यस धर्तीमा समय समयमा प्रेम ,मानव कल्याण, अहिंसा र न्यायका प्रतिमुर्तिहरु जन्मने गर्दछन् । यसै क्रममा गुरुजी श्री मंगलदास महाराजको जन्म वि.सं १९५३ आश्विन शुक्ल द्वादशीका दिनमा पुर्वी नेपालको इलाम जिल्ला अन्तर्गतको मेहेलबोटे भन्ने स्थानमा भएको थियो । उहाँका पिताको नाम कल्याणदास सापकोटा र माताको नाम नर्वदा थियो । गुरुजीको उमेर डेढ वर्षको भएपछि कल्याणदासजी नेपालबाट बसाइँ सरेर सपरिवार आसामपुग्नुभयो। त्यहाँ गुरु पीताम्बरदासजीसँग साक्षत्कार भयो। त्यसपछि आसाम रांशालीमागुरुजी सपरिवार निजानन्द धर्ममा दीक्षित हुनुभयो ।
गुरुजी मंगलदास महाराजको जीवनदर्शन मानवता र करुणाको मूर्त रूप हो। उहाँले “सर्वे भवन्तु सुखिनः” भन्ने वेदवाक्यलाई व्यवहारमा उतारेर सम्पूर्ण मानव जातिलाई समान दृष्टिले हेर्ने चेतना फैलाउनुभयो। मानवताको उहाँको परिभाषा केवल जात, धर्म, वर्ग वा भाषा भन्दा माथि उठेको थियो—उहाँले आत्माभावलाई सम्पूर्ण अस्तित्वको केन्द्र मानेर सबैमा ब्रह्मत्वको अनुभूति गराउनु भयो। यसरी उहाँको दर्शनले व्यक्तिमा अन्तर्निहित दिव्यताको सम्मान गर्दै जातीय भेदभाव, उच–नीच र सामाजिक बहिष्करणका विरुद्ध सशक्त आवाज उठायो।
उहाँको जीवनदर्शनमा अहिंसा हिंसा न गर्नु मात्र होइन, विचार, वाणी र कर्ममा प्रेम, क्षमा र सहिष्णुताको अभ्यास हो भन्ने मान्यता छ। मंगलदास महाराजले बताउनु भएको “वास्तविक धर्म भनेको दुःखीको सेवा र अन्यायको प्रतिरोध हो” भन्ने सिद्धान्तले सामाजिक न्यायको धारणा प्रस्ट पार्दछ। समाजमा दलित, गरीब, र उत्पीडित वर्गप्रति उहाँले देखाउनुभएको संवेदना, न्यायका लागि लड्ने साहस र सबैका लागि समान अवसरको पक्षमा उठाइएको आवाजले उहाँलाई केवल एक आध्यात्मिक गुरु नभई सामाजिक क्रान्तिकारीको रूपमा स्थापित गरेको छ। यसरी, गुरुजीको जीवन–दर्शन केवल भक्ति र साधनामा सीमित नभई सक्रिय सामाजिक रूपान्तरणको प्रेरणा बन्यो, जसले समावेशी र समतामूलक समाजको कल्पना सम्भव बनाउँछ।
गुरुजी मंगलदासजीको जीवन एक प्रेरणादायी आध्यात्मिक यात्रा हो जसले मानवता, सेवा र करुणाको गहिरो सन्देश दिन्छ। उहाँको जीवनको प्रारम्भ एक साधारण परिवारबाट भयो, तर प्रारम्भदेखि नै उहाँमा आध्यात्मिकताको असाधारण झुकाव देखियो। जब उहाँ पाँच वर्षको हुनुहुन्थ्यो, पिताजीले अक्षरारम्भ गराउनु भयो, तर धेरै समय सँगै बिताउन नपाउँदै पिता कल्याणदासको वि.सं. १९५८ मै निधन भयो। परिवार दयनीय अवस्थामा पर्यो। त्यसपछि रांशालीबाट तेजपुर हुँदै पन्ना धाम पुग्दा उहाँको जीवनको अध्यात्मिक मोड सुरु भयो।
