चरित्रवान् चेतना: उन्नत समाजको आधारशिला
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
आजको विश्व अभूतपूर्व प्रविधिक प्रगति, तीव्र सूचना प्रवाह र भौतिक सुविधाको उत्कर्षमा पुगेको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्जाल, उपभोक्तावाद र विश्वव्यापी प्रतिस्पर्धाले मानव जीवनलाई सहज त बनाएको छ, तर यही गतिले आन्तरिक शान्ति, नैतिक विवेक र मानवीय संवेदनालाई कमजोर बनाइरहेको छ। युद्ध, जलवायु संकट, असहिष्णुता, सामाजिक ध्रुवीकरण र नैतिक विचलन यसैको प्रत्यक्ष परिणाम हुन्। यस्तो अवस्थामा मानव उन्नतिको वास्तविक आधार बाह्य उपलब्धि होइन, आन्तरिक चेतनाको रूपान्तरण हो भन्ने सत्य झनै प्रासंगिक बनेको छ।
मानव समाजको वास्तविक उन्नति चरित्रवान् चेतनामा आधारित हुन्छ। चरित्रवान् चेतना सत्य, नैतिकता, अनुशासन, करुणा र जिम्मेवारीको समन्वयलाई बुझिन्छ, जसले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण समाजलाई दिशा दिन्छ। जब व्यक्तिको सोच शुद्ध, उद्देश्य स्पष्ट र व्यवहार नैतिक हुन्छ, तब समाज स्वतः उन्नत र सभ्य बन्छ।
आजको युगमा मानिसले बाह्य सफलता, शक्ति र प्रतिष्ठालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दो छ। तर यस्ता उपलब्धिहरू क्षणिक हुन्छन् यदि ती चरित्रको आधारमा उभिएका छैनन् भने। चरित्रविहीन प्रगति अन्ततः असन्तुलन, अन्याय र सामाजिक विघटनको कारण बन्छ। त्यसैले उन्नत समाज निर्माणका लागि आवश्यक सबैभन्दा महत्वपूर्ण तत्व नै चरित्रवान् चेतना हो, जसले व्यक्तिलाई सही मार्गमा अगाडि बढ्न प्रेरित गर्छ।
चरित्र आत्माको गुण हो। यो बाह्य आडम्बर वा देखावटी व्यवहार होइन बरु भित्री सत्यको अभिव्यक्ति हो। जब मानिसले आफ्नो आत्मालाई चिन्छ, आफ्नो कर्तव्यलाई बुझ्छ र कर्मलाई नैतिक आधारमा अघि बढाउँछ, तब उसमा चरित्रवान् चेतनाको विकास हुन्छ। पूर्वीय दर्शनहरूमा पनि यही कुरा जोड दिइएको छ ।सत्कर्म, आत्मअनुशासन र करुणा नै मानव जीवनको सार हो।
चरित्रवान् व्यक्तिहरूले मात्र न्यायपूर्ण, सहिष्णु र समावेशी समाज निर्माण गर्न सक्छन्। जब समाजका सदस्यहरू सत्यनिष्ठ, उत्तरदायी र संवेदनशील हुन्छन्, तब त्यहाँ विश्वास, सहयोग र सद्भावको वातावरण सिर्जना हुन्छ। यसको विपरीत, चरित्रको अभावले भ्रष्टाचार, अन्याय र विभाजनलाई जन्म दिन्छ, जसले समाजको आधारलाई कमजोर बनाउँछ।
आध्यात्मिक दृष्टिले, चरित्रवान् चेतना आत्मिक शान्ति र आनन्दको स्रोत हो। बाह्य सुख क्षणिक हुन्छ, तर आन्तरिक शुद्धता र नैतिक जीवनले स्थायी आनन्द प्रदान गर्छ। जब मानिसले आफ्नो जीवनलाई सत्य, प्रेम र धर्ममा आधारित बनाउँछ, तब उसले व्यक्तिगत उन्नति मात्र होइन सामूहिक कल्याणको मार्ग पनि प्रशस्त गर्छ।
आत्मचेतनाको विकाससँगै मानिसले लोभ, क्रोध, अहंकार र अन्ध–इच्छालाई नियन्त्रण गर्न सिक्छ। यसले व्यक्तिगत जीवनमा सन्तुलन र सामाजिक जीवनमा जिम्मेवारी ल्याउँछ। आत्मचेतनायुक्त व्यक्ति केवल स्वार्थ–केन्द्रित हुँदैन; ऊ समाज, मानवता र भविष्यप्रति उत्तरदायी हुन्छ। आज, जब डिजिटल प्लेटफर्मले क्षणिक प्रसिद्धि र तात्कालिक लाभलाई प्राथमिकता दिन प्रेरित गरिरहेको छ, त्यतिबेला आत्मचेतनाले दीर्घकालीन मूल्य र नैतिक दिशाको स्मरण गराउँछ।
