संस्थागत मजबूती र परिवर्तनशील चेतनाको संवाद
तोमनाथ उप्रेती
कुनै पनि मुलुकको शासन प्रणाली स्थिरता र परिवर्तनबीचको सन्तुलनमा आधारित हुन्छ। स्थिरताले राज्यलाई निरन्तरता, सुरक्षा, विश्वास र संस्थागत मजबूती प्रदान गर्छ भने परिवर्तनले समयअनुसार सुधार, नवप्रवर्तन र जनआकांक्षाको सम्बोधन सुनिश्चित गर्छ। यी दुई तत्वको समन्वय बिना प्रभावकारी शासन सम्भव हुँदैन। तर व्यवहारमा स्थिरता र परिवर्तन प्रायः परस्पर विरोधी शक्तिका रूपमा देखिन्छन्, जसले शासन प्रणालीमा द्वन्द्व सिर्जना गर्छ।
मानव सभ्यताको इतिहास सत्ता, चेतना र उत्तरदायित्वबीचको निरन्तर संवाद हो। प्रत्येक युगले शासनलाई नयाँ परिभाषा दिएको छ, नयाँ मूल्यसँग बाँधेको छ र नयाँ अपेक्षाको भार बोकाएको छ। शासन समाजको नैतिक अनुहार, संवेदनाको स्वर र भविष्यप्रतिको प्रतिबद्धता हो। स्थिरता र परिवर्तन यही शासनको दुई ध्रुवीय शक्ति हुन्, जसको सन्तुलनमा सभ्यताको गति निर्धारण हुन्छ।
स्थिर शासनले प्रशासनिक संरचना, कानुनी व्यवस्था र नीतिगत निरन्तरताको संरक्षण गर्छ। यसले लगानीमैत्री वातावरण बनाउँछ। सार्वजनिक सेवामा निरन्तरता दिन्छ र सामाजिक विश्वास बढाउँछ। राजनीतिक अस्थिरताले बारम्बार सरकार परिवर्तन, नीति हेरफेर र विकास योजनामा अवरोध ल्याउने भएकाले स्थिरताको महत्व अझ बढ्छ। विशेषगरी विकासोन्मुख मुलुकहरूमा स्थिर शासनलाई प्रगतिका लागि अनिवार्य शर्तका रूपमा लिइन्छ।
तर स्थिरताको नाममा परिवर्तनलाई रोक्नु जडताको संकेत हुन सक्छ। समय, प्रविधि, सामाजिक चेतना र जनअपेक्षा निरन्तर बदलिँदै जाने भएकाले शासन प्रणाली पनि अनुकूलनशील हुन आवश्यक हुन्छ। पुराना नीति, अप्रभावकारी संरचना र जनविरोधी अभ्यासलाई निरन्तरता दिनु विकासको बाधक बन्छ। परिवर्तनको अभावले भ्रष्टाचार, कुशासन र जनअसन्तोषलाई बढावा दिन सक्छ, जसले अन्ततः शासनको वैधतामै प्रश्न उठाउँछ।
परिवर्तन लोकतान्त्रिक मूल्य, समावेशिता, पारदर्शिता र उत्तरदायित्वको प्रवर्द्धनका लागि अपरिहार्य हुन्छ। जनआन्दोलन, नागरिक सचेतना, सञ्चार प्रविधि र युवा सहभागिताले शासन सुधारको मागलाई सशक्त बनाएका छन्। यस्ता परिवर्तनमुखी शक्तिहरूले शासनलाई उत्तरदायी, जनमैत्री र आधुनिक बनाउन दबाब सिर्जना गर्छन्। तर अत्यधिक परिवर्तन, बिना तयारी र संस्थागत आधार, अस्थिरताको कारण पनि बन्न सक्छ।
स्थिर शासन बाह्य रूपमा शान्ति, निरन्तरता र व्यवस्थाको प्रतीक जस्तो देखिन्छ। यसले राज्यलाई अनुमानयोग्य बनाउँछ, नीतिमा विश्वसनीयता दिन्छ र संस्थागत स्मृतिलाई जोगाउँछ। जब शासन स्थिर हुन्छ, योजनाहरू अधुरो हुँदैनन्, विकासका बीजले माटो पाउँछन् र नागरिकले भविष्यप्रति भरोसा गर्न थाल्छन्। अस्थिर राजनीतिक परिवेशमा बाँचिरहेको समाजका लागि स्थायित्व स्वयंमा आशाको भाषा हो।
तर यही स्थायित्व, जब आत्मालोचनाबाट मुक्त हुन्छ, तब बिस्तारै जडताको आवरण ओढ्न थाल्छ। शासन स्थिर रहन्छ, तर चेतना स्थिर हुन्छ। संरचना उस्तै रहन्छ, तर समाज बदलिन्छ। नीति जोगिन्छ, तर पीडा बेवास्ता हुन्छ। यस्तो अवस्थामा स्थिरता सुशासनको प्रतीक होइन, शक्ति संरक्षणको कवच बन्छ। शासन तब जीवन्त प्रणाली होइन, मृत परम्पराको संग्रहालयमा रूपान्तरित हुन्छ।
