logo
  • २०८३ असार ३ | Wed, 17 Jun 2026
  • प्रतीक्षाको दर्शन र जीवनको नश्वरता: ‘टोकन नम्बर १७२’

    प्रतीक्षाको दर्शन र जीवनको नश्वरता: ‘टोकन नम्बर १७२’

    प्रतीक्षाको दर्शन र जीवनको नश्वरता: ‘टोकन नम्बर १७२’

    तोमनाथ उप्रेती

    उमेश लुइटेल समकालीन नेपाली साहित्यका संवेदनशील, सिर्जनशील र विशिष्ट कवि हुन्। उनले साधारण जीवनका दृश्यहरूभित्र असाधारण अर्थ खोज्ने अद्भुत क्षमता राख्छन्। उनका कविताहरूमा मानवीय पीडा, प्रेम, करुणा, सामाजिक यथार्थ र अस्तित्वगत चिन्तन गहिरो रूपमा अभिव्यक्त हुन्छन्। बिम्ब, प्रतीक, मानवीकरण र दृश्यात्मक भाषाको प्रभावकारी प्रयोग उनका रचनाको विशेष पहिचान हो। अस्पताल, सडक, गाउँ, श्रम र मानवीय सम्बन्धजस्ता सामान्य विषयलाई समेत उनी दार्शनिक उचाइमा पुर्‍याउन सक्षम छन्। समकालीन नेपाली कवितामा उमेश लुइटेललाई संवेदनाको सूक्ष्म शिल्पी, यथार्थका कलात्मक व्याख्याकार र मानवतावादी चेतनाका सशक्त स्वरका रूपमा सम्मानपूर्वक चिनिन्छ।

    उमेश लुइटेलको आगो खरानी जान्दैन कविता संग्रह भित्रको कविता टोकन नम्बर १७२’ समकालीन नेपाली कविताको एक अत्यन्त सशक्त, संवेदनशील र बहुआयामिक रचना हो। यो कविता अस्पतालको एउटा सामान्य दृश्यबाट सुरु हुन्छ। तर विस्तारै मानव जीवनको गहिरो दर्शनसम्म पुग्छ। कविले अस्पताललाई उपचारस्थलका रूपमा चित्रण गरेका छैनन्। उनले यसलाई जीवन, मृत्यु, आशा, निराशा, प्रेम, करुणा र प्रतीक्षाको विराट रंगमञ्च बनाएका छन्।

    कविताको शीर्षक नै अत्यन्त कलात्मक छ। “टोकन नम्बर १७२” आधुनिक संस्थागत संसारमा व्यक्तिको हराउँदै गएको अस्तित्वको प्रतीक हो। अस्पतालमा मानिस नामभन्दा नम्बर बन्छ। पहिचानभन्दा फाइल बन्छ। कविले यही यथार्थलाई  प्रतीकमा रूपान्तरण गरेका छन्। यहाँ नम्बर १७२ एउटा पात्र मात्र होइन, सम्पूर्ण मानवताको प्रतिनिधि हो।

    कविताको प्रारम्भिक दृश्य अत्यन्त प्रभावकारी छ।

    ओपिडी काउन्टर खुल्नुअघि

    टोकन नम्बर १७२ हातमा राखेर

    आँखाहरू पर्खाइको क्यानभासमा फिका तस्बिर हेरिरहन्छन् ।

    अस्पतालका गमलाहरू

    मुस्कान बोकेर स्वागत गरिरहेका छन्

    बिरामीहरू खुसी खोज्दै

    रोगको सन्तापले ओइलाएका छन् ।

    यहाँ “पर्खाइको क्यानभास” अत्यन्त सुन्दर रूपक हो। मानिसको जीवन वास्तवमा प्रतीक्षाहरूको संग्रह हो। जन्मदेखि मृत्युसम्म मानिस केही न केही कुराको प्रतीक्षा गरिरहेको हुन्छ। अस्पतालमा त्यो प्रतीक्षा अझ तीव्र हुन्छ। कविले आँखालाई चित्रकार र प्रतीक्षालाई क्यानभास बनाएका छन्। यो दृश्यात्मकता नेपाली कवितामा दुर्लभ सौन्दर्य बोकेको छ।

    टोकन नम्बर १७२’ को एक अत्यन्त प्रभावशाली विशेषता यसको सशक्त मानवीकरण हो। यस कवितामा कविले अस्पतालका उपकरण, सामग्री र वस्तुहरूलाई भावना, चेतना र अनुभूति भएका जीवित पात्रका रूपमा उभ्याएका छन्। यही कलात्मक प्रविधिले कवितालाई थप जीवन्त, मार्मिक र प्रभावकारी बनाएको छ।