चरित्र कुनै एक दिनमा बन्ने संरचना होइन। यो चेतनाको निरन्तर अभ्यास, आत्मसंवाद र मूल्यनिष्ठ जीवनशैलीको परिणाम हो। ध्यान, योग, मौन, रचनात्मक चिन्तन र सत्कर्मले चेतनालाई परिष्कृत गर्छन्। जब चेतना शुद्ध हुन्छ, तब निर्णयहरू लाभ–हानिको गणनाभन्दा माथि उठेर सत्य, न्याय र करुणामा आधारित हुन्छन्।
आत्मचेतना नै आत्मज्ञानतर्फको पहिलो ढोका हो। “म को हुँ?”, “मेरा कर्मले अरूलाई के प्रभाव पारिरहेका छन्?”, “मेरो प्रगति मानवताका लागि कति उपयोगी छ?” जस्ता प्रश्नहरू आजको विश्वमा झनै आवश्यक छन्। आत्मचेतना बिना नैतिकता केवल नियमको पालन मात्र हुन्छ; तर आत्मबोधसँगै नैतिकता जीवनको स्वाभाविक आचरण बन्छ।
सामाजिक स्तरमा, आत्मचेतनाले सहानुभूति र परोपकारलाई विस्तार गर्छ। जाति, राष्ट्र, धर्म वा विचारधाराभन्दा माथि उठेर मानिसलाई “मानव” का रूपमा हेर्ने दृष्टि यही चेतनाबाट जन्मिन्छ। आज विश्वभर बढ्दो द्वन्द्व, घृणा र विभाजनको मूल समाधान यही आन्तरिक संवेदनशीलतामा निहित छ।हिन्दु दर्शनले आत्मचेतनालाई आत्मज्ञानको केन्द्रमा राखेको छ। उपनिषदहरूको “आत्मानं विद्धि” र भगवद्गीताको कर्मयोग, ज्ञानयोग र भक्तियोग सबैको सार आत्मचेतनाको जागरण नै हो।
आजको विश्व संकटको मूल कारण बाहिरी स्रोतको अभाव होइन, आन्तरिक दिशाहीनता हो। नियम, कानुन र प्रविधि सहायक साधन हुन् तर स्थायी समाधान होइनन्। बाहिरी नियन्त्रणले व्यवहार रोक्न सक्छ, तर आत्मचेतनाले उत्प्रेरणा परिवर्तन गर्छ। उत्प्रेरणा परिवर्तन भएपछि कर्म स्वतः नै धर्ममय बन्छ।
अध्यात्म जीवनको सत्यसँगको संवाद हो। जब मानिस आफूलाई केवल उपभोक्ता होइन, चेतनशील आत्मा रूपमा बुझ्न थाल्छ, तब उसका विचार, वाणी र कर्ममा शुद्धता आउँछ। यस्तो शुद्धता देखावटी होइन यो जीवन पद्धतिको आधार बन्छ।
चरित्रवान् चेतना कुनै वैकल्पिक गुण होइन। यो उन्नत समाजको आधारशिला हो। यसले व्यक्तिलाई आत्मिक रूपमा सबल, सामाजिक रूपमा उत्तरदायी र नैतिक रूपमा दृढ बनाउँछ। यदि समाजले दीर्घकालीन समृद्धि, शान्ति र न्याय चाहन्छ भने चरित्र निर्माणलाई प्राथमिकता दिनु अनिवार्य छ। साँचो उन्नति बाह्य उपलब्धिमा होइन, भित्री चेतनाको शुद्धता र चरित्रको उच्चतामा निहित हुन्छ।
आजको मूल्य संकटग्रस्त विश्वलाई दिशानिर्देश गर्न चेतनाको क्रान्ति अपरिहार्य छ। शिक्षा, शासन, प्रविधि र विकास सबैको केन्द्रमा आत्मचेतनाको जागरण हुनुपर्छ। चेतनाले मात्र आचरणलाई शुद्ध गर्छ र शुद्ध आचरणले मात्र समाज र सभ्यतालाई स्थायित्व दिन्छ। मानव जीवन चेतनाको निरन्तर उन्नयन यात्रा हो। बाहिरी चमक क्षणिक हुन्छ, तर आन्तरिक जागरण स्थायी हुन्छ। चेतनासहितको जीवन नै चरित्रवान् जीवन हो र चरित्रवान् जीवन नै मानव सभ्यताको साँचो उचाइ हो।
प्रतिक्रिया