करिब १२ वर्षको उमेरमा मंगलदासजी सूरत गइ गुरु पीताम्बरदास महाराजको सान्निध्यमा वाणीको तालिम लिन थाल्नुभयो। केही समयपछि जामनगर पुगेर तारतमसागरको गहिरो अध्ययन गर्नुभयो। तर, जब गुरुजी सूरत फर्किनुभयो, गुरु पीताम्बरदासको देहावसान भइसकेको थाहा पाएर उहाँले गहिरो दुःख महसुस गर्नुभयो र अखण्ड पारायण गर्न थाल्नुभयो। त्यहाँबाट सुरू भएको गुरु-भक्तिको गहिरो भावले उहाँलाई जीवनभर अघि बढायो।
उहाँ जीवनभर भ्रमणमा लागिरहनुभयो—सूरत, गणदेवी, मेरठ, बनारस, हरिद्वार, नेपाल, कालिम्पोङ्, र भारतका विभिन्न शहरहरूमा—धार्मिक जागरण गर्दै। उहाँले हरिद्वारको गङ्गा किनारमा दिगम्बर भेषमा तपस्या गर्नु भयो र मातृभूमि नेपाल फर्किएर मानवकल्याणको सेवा गर्न थाल्नुभयो। कालिम्पोङमा कृष्ण प्रणामी मन्दिरको जिम्मेवारी सम्हाल्दै उहाँले सिलिगुडीमा मन्दिर निर्माण पनि गर्नुभयो।
गुरुजी बाल्यकालदेखि नै ध्यान, साधना र प्रार्थनामा रुचि राख्नु हुन्थ्यो। उहाँले तारतम सागर लगायतका ग्रन्थहरू पढ्नुभयो। एक दिन एकान्तमा बस्दा उहाँले दिव्य अनुभव गर्नुभयो। यसले उहाँलाई आत्मज्ञान प्राप्त गर्न प्रेरित गर्यो। त्यसपछि उहाँले सेवा र करुणाको बाटो अपनाउनुभयो। समाजमा शिक्षाको कमी देखेर विद्यालय खोल्नुभयो। गरीब र असहायलाई सहारा दिनुभयो।
गुरुजीले सधैं प्रेम र सहिष्णुताको सन्देश दिनुभयो। उहाँले अनुयायीहरूलाई आत्मविश्वास दिनुभयो। स्वास्थ्य कमजोर हुँदा पनि उहाँले साधना गर्न छोड्नुभएन। उहाँले आफ्ना शिष्यहरूलाई आत्मज्ञान र सेवाको मार्ग देखाउनुभयो। उहाँको शिक्षाले धेरैको जीवनमा परिवर्तन ल्यायो।गुरुजी मंगलदासजीको जीवन आध्यात्मिक ज्ञान, सेवा र मानवता समर्पित प्रेरणादायी यात्राको उत्कृष्ट उदाहरण हो।
गुरुजीको जीवनको अन्तिम चरणमा उहाँले प्रेम र करुणाको अनन्त सन्देश फैलाउने कार्यलाई जारी राख्नुभयो। उहाँले सधैं भनेको कुरा थियो, “साँचो प्रेम कहिल्यै समाप्त हुँदैन। यो केवल दिनको उज्यालो जस्तै, जसले सबैलाई प्रेरित गर्दछ।“उहाँले आध्यात्मिक शिक्षालाई व्यापक रूपमा फैलाउन र यसलाई सबैका लागि पहुँचयोग्य बनाउन चाहनुहुन्थ्यो। शिक्षाको माध्यमबाट मानिसहरूलाई साँचो ज्ञान प्राप्त गराउन र आन्तरिक शान्ति पाउन मद्दत गर्ने लक्ष्य राख्नुभयो। उहाँले विभिन्न संस्कृतिहरू र परम्पराहरूलाई सम्मान गर्ने महत्त्वलाई जोड दिनुहुन्थ्यो। धार्मिकता र संस्कृतिका बीचमा सहिष्णुता र संवादलाई प्रवर्द्धन गर्नको लागि उहाँले प्रयास गर्नुभयो।खगुरुजीले शिक्षा र ज्ञानलाई समाजको विकासका लागि अत्यावश्यक मान्नुभयो। उहाँले मानिसहरूलाई शिक्षा र जागरूकता मार्फत आफ्नो जीवनस्तर सुधार्नका लागि प्रेरित गर्न चाहनुहुन्थ्यो।
ध्यान र साधनालाई जीवनको महत्वपूर्ण अंगको रूपमा प्रस्तुत गर्दै, उहाँले मानिसहरूलाई नियमित रूपमा ध्यान गर्न र आत्म–समर्पण गर्न प्रोत्साहित गर्नुभयो। यसले व्यक्तिलाई आन्तरिक शान्ति र स्पष्टता दिन्छ।गुरुजीले सकारात्मक सोच र दृष्टिकोणको महत्त्वमा जोड दिनुहुन्थ्यो। उहाँका अनुसार, सकारात्मक मानसिकता राख्नु जीवनका चुनौतीहरूलाई सामना गर्न र गुरुजीले समाजमा समान अवसरको महत्त्वलाई जोड दिनुहुन्थ्यो। उहाँले हरेक व्यक्तिलाई विकास र उन्नतिको अवसर दिनुपर्छ भन्ने कुरामा विश्वास राख्नुहुन्थ्यो, जुन सबैका लागि लाभदायक हुनेछ । उहाँले विभिन्न धर्म, जाति, र सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूबीच एकता र सहिष्णुता प्रवर्द्धन गर्नका लागि काम गर्नुभयो। विविधताको सम्मान गरेर मानवताको एकता सुनिश्चित गर्ने लक्ष्य राख्नुभयो।
गुरुजीले आध्यात्मिक नेतृत्वको आवश्यकता र यसको भूमिका बारेमा विचार प्रस्तुत गर्नुभयो। उहाँले युवाहरूलाई नेतृत्वमा प्रेरित गर्दै, समाजको उत्थानका लागि आध्यात्मिक मूल्यहरूको आधारमा काम गर्न आग्रह गर्नुभयो।उहाँले जीवनमा उद्देश्यको महत्त्वलाई समृद्धि र खुशीको आधार मान्नुहुन्थ्यो। मानिसहरूले आफ्नो जीवनको उद्देश्य पहिचान गर्न र त्यसका लागि कार्य गर्न प्रेरित गर्नु महत्वपूर्ण थियो ।गुरुजी मंगलदासजी महाराजजीका यी लक्ष्यहरूले व्यक्तिको आन्तरिक विकास र समाजको समग्र उत्थानको लागि महत्वपूर्ण आधारहरू प्रस्तुत गर्दछन्। उहाँको दृष्टिकोणले मानिसहरूलाई जागरूक, सशक्त, र स्नेहशील बनाउने प्रयासमा केन्द्रित छ ।
उहाँको जीवन प्रायः करुणा र ज्ञानका कथाहरूले भरिएको छ, जहाँ उहाँले व्यक्तिहरूलाई आफ्नो आध्यात्मिक यात्रामा मार्गदर्शन गर्दै, बाधाहरू पार गर्न र उनीहरूको साँचो उद्देश्य खोज्न मद्दत गर्नुहुन्थ्यो। धेरै भक्तहरूले उहाँलाई प्रेरणा र मार्गदर्शनको स्रोतको रूपमा मान्ने गर्छन्, र उहाँका दिव्य चेतना र शिक्षाहरूले परिवर्तनको अनुभव साझा गर्ने गरेका छन्।उहाँका शिक्षाहरूलाई भविष्यका पीढीहरूका लागि प्रकाश र मार्गदर्शनको स्रोतको रूपमा स्थापित गरेको छ।
गुरुजी मंगलदासजी महाराजजीको जीवनले मानिसहरूलाई आध्यात्मिकता, सेवा, र प्रेमको महत्वलाई बुझ्नका लागि प्रेरित गरिरहेको छ। उहाँका शिक्षाहरूले आज पनि लाखौं मानिसहरूलाई उज्यालो मार्गमा अगाडि बढ्न मद्दत गरिरहेका छन्।समाज सेवा, मानव कल्याण, अहिंसा र प्रेमका लागि मंगलदास गुरुजीले अनेकौं सुधारका काम गर्नुभयो । उहाँले गौशाला र विद्यार्थीको लागि आश्रमको निर्माण गराउनु भयो। दार्जीलिङ, सिक्किम, आसाम, नेपाल, भुटान आदि स्थानको भ्रमण गरेर मानव कल्याण र अहिंसाको लागि प्रचार गर्नुभयो । कालिम्पोङ् बजारमा मंगलधाम स्थापना गर्दै अहिंसा , शन्ति, मानव कल्याण र न्यायका लागि अनेकौँ तह र तप्काका व्यक्तिलाई प्रणामी धर्ममा दीक्षित गराउनुभयो । उहाँले वि.