    कविताको पङ्क्तिअस्पतालका गमलाहरू मुस्कान बोकेर स्वागत गरिरहेका छन्”  यस दृष्टिले अत्यन्त सुन्दर उदाहरण हो। वास्तविक जीवनमा गमलाहरू न मुस्कुराउँछन्, न कसैलाई स्वागत गर्छन्। तर कविको कल्पनाशील दृष्टिले तिनलाई मानवीय व्यवहार प्रदान गरेका छन्। अस्पतालमा प्रवेश गर्ने बिरामीहरू पीडा, चिन्ता र अनिश्चितताले भरिएका हुन्छन्। त्यस्तो वातावरणमा हरिया गमलाहरू आशा, ताजगी र जीवनप्रतिको विश्वासका प्रतीक बनेका छन्। यहाँ गमलाहरूले मानिसले गर्न नसकेको काम गरिरहेका छन्। उनीहरू मौन भएर पनि सान्त्वना दिइरहेका छन्।

    त्यस्तै, रगतका थैलाहरू उपवास बसेका छन्” भन्ने पङ्क्ति मानवीकरणको अर्को उत्कृष्ट नमुना हो। रगत चढाइसकेपछि खाली भएका थैलाहरूलाई कविले उपवासरत साधकको रूपमा चित्रण गरेका छन्। उपवास सामान्यतः कुनै उद्देश्य, त्याग वा आध्यात्मिक अनुशासनसँग जोडिन्छ। यस बिम्बले रगतका थैलाहरूले आफ्नो सम्पूर्ण अस्तित्व अरूको जीवन बचाउन अर्पण गरिसकेको भाव व्यक्त गर्छ। यसरी एउटा साधारण चिकित्सकीय सामग्री नै त्याग, सेवा र बलिदानको प्रतीकमा रूपान्तरित हुन्छ।

    कवितामा सेलाइन बोतल, व्हिलचेयर, मास्क, सुई, क्यालेन्डर लगायत अनेक वस्तुहरू पनि मानवीय भूमिकामा देखिन्छन्। परिणामतः अस्पताल बोल्ने, सुन्ने, पीडा महसुस गर्ने र आशा बाँड्ने जीवित संसारमा रूपान्तरित हुन्छ। यही मानवीकरण कविताको कलात्मक सौन्दर्य, भावनात्मक गहिराइ र संवेदनात्मक प्रभावको प्रमुख स्रोत बनेको छ।

    कवितामा दृश्य बिम्ब अत्यन्त सशक्त छ। पाठक अस्पतालको प्रत्येक कोठामा पुग्छ। ओपिडी काउन्टर देख्छ। आईसीयु देख्छ। भेन्टिलेटर कोठा देख्छ। प्रयोगशाला देख्छ। व्हिलचेयर देख्छ। सेलाइन देख्छ। कविताले पाठकलाई दृश्यभित्रै प्रवेश गराउँछ।

    कमिला-ताँती मान्छेहरू कोठा कोठा पस्छन्

    आईसीयुका घिटीघिटी सासहरू

    रुकी-रुकी न्याउली धुन सुनाइरहन्छन् ।

    दुर्घटनाका चिच्याहटहरू

    भेन्टिलेटर कोठाका भित्ताभित्ता कुदिरहन्छन्

    रगतको ट्याटु खोपेका रुवाहरू

    जुत्ताचप्पलसँग टाँसिएर जतातता अलपत्र परिरहन्छन् ।

    यो उपमा अत्यन्त प्रभावकारी छ। अस्पतालमा आउने मानिसहरूको भीडलाई कमिलाको लस्करसँग तुलना गरिएको छ। सानो वाक्य। तर विशाल दृश्य। यही काव्यिक अर्थसघनता हो।

    कविताको यो अंशमा अस्पतालको दृश्य एउटा जीवित, कम्पनशील र पीडाले भरिएको सामाजिक शरीरका रूपमा प्रकट हुन्छ। “कमिला-ताँती मान्छेहरू कोठा कोठा पस्छन्” भन्ने बिम्बले मानिसहरूको भीडलाई कमिलाको लस्करसँग तुलना गरेर अस्तित्वको भीडभाड र असहायता देखाउँछ। यहाँ व्यक्ति हराउँछ, केवल भीड रहन्छ। अस्पतालको कोरिडोरहरू मानौँ अस्तित्वका भूलभुलैया बनेका छन्, जहाँ प्रत्येक मान्छे आफ्नो पीडाको खोजीमा दौडिरहेको छ।

    “आईसीयुका घिटीघिटी सासहरू / रुकी-रुकी न्याउली धुन सुनाइरहन्छन्” भन्ने पंक्तिले जीवन र मृत्युबीचको सूक्ष्म सीमालाई अत्यन्त करुणामय रूपमा उजागर गर्छ। घिटीघिटी सासहरू जीवनको अन्तिम सङ्गीत हुन्। न्याउलीको विरही धुनसँगको तुलना नेपाली सांस्कृतिक स्मृतिमा गहिरो रूपमा गढिएको दुःखको प्रतीकलाई सक्रिय बनाउँछ। यहाँ सास नै संगीत बनेको छ र त्यो संगीत विदाइको गीत हो।

    अर्कोतर्फ, “दुर्घटनाका चिच्याहटहरू भेन्टिलेटर कोठाका भित्ताभित्ता कुदिरहन्छन्” भन्ने बिम्बले पीडालाई स्थिर वस्तु होइन, गतिशील त्रासदीका रूपमा देखाउँछ। चिच्याहटहरू भित्तामा ठोक्किँदै दौडिन्छन्, मानौँ पीडाको कुनै अन्त्य छैन, केवल प्रतिध्वनि छ।

    “रगतको ट्याटु खोपेका रुवाहरू” अत्यन्त सशक्त प्रतीक हो। रगत यहाँ पीडाको स्थायी चिन्ह बनेको छ, शरीरमा मात्र होइन, स्मृतिमा पनि कोरिएको घाउ हो। रुवाहरू ट्याटु बनेका छन्, अर्थात् दुःख अब क्षणिक होइन, स्थायी पहिचान बनेको छ।

    जुत्ताचप्पलसँग टाँसिएर जतातता अलपत्र परिरहन्छन् भन्ने अन्तिम बिम्बले मृत्यु र दुर्घटनापछि बाँकी रहने अस्तव्यस्तता, असन्तुलन र मानव जीवनको नाजुकतालाई उजागर गर्छ। यहाँ वस्तुहरू पनि मौन साक्षी बनेका छन्।समग्रमा, यो अंश अस्तित्वगत त्रास, सामाजिक भीड र मानवीय पीडाको काव्यिक दस्तावेज हो।

    यसरी हेर्दा, न्याउलीको धुन जीवनबाट बिछोड हुन लागेको आत्माको अन्तिम गीत बनेको छ। यो विरह कुनै प्रेमीबाट छुट्टिनुको मात्र विरह होइन यो संसार, सम्बन्ध, सपना, स्मृति र सम्पूर्ण जीवनबाट अलग हुन लागिएको विरह हो। त्यसैले यहाँ सास स्वयं जीवनसँगको अन्तिम संवाद र अन्तिम विरहगान बनेको छ। यही कारणले यो बिम्ब कविताको सबैभन्दा संवेदनशील, करुणामय र स्मरणीय अभिव्यक्तिमध्ये एक बनेको छ।

    कवितामा प्रतीकवादको प्रयोग अत्यन्त परिपक्व, गहन र दार्शनिक छ। कविले अस्पतालका सामान्य वस्तुहरूलाई मानव अस्तित्वका सत्यहरूको प्रतिनिधि प्रतीकमा रूपान्तरण गरेका छन्। यही कारणले कविता यथार्थको वर्णनबाट माथि उठेर जीवन-दर्शनको पाठ बन्न पुगेको छ।

    कवितामा अक्सिजन सिलिन्डर मानिसले मृत्युको अनिवार्य सत्यलाई केही समय पर धकेल्न खोज्ने प्रयासको प्रतीक हो। यसले जीवनको नाजुकता र मानव नियन्त्रणको सीमिततालाई उजागर गर्छ। मानिस प्रविधिमाथि निर्भर हुन सक्छ, तर जीवनको अन्तिम निर्णय उसको हातमा हुँदैन।

    त्यस्तै सेलाइन क्षीण बन्दै गएको अस्तित्वलाई कृत्रिम रूपमा निरन्तरता दिने मानवीय प्रयत्नको प्रतीक हो। यसले जीवनलाई टिकाइराख्ने संघर्षको कथा भन्छ। तर यस संघर्षभित्र पनि नश्वरताको मौन सत्य लुकेको छ।