परिवर्तन शासनको आत्मा हो। परिवर्तनले शासनलाई समयसँग संवाद गर्न सिकाउँछ। जनभावनासँग पुनः जडान गराउँछ र गल्ती सुधार्ने साहस दिन्छ। लोकतन्त्रको सौन्दर्य नै यही परिवर्तनशीलतामा निहित छ। नागरिकको चेतना, प्रविधिको विकास, सामाजिक विविधता र वैश्विक प्रभावले शासनलाई निरन्तर रूपान्तरणको चुनौती दिन्छ। परिवर्तनलाई अस्वीकार गर्नु भनेको समयसँग टकराउनु हो, र समयसँग टकराउने सत्ता अन्ततः इतिहासको धुलोमा विलीन हुन्छ। तर परिवर्तन पनि विवेकविहीन भयो भने अराजकतामा रूपान्तरित हुन्छ। संस्थागत आधारबिना गरिएको सुधार, तयारीबिना ल्याइएका नीति र अस्थिर नेतृत्वले स्थायित्वलाई क्षतविक्षत बनाउँछ। यसले नागरिकमा अनिश्चितता जन्माउँछ, राज्यप्रति अविश्वास बढाउँछ र लोकतान्त्रिक मूल्यलाई कमजोर बनाउँछ। त्यसैले परिवर्तन र स्थिरता दुवैलाई शत्रु होइन, सहयात्रीका रूपमा बुझ्न आवश्यक छ।
स्थिरता र परिवर्तनबीचको द्वन्द्व मूलतः चेतनाको द्वन्द्व हो। यो परम्परा र नवप्रवर्तन, सुरक्षा र जोखिम, सुविधा र उत्तरदायित्वबीचको संघर्ष हो। जब शासन आफ्नो सुविधा सुरक्षित गर्न स्थिरता प्रयोग गर्छ, तब परिवर्तन खतरा बन्छ। जब शासन जनहितलाई केन्द्रमा राख्छ, तब परिवर्तन अवसर बन्छ। यही दृष्टिकोणले स्थिरता र जडताको सीमारेखा कोर्छ।
जवाफदेहिता यस द्वन्द्वको नैतिक मापन यन्त्र हो। जवाफदेही शासन स्थिर पनि हुन्छ र लचिलो पनि। यसले आलोचनालाई शत्रु होइन, दर्पण ठान्छ। त्रुटिलाई अपमान होइन, सुधारको अवसर मान्छ। यस्तो शासन स्थिर रहँदा पनि गतिशील हुन्छ, परम्परागत रहँदा पनि प्रगतिशील हुन्छ। यसको स्थायित्व डरबाट होइन, विश्वासबाट जन्मिन्छ।
नेपालको राजनीतिक अनुभव यस द्वन्द्वको जीवन्त प्रयोगशाला हो। बारम्बार सरकार परिवर्तन, अस्थिर गठबन्धन र अल्पकालीन स्वार्थले स्थायित्वलाई कमजोर बनायो। तर अर्कोतर्फ, स्थिरताको नाममा हुने शक्ति केन्द्रीकरण, उत्तरदायित्वको अभाव र आलोचनाप्रतिको असहिष्णुताले जडताको खतरा पनि जन्मायो। यसले देखाउँछ कि समस्या स्थिरता वा परिवर्तन होइन, तिनको गलत व्यवस्थापन हो।
नेतृत्व यस द्वन्द्वको केन्द्रबिन्दु हो। दूरदर्शी नेतृत्व स्थिरता र परिवर्तनबीच पुल निर्माण गर्छ। उसले परम्परालाई सम्मान गर्छ, तर भविष्यलाई अँगाल्छ। उसले संस्थालाई जोगाउँछ, तर चेतनालाई खुला राख्छ। यस्तो नेतृत्वमा सत्ता सेवा बन्छ, पद दायित्व बन्छ र निर्णय उत्तरदायित्वमा रूपान्तरित हुन्छ।
शासन मानवीय संवेदनाको संरचना हो। जब यसमा संवेदना हराउँछ, तब स्थिरता कठोरता बन्छ र परिवर्तन विद्रोह। जब संवेदना जीवित रहन्छ, तब स्थिरता सुरक्षा बन्छ र परिवर्तन प्रगति। सुशासन यही संवेदनशील सन्तुलनको नाम हो।
यसैले शासनको स्थिरता र परिवर्तनबीच सन्तुलन कायम गर्नु आजको प्रमुख चुनौती हो। स्थायित्वले निरन्तरता दिनुपर्छ भने परिवर्तनले सुधारको बाटो खोल्नुपर्छ। दुवैको समन्वयबाट मात्र सुशासन, दिगो विकास र सामाजिक न्याय सम्भव हुन्छ। विवेकपूर्ण नेतृत्व, सक्षम संस्था र सचेत नागरिक समाजले यो द्वन्द्वलाई सहकार्यमा रूपान्तरण गर्न सक्छन्।स्थायित्व बिना परिवर्तन दिशाहीन हुन्छ। परिवर्तन बिना स्थायित्व मृत हुन्छ। यी दुवैको समन्वयबाट मात्र शासन जीवन्त, लोकतन्त्र विश्वसनीय र भविष्य सुरक्षित बन्छ। यही सन्तुलन नै सभ्यताको मौन प्रतिज्ञा हो।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्।)
प्रतिक्रिया