सं. २००१ मा ‘प्रणामी बालिका विद्या मन्दिरको स्थापना गर्नुभयो । गुरुजीले बेला बेलामा भारतका अन्य स्थानको पनि जागनी कार्यका लागि भ्रमण गर्नुभयो । बम्बइको भुलेश्वर मन्दिरमा रहेर उहाँले ‘प्रार्थना पुष्पाञ्जालिर ‘आत्म सोपान नामका किताब लेखेर प्रकाशन गराउनुभयो । गुरुजीले पैदलै हिँडेर अमरनाथको यात्रा पूरा गर्नुभयो । त्यहाँबाट फर्केर लुधियाना, अमृतसर, जालन्धर आदि स्थानमा कृष्ण प्रणामी धर्मको प्रचार गर्नुभयो । वि.सं. २०१३ मा उहाँकी जननीको धाम गमन भयो ।
वि.सं. २०२९ मा गुरुजीले गुरुजी प्रणामी मिसन ट्रष्टको स्थापना गर्नुभयो । गुरुजीले ‘तुम सेवासे पाओगे पार मार्गलाई अगाडि बढाउनुभयो । गुरुजीले सबैलाई समाज सेवा गर्न प्रेरणा दिनु हुन्थ्यो। उहाँले मन्दिरको साथै स्कूल, आश्रम, धर्मशाला, गौशाला, अस्पताल आदिको स्थापना गराउनुभयो। वि.सं. २०३५ मा गुरुजीले इटहरीमा बुढी गंगाको किनारमा श्रीकृष्ण प्रणामी मुक्ति धामको स्थापना गर्नुभयो । भारतस्थित पन्नामा पनि धर्मशालाको निर्माण वि.सं. २०३५ मै गराउनुभयो । उहाँले सिलिगुडीमा वि.सं. २०३८ मा १०८ पारायण गराउनु भयो । वि.सं. २०३९ मा गुरुजीबाट मासिक पत्रिका ‘राजविद्याको प्रकाशन सुरु गरियो ।
समाज सेवा , प्रेम, अहिंसा र न्यायका लागि उहाँका सेवा मुलक कार्यहरूमा मन्दिर, सत्संग भवन, प्रार्थना भवनको निर्माण र सञ्चालनद्वारा आध्यत्मिकताको विकास , विद्यालयको स्थापना गरेर शिक्षाको प्रचार गर्नु, विशेष रूपमा नारी शिक्षाको महत्व कायम गर्नु , बृद्ध आश्रमको स्थापना गरेर वृद्धहरूको सम्मान र सेवा गर्नु , संस्कृत विद्यालयको स्थापना गरेर हिन्दू धर्म संस्कृति र संस्कृतको सम्बर्द्धनमा महत्वपुर्ण योगदान रहेको छ । अस्पतालको स्थापना र संचालनद्वारा जनस्वास्थ्यको रक्षा , धार्मिक साहित्यको लेखन र प्रकाशनद्वारा धार्मिक जनचेतना जागृत, धार्मिक प्रचारकहरू तयार गरेर भावी पिंढीलाई धर्मको विकासमा मार्ग दर्शन , श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति, प्रणामी यसवाहरुलाई गोलवद्ध गर्दै सामाजिक कार्यमा अहोरात्र लाग्न श्री कृष्ण प्रणामी युवा संघ गठन गरेर महिला र युवालाई संगठित रूपमा धार्मिक सेवामा लगाउनु , भागवत र गीताका माध्यमबाट धर्म संस्कृतिको रक्षा गर्नु, ,तारतमवाणीको तालिम र गायनको परिपाटी कायम गरी महामति प्राणनाथको सन्देश व्यापक बनाउनु , महिला र युवा प्रचारकलाई व्यासासनमा बसाएर नारी र युवालाई समान अधिकारको बोध गराउनु ,अनाथहरूको संरक्षण गरी मातापिताको स्नेह दिनु र शिक्षित बनाउनु ,समय र श्रमलाई सधैं महत्त्व दिनु , सादगी र सरल जीवनयापन गर्नु गराउनु वाहाँका प्रमुख सेवामुलक कार्यहरु रहेका छन् ।
धर्मको नाममा पशुपक्षीको बली दिने प्रथा, जातपातका आधारमा गरिने भेदभाव र छुवाछुत जस्ता कुरीतिहरू तथा कर्मकाण्ड मात्रलाई धर्म मान्ने चलन रहेको क्षेत्रमा विभेद हटाउन गुरुजी अहोरात्र लागि पर्नुभएको हो । उहाँले विभिन्न जातजाति, भाषाभाषी जनतामा आध्यात्मिक जागरणको लागि मन्दिर निर्माण गर्ने, नारी शिक्षामा जोड दिन कन्या पाठशाला खोल्ने, अनाथ बालबालिकाको लागि सेवा आश्रम सञ्चालन गर्ने, गौशाला, निःशुल्क औषधालय र सेवामुलक यस्ता अनेकौ कार्य गर्नुभयो । मानव कल्याण, देश सेवा र समाज सेवा, जीवनको लक्ष्य हुनुपर्छ भन्ने विश्वासका साथ उहाँ कर्मक्षेत्रमा लाग्नुभयो । उहाँ धार्मिक साहित्यका प्रचारक आध्यात्मिक ज्ञानको वैज्ञानिक तथा व्यवहारिक प्रयोग कर्ता र जीव हिंसाका कट्टर विरोधी हुनुहुन्थ्यो । गुरुजी मंगलदास, क्रषिमुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ।
८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालीकामा मुक्तिधाम, झापाको भद्रपुरमा मंगल पार्क निर्माण भएका छन् ।
सामाजिक कार्यका महानायक ,वैज्ञानिक अध्यात्मवादका शुत्रधार, महान विचारक , दार्शनिक, सुधारक, अहिंसा,मानव कल्याण ,दया, सेवा , प्रेम र न्यायका युगिन धरोहर गुरुजीको कालजयी जीवनपद्धतिबाट पाठ सिकेर वैज्ञानिक अध्यात्मिक चेतनाको विजारेपणगरी जीवन मंगलमय बनाउन सकिन्छ । आज गुरुजीको नाम सुन्नाले मात्रै पनि विश्व जगत नतमस्तक हुन्छ ।वाहाँको जीवन दर्शनबाट विश्व जगतले समाज कल्याण,सदाचार,नैतिकता, सहिष्णुता, विश्व वन्धुत्व, भाइचारा ,सामाजीक न्याय, सुशासन,मानव कल्याण, निष्ठा र असल आचरण जस्ता गुणहरु अवलम्वन गर्दै विश्वमा मानवतावाद, अहिंसावाद, सामाजिक प्रेम र सद्भाव ग्रहण गर्न आवश्यक छ ।
अन्त्यमा, गुरुजी मंगलदासजीको जीवन कुनै साधारण व्यक्तिको जीवनी मात्र होइन, यो एक उज्यालो दीप हो जसले मानवता, सेवा, प्रेम, सत्य र वैज्ञानिक अध्यात्मको मार्ग देखाउँछ। उहाँको जीवनले हामीलाई सिकाउँछ कि आध्यात्मिकता केवल ध्यान र साधनामा सीमित होइन, यो समाज सुधार, न्याय स्थापन, असहायको सेवा र प्रेमको व्यावहारिक अनुकरण हो।
आजको असहिष्णु र आत्मकेन्द्रित संसारमा गुरुजीको शिक्षाले सहिष्णुता, सदाचार, विश्व बन्धुत्व र करुणाको चेतना फैलाउने बाटो खोल्दछ। उहाँको विचार र जीवन दर्शनले सच्चा मानव बन्ने, विवेकशील निर्णय गर्ने र समाजलाई उज्यालो दिशामा लैजाने शक्ति दिन्छ। वैज्ञानिक अध्यात्मको मूलधारमा उभिएर उहाँले जुन युगीन मार्गदर्शन गर्नुभयो, त्यसलाई आत्मसात् गरी हामीले पनि आफ्नो जीवनलाई अर्थपूर्ण, लोककल्याणकारी र आध्यात्मिकरूपमा समुन्नत बनाउन सक्नेछौँ। गुरुजीको जीवन, विचार र सेवा भाव सधैं हाम्रो प्रेरणास्त्रोत बन्नेछ।
( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
प्रतिक्रिया