्छ,
    कुराले के के भन्छ, कलमको कम्मलले अर्कै ढाक्छ।

    पाखण्डका पात्रहरू पटपटी पाखुरा भाँच्छन्,
    पुस्कल पगरी, प्रचारका पंख झपक्क फिजाउँछन्,
    ‘कुलिङ अफ’ का कवाजहरू कपटी काखमा खस्छन्,
    कानुनका अक्षर, बाघजस्तै बगरमा गर्जन्छन्।

    संसद् सजिएको छ, सन्देशका साँपहरू सर्दै सर्छन्,
    सभामुखका सलामहरू स्वार्थका सिँढी चढ्दै हाँस्छन्,
    कानुनको चश्माले खिसिक्क हाँसेर हेर्छन्–
    ‘हेर, म नै हूँ तिम्रो लोकतन्त्रको देउता!’ भन्छन्।

    ‘कुलिङ अफ’ को कुरालाई कलिलो कागजले किच्छ,
    करारको कलमले करङभित्र कुर्न धकेल्छ,
    कुर्सीका कवच लगाएर कुकर्मको कवायत गर्छ,
    कागजका बाघहरू संसद्मा साँच्चै दह्रो हुंकार गर्छ।

    चिया, चौराहा र चर्को चित्कारमा चरित्र च्यातिन्छ,
    ‘यो मानवीय त्रुटि हो’ भनेर मास्क लगाइन्छ,
    तर भित्रै भित्रै बिर्को उघार्दा बाघ हाँस्दै बस्छ,
    कानुनकै पन्नामा लुकेको कमिशनको कोठी बन्छ।

    सभापतिको सिंहासनमा सुकिलो सूर्य सेक्नेहरू,
    सौदा सुल्झाउँदै सिंगो संसद् सत्तामा साट्नेहरू,
    ‘दुई वर्ष त थाम’ भन्छ विधेयकको धम्की,
    तर कानुनकै काखमा कुइरेको ‘कानुनी कपट’को अङ्कुर उमार्नेहरू।

    मन्त्रालयका मौन कोठामा मुर्दा नियत सुतिरहन्छ,
    मुस्कानको मास्कले महँगो नाटक नचाइरहन्छ,
    संसद्को सिढी चढ्दै, सौदा गर्दै, सपना च्यात्दै,
    कागजका कालो अक्षर कहिले सेतो, कहिले निलो नबन्ने ढोंग गर्लान्।

    आस्था? ओह, आस्थाको अल्लारे अवशेष बजारमा बिक्रि हुन्छ,
    पवित्रताको प्वाल परेको पात च्यातेर भोक निवारण गरिन्छ,
    सभासदका सपथहरू सस्तो सब्जीझैँ निलिन्छ,
    ‘शंका नगर’, ‘भरोसा गर’ भन्ने लफ्फाज लफडा चालिन्छ।

    तर विधेयकको पर्दा पछाडि पर्दाफास हुन्छ,
    ‘मानवीय त्रुटि’ हैन, ‘मलाई फाइदा दे’ योजना चल्छ,
    ‘कुलिङ अफ’ को कफन फुकालेर, लाजको लुगा लिलामी हुन्छ,
    नियुक्तिको नशामा नाच्नेहरूलाई नैतिकताको नाङ्गोपन देखिँदैन।

    कार्यालयको बार्दलीमा कुकर्मको धुवाँ उड्छ,
    कानुनको गंधकमा जनता ज्वालामुखीझैँ पोल्छ,
    सांसदका सपथहरू सत्ताको सिँढीमा चुकुल लगाएर सुत्छ,
    लोकतन्त्रको लठ्ठी बोकेर, मौनता बजाइन्छ।

    ‘हे विधेयक, तिमी पनि निलो बिर्का ओढ,
    लोकतन्त्रको डमरूमा धुन धेरै बजिसके,
    संसद्को गल्लीमा तिमी पनि बेइज्जत भइसके,
    अब तिमी आफैं आफैलाई कानुनको शवगृहमा लिएर जाउ।’

    (तोमनाथ उप्रेती, रतुवामाई मोरङ)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १७, मंगलवार १५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP