वैदिक ज्ञानको उज्यालो : विश्व मानवताका लागि अनुपम सम्पदा
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
मानव सभ्यताको दीर्घ यात्रामा ज्ञान, चिन्तन र अनुभूतिको धरोहरको रूपमा वैदिक परम्परा उभिएको छ। वैदिक ज्ञान मानव जीवनको समग्र विकास—नैतिक, बौद्धिक, आध्यात्मिक र सामाजिक उन्नतिको मार्गदर्शक स्रोत हो। प्राचीन ऋषिमुनिहरूको तप, साधना र अनुभूतिबाट उत्पन्न वैदिक साहित्यले मानव चेतनालाई उज्यालो पार्ने अद्वितीय शक्ति प्रदान गरेको छ।
वैदिक चिन्तनले “सत्य”, “ऋत” र “धर्म” जस्ता आधारभूत सिद्धान्तहरूलाई मानव जीवनको मूल आधार मान्दछ। यसले व्यक्तिलाई भौतिक सुखको खोजीमा सीमित नराखी, आत्मबोध, आत्मसंयम र परोपकारतर्फ उन्मुख गराउँछ। वसुधैव कुटुम्बकम् जस्तो उच्च आदर्शले सम्पूर्ण विश्वलाई एउटै परिवारको रूपमा हेर्ने दृष्टिकोण प्रदान गर्दछ, जसले मानवताबीच सहअस्तित्व, सहिष्णुता र करुणाको भाव विकास गराउँछ।
यस ज्ञान परम्पराले शिक्षा, विज्ञान, चिकित्सा, खगोलशास्त्र र दर्शनका क्षेत्रमा समेत प्रभाव पारेको छ। आयुर्वेद, योग, ध्यान र प्राकृतिक जीवनशैलीका अवधारणाहरू आज विश्वव्यापी रूपमा स्वीकारिएका छन्, जसको मूल वैदिक ज्ञानमै निहित छ। यसले देखाउँछ कि वैदिक चिन्तन केवल प्राचीन समयको विषय नभई आधुनिक युगमा पनि उत्तिकै सान्दर्भिक र उपयोगी छ।
पौरस्त्य चिन्तन पश्चिमी दर्शनभन्दा भिन्न छ, किनकि यो तर्कभन्दा बढी अनुभूति, ध्यान, योगमार्ग र अन्तर्मुखी साधनाबाट सत्यको खोजी गर्छ। यसले मानव जीवनलाई केवल भौतिक सफलता होइन, आत्मिक उन्नतिका लागि साधन मान्दछ। अतः पौरस्त्य दर्शन र वैदिक चिन्तनले मानव जीवनको अन्तिम लक्ष्य आत्मज्ञान र मोक्षलाई मानेका छन्, जसले समग्र मानव कल्याणमा मार्गदर्शन प्रदान गर्छ।
पौरस्त्य दर्शनले जीवन, ब्रह्माण्ड, आत्मा, नैतिकता, र मोक्षका बारेमा अध्ययन गर्छ । पौरस्त्य दर्शन प्राचीन पूर्वीय सभ्यताहरूमा विकसित दार्शनिक प्रणालीहरूलाई जनाउँछ। यो दर्शन मुख्यतः भारत, चीन, जापान, र अन्य एशियाली देशहरूको प्राचीन ज्ञान, आध्यात्मिक परम्परा, र जीवन दर्शनसँग सम्बन्धित छ। भारतीय पौरस्त्य दर्शन मुख्यतः छः प्रमुख दर्शन शास्त्रमा आधारित छ, जसलाई षड्दर्शन भनिन्छःसांख्य दर्शन एक प्राचीनतम दर्शन हो जसले प्रकृति (प्रकृति) र पुरुष (चेतना) को द्वैतलाई व्याख्या गर्छ। योग दर्शन पतञ्जलि द्वारा प्रतिपादित, यो ध्यान र आत्मसंयमको माध्यमबाट मोक्ष प्राप्तिमा केन्द्रित छ। न्याय दर्शन तर्क र प्रमाणका आधारमा सत्यको खोजी गर्ने दर्शन हो।वैशेषिक दर्शन परमाणु सिद्धान्तमा आधारित, वस्तुहरूको विश्लेषण गर्ने प्रणालीमा आधारित छ ।पूर्वमीमांसा वैदिक कर्मकाण्डको महत्व र त्यसको व्याख्या गर्ने दर्शनहो ।उत्तरमीमांसा (वेदान्त) ब्रह्म र आत्माको एकतालाई व्याख्या गर्ने आध्यात्मिक चिन्तन हो ।चिनियाँ पौरस्त्य दर्शनमा कन्फ्युसियसवाद, ताओवाद, र बौद्ध धर्म प्रमुख छन्। यी दर्शनहरूले नैतिकता, प्रकृतिसँगको सामञ्जस्य, र जीवनको सन्तुलनमा जोड दिन्छन्।
पौरस्त्य दर्शनहरूको एक महत्वपूर्ण पक्ष व्यावहारिक जीवनसँग यसको सम्बन्ध हो। यो दर्शन केवल तर्कमा आधारित मात्र नभई आध्यात्मिक अनुभव र नैतिक व्यवहारमा केन्द्रित छ। यसले जीवनको गहिराइलाई आत्मिक रूपमा बुझ्न मद्दत गर्दछ र मानवताका लागि अनमोल ज्ञानको स्रोत हो। पौरस्त्य दर्शन परम्परामा प्रयोगमूलक र प्रागनुभव ज्ञानका आधारमा प्रकृति, ईश्वर, जीवन,जगत्, वस्तु र चेतनाको विवेचना, विश्लेषण, सुख शान्तिको खोजी गर्ने र सुखको मूलकारण ज्ञान वा विद्यामा देख्ने ज्ञानशास्त्र दर्शन हो । ज्ञानको प्रकृति, ज्ञान सम्बन्धि निष्कर्षात्मक अवधारणा युक्त नयाँ दिशानिर्देश विश्व दृष्टिकोण वा बुद्धि र ज्ञानको स्रोत नै दर्शन हो ।संसारलाई हेर्ने, बुझ्ने र फेर्ने ज्ञान विशिष्टताको चिन्तनलाई पाश्चात्य परम्परामा जस्तै पौरस्त्य परम्परामा पनि स्वीकारिएका छन
वैदिक चिन्तन हिन्दू धर्मका मूल शास्त्र वेद, उपनिषद्, ब्राह्मण ग्रन्थ, र दर्शनशास्त्रमा आधारित छ। वैदिक चिन्तन ब्रह्म (परम सत्य) र आत्मा (स्वतन्त्र चेतन सत्ता) को एकताको अनुभूतिमा केन्द्रित हुन्छ। उपनिषद्हरूमा ‘अहं ब्रह्मास्मि’ (म म स्वयं ब्रह्म हुँ) भन्ने घोषणाले आत्मा र ब्रह्मको अद्वैत भाव प्रकट गर्छ। वैदिक चिन्तनले कर्मको सिद्धान्त, धर्म, सत्य, तप, ब्रह्मचर्य, र त्यागलाई जीवनको आधार ठान्दछ।
वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । संस्कृत भाषाको “विद्“ धातु बाट वेद बनेको हो जसको अर्थ होः जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । प्राचीन जम्बुद्वीप अर्थात वर्तमान दक्षीण एसिया क्षेत्रमा सृजीत ज्ञान भण्डार एवं मानव ज्ञानको प्राचीनतम श्रोत ग्रन्थहरूको एक ठुलो समूह वेद हो। वैदिक संस्कृतमा रचित, ग्रन्थहरू संस्कृत साहित्यको सबैभन्दा पुरानो तह र हिन्दु धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ हो।
वेदलाई श्रुति पनि भन्ने गरिन्छ किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्का बाट सुनेर सम्झना राखियो। प्राचीन तपस्वीहरू गहिरो तपस्यामा लीन भइरहेको समयमा यी मन्त्रहरू उनीहरूलाई स्वयं इश्वरले अप्रत्यक्ष रूपमा सुनाएका थिए । सर्वप्रथम इश्वरले चार जना ऋषिहरूलाई वेदको ज्ञान दिएः अग्नि, वायु, अंगिरा र आदित्य । यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक श्रुति श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार–पाँच हजार वर्ष देखि चली आइ रहेको छ ।
विद्वानहरूले संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् यी चारको संयोगलाई वेद भनेका छन् । यी चार भागलाई संयुक्त रूपमा श्रुति भनिन्छ । अन्य बाँकी ग्रन्थ स्मृति अन्तर्गत पर्दछन् । वेदको संहिता भनेको मन्त्र भाग हो । वैदिक मन्त्रहरू सुन्दरताले भरिपूर्ण छन् । वैदिक ऋषिहरू जब वेदको सस्वर पाठ गर्छन् त्यो सुनेर चित्त प्रफुल्ल हुन्छ। जसले सस्वर वेद पाठ सुन्छन् ती पनि मुग्ध हुन्छन् । वेदको ब्राह्मण भागमा यज्ञको बारेमा चर्चा गरिएको छ । यसमा वेदका मन्त्रहरूको व्याख्या गरिएको छ । यसमा यज्ञका विधान र विज्ञानका बारेमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ ।
वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।वेदान्त संहिताहरूमा अनेक प्रकारका प्राकृतिक देवहरूका स्तुति, नैतिक चारित्रिक शिक्षा उपदेश, पृथ्वी, जल, तेज, वायु, प्राण, आदित्यमय व्रह्म, आदिव्यमय पुरुष हिरण्य गर्भजस्ता अनेकौँ प्राकृतिक तत्वहरूको वर्णन पाइन्छ । वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो । यसमा मान्छेको हरेक समस्याको समाधान छ । यसमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ ।अग्नि, वायु, सूर्य, त्रिदेवतासँगै अग्नि तत्व, पृथ्वीमाता, गौमाता र धुलोक जल, वनस्पति सम्बन्धित अनेक सूक्तिहरू , अहिंसा सम्बद्ध, माधुर्य सम्बद्ध सूत्र, अभय शत्रुशून्यता ,विजय दीर्घायु अमरता, गति, क्रियाशीलता, प्रयावरणीय सुखशान्ति, प्रकृतिपूजा, सुनति, सत्बुद्धि, सत्मार्ग,चारित्रिक शुद्धता, गृहस्थ जीवनपद्धति मैत्री बन्धुत्व नारीसम्बद्ध सूत्र, विश्ववन्धुत्व राष्ट्रियता, सामाजिक सुख आनन्द सौभाग्य, साँस्कृतिक व्यवहारिक शैक्षिक उपयोगिता आदि सम्बद्ध सूत्रहरू वेदका अन्तर्यहरू हुन् । व्राह्मण ग्रन्थका मूल प्रतिपाद्य यज्ञ र समर्पण भाव, उपनिषद्का मूल प्रतिपाद्य ब्रह्म विद्या र अविद्याका विविध अर्थ, संहिताका प्रधान्य र प्राकृतिक तत्व (अग्नि, वायु, सूर्य) वर्णन, पूजा आत्मवर्णन आदि वेदका मुख्य अन्तरवस्तु हुन् । वेद–वेदाङ्गका अन्तरसम्बन्ध युवा युवतीको विवाहयोग्य उमेर, सतीप्रथा र गरुडपुराण, पद्मपुराण, रुद्रतारा, विष्णु पुराण, आदि पुराणहरूका (वेद–वेदाङ्ग, उपाङ्गहरूका) आधार वेद संहिता नै मानिन्छ ।
द्वापरयुगको समाप्तिको समयमा श्रीकृष्णद्वैपायन वेदव्यास जीले यज्ञानुष्ठानको उपयोगलाई दृष्टिगत उन एक वेदको चार विभाग गरे र यिनी चारै विभागहरूको शिक्षा चार शिष्यहरूलाई दिए। यो नै चार विभाग ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको नामले प्रसिद्ध छ । पैल, वैशम्पायन, जैमिनि र सुमन्तु नामक – यिनी चार शिष्यहरूले शाकल आदि आफ्नो भिन्न–भिन्न शिष्यहरूलाई पढाए। यि शिष्यहरू द्वारा आफ्नो–आफ्नो अधीत वेदहरूको प्रचार तथा संरक्षणको कारण उनी शाखाहरू तिनैको नामले प्रसिद्ध भइ रहेको छ।
आर्य–भाषाहरूको मूलस्वरूप निर्धारित गर्नमा वैदिक चिन्तन सहायक सिद्ध भएको छ । वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ मात्र होइन मानव सभ्यताकै सबैभन्दा पुरानो ग्रन्थ पनि यही हो । वेद मानव सभ्यताको सबैभन्दा पुरानो लिखित दस्तावेज हो । वेदका २८ हजार पाण्डुलिपिहरू भारतको पुणे स्थित भण्डारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युटमा राखिएको छ । तीमध्ये ऋग्वेदका ३० पाण्डुलिपिहरू असाध्यै महत्वपूर्ण छन् जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचीमा समावेश गरेको छ । युनेस्कोले ऋग्वेदका इ. पू. १८०० देखि इ. पू.१५०० बीचका ३० पाण्डुलिपिहरूलाई आफ्नो सांस्कृतिक धरोहरका रूपमा समावेश गरेको छ । महत्वपूर्ण कुरा त के छ भने युनेस्कोका १५८ सांस्कृतिक धरोहरमध्ये भारतका मात्र ३८ वटा पाण्डुलिपिहरू त्यो सूचीमा सामेल भएका छन् ।
मुख्य ब्राह्मण ग्रन्थहरू ऐतरेय, तैत्तिरीय र शतपथ हुन् । आरण्यक वेदको एक महत्वपूर्ण हिस्सा हो । संस्कृतमा वनलाई अरण्य भनिन्छ । त्यसैले अरण्यमा उत्पन्न भएका ग्रन्थहरू नै आरण्यक अन्तर्गत पर्दछन् । पाँच मुख्य आरण्यकमा ऐतरेय, शांखायन, बृहदारण्यक, तैत्तिरीय र तवलकार रहेका छन् । । उपनिषद वेदको शीर्ष भाग हो । साथै उपनिषद वेदको सर्वश्रेष्ठ अन्तिम भाग पनि भएकाले यसलाई वेदान्त पनि भनिन्छ । यसमा इश्वर, सृष्टि र आत्माका सम्बन्धमा गहन दार्शनिक तथा वैज्ञानिक चिन्तन गरिएको छ । उपनिषदहरूको वास्तविक संख्या ११८० मानिन्छ तर हाल उपनिषदका १०८ संख्या मात्र उपलब्ध छन् । तिनमा मुख्य उपनिषद्हरुमा ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तरीय, ऐतरेय, छान्दोग्य,बृहदारण्यक र श्वेताश्वेर रहेका छन् । असंख्य वेद शाखाहरू, ब्राह्मण ग्रन्थ, आरण्यक र उपनिषदहरू लोप भइसकेका छन् । हाल आएर ऋग्वेदका दस, कृष्ण यजुर्वेदका बत्तीस, सामवेदका सोह्र र अथर्ववेदका एकतीस उपनिषदहरू अस्तित्वमा छन् ।
वेदको रचना कुनै निश्चित कालखण्डमा नभई बिस्तारै हुँदै गएको हो। पहिलो चरणमा ऋग्वेद, सामवेद र यजुर्वेदको संकलन गरिएको जसलाई वेदत्रयी भनिन्छ। सनातन मान्यता अनुसार, वेदको विभाजन भगवान रामचन्द्रको जन्मपूर्व पुरूरवा ऋषिको समयमा भएको मानिन्छ र पछि अथर्ववेदको रचना अथर्व ऋषिले गरेका थिए।
धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्व छ। वेदहरूलाई केवल पूजा–पाठ वा धार्मिक अनुष्ठानका स्रोत मात्र मान्नु अधुरो बुझाइ हुन्छ। वेदहरू प्राचीन आर्य सभ्यता र संस्कृति बुझ्ने महत्वपूर्ण स्रोत हुन्। वैदिक युगमा आर्यहरूले कस्तो जीवन बिताउँथे, उनीहरूको सामाजिक संरचना, धर्म, आचार–व्यवहार, अर्थतन्त्र, शासन प्रणाली, तथा दर्शन के थिए—यसबारे सुस्पष्ट जानकारी वेदबाट प्राप्त हुन्छ।
मानव–सभ्यताको प्रारम्भिक चरणमा आर्य जातिले धर्म र समाजलाई कसरी परिभाषित गरे भन्ने कुरा वेदमा समेटिएको छ। ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यी चार वेदहरू विश्व वाङ्मयका सबैभन्दा पुराना ग्रन्थहरू हुन्। यी ग्रन्थहरू केवल आर्य सभ्यताको मात्र होइन, सम्पूर्ण मानव–सभ्यताको बौद्धिक सम्पदा हुन्।वेदहरूको भाषाशैली, मन्त्रोच्चारण, दर्शन, र ऐतिहासिक सन्दर्भहरूले हाम्रो इतिहासको जरा के हो भन्ने कुरा प्रष्ट पार्छ। विशेष गरी ऋग्वेदमा उल्लेखित देवता, नदीनाम, युद्ध, यज्ञ, र प्रकृतिपूजाका वर्णनहरूले तत्कालीन समाजको वास्तविक झलक दिन्छ। यसैले वेदहरू न केवल धार्मिक ग्रन्थ, तर इतिहास, समाजशास्त्र, मानवशास्त्र, भाषाशास्त्र आदिका लागि पनि अमूल्य साधन हुन्।
आजको विश्व तीव्र भौतिक विकास, प्रविधिको विस्तार र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण मानसिक तनाव, नैतिक पतन, सामाजिक विघटन जस्ता अनेक चुनौतीहरूसँग जुधिरहेको छ। यस्तो अवस्थामा वैदिक ज्ञानको उज्यालोले सन्तुलन, संयम र नैतिकताको मार्ग देखाउन सक्छ। यसले मानवलाई आत्मचिन्तन, आत्मअनुशासन र समग्र कल्याणतर्फ प्रेरित गर्दछ। वैदिक ज्ञान विश्व मानवताका लागि अनुपम बौद्धिक सम्पदा हो, जसले समय र स्थानको सीमालाई पार गर्दै सार्वभौमिक मूल्यहरूको सन्देश दिन्छ। यसको संरक्षण, अध्ययन र व्यवहारमा रूपान्तरण गर्नु आजको मानव समाजको महत्वपूर्ण दायित्व हो, ताकि भावी पुस्ताले पनि यस उज्यालोबाट मार्गदर्शन पाउन सकोस्।
प्रतिक्रिया