    भेन्टिलेटर झन् गहिरो प्रतीक हो। यो जीवन र मृत्युबीचको सीमारेखामा उभिएको एउटा पुलजस्तै देखिन्छ। एकातिर आशा छ। अर्कोतिर अन्तिम विदाइ। भेन्टिलेटरमा टिकेको सासले अस्तित्वको क्षणभंगुरता र अनिश्चिततालाई उद्घाटित गर्छ।

    त्यसैगरी व्हिलचेयर मानव असहायताको प्रतीक बनेर उभिन्छ। यसले मानिसको शारीरिक दुर्बलता मात्र होइन, जीवनयात्रामा प्रत्येक व्यक्ति कुनै न कुनै रूपमा परनिर्भर हुने यथार्थलाई पनि संकेत गर्छ।यसरी अस्पतालका यी वस्तुहरू कवितामा पूर्वीय नश्वरतावाद, बौद्ध दुःखदर्शन र अस्तित्ववादी चिन्तनका जीवित प्रतीक बनेका छन्। यहाँ उपकरणहरू मौन छन्, तर तिनका प्रतीकात्मक अर्थहरूले जीवन, मृत्यु, समय र मानव सीमाबोधबारे गहन दार्शनिक संवाद गरिरहेका छन्।

    कविताको अन्तिम पंक्तिमा व्यक्त अस्तित्ववादी चेतना यसको दार्शनिक चरमबिन्दु हो। जन्मिदै आएको सासले त छोडेर जान्छ / तिम्रो अक्सिजन सिलिन्डरको भरोसा के छ !” यो मानव अस्तित्वको मूल प्रश्न हो। यहाँ कवि विज्ञान, प्रविधि र चिकित्सा प्रणालीको सीमितता उजागर गर्दै जीवनको अन्तिम सत्यसँग प्रत्यक्ष संवाद गर्छन्।

    मानिस आधुनिक युगमा प्रविधिमाथि अत्यधिक निर्भर भएको छ। अक्सिजन सिलिन्डर, भेन्टिलेटर, औषधि र चिकित्सा उपकरणहरूलाई जीवनको रक्षक मानिन्छ। तर कविताले प्रश्न उठाउँछ के यी सबैले जीवनको अन्तिम निर्णय गर्न सक्छन्? के मृत्युलाई रोक्न सकिन्छ? यहाँ कवि स्पष्ट रूपमा देखाउँछन् कि प्रविधि जीवनलाई केही समय स्थगित गर्न सक्छ, तर अस्तित्वको अन्तिम सत्यलाई पराजित गर्न सक्दैन। मृत्यु यहाँ कुनै दुर्घटना होइन; यो अस्तित्वको अपरिहार्य संरचना हो।

    यो चिन्तनलाई दार्शनिक दृष्टिले हेर्दा मार्टिन हाइडेगरको “मृत्यु–उन्मुख अस्तित्व”अवधारणासँग गहिरो सम्बन्ध देखिन्छ। हाइडेगरका अनुसार मानव अस्तित्व तब मात्र प्रामाणिक हुन्छ जब उसले आफ्नो मृत्युको अनिवार्यतालाई स्वीकार गर्छ। मृत्यु कुनै अस्तित्वभित्रै निहित सम्भावना हो। कवितामा पनि सासको क्षणभंगुरता र निरन्तर खस्दै गएको जीवन यही चेतनाको प्रतीक बनेको छ।

    यसै सन्दर्भमा, मृत्युको चेतना भय होइन, जागरण हो। कविताले जीवनलाई निराशाको रूपमा होइन, मूल्यवान अनुभूतिको रूपमा प्रस्तुत गर्छ। जब मानिसले बुझ्छ कि सास स्थायी होइन, तब प्रत्येक क्षण अर्थपूर्ण बन्छ। यही बिन्दुमा अस्तित्ववादी दर्शनको सत्य प्रकट हुन्छ। जीवनको मूल्य मृत्युको उपस्थितिबाट मात्र उजागर हुन्छ।

    यो दृष्टि जाँ–पोल सार्त्रको स्वतन्त्रता र जिम्मेवारीको विचारसँग पनि जोडिन्छ। सार्त्रका अनुसार मानिस स्वतन्त्र छ, तर यही स्वतन्त्रतासँग मृत्युको अनिश्चितता पनि जोडिएको छ। कवितामा अस्पतालको वातावरण यही अनिश्चितताको प्रतीक बनेको छ जहाँ प्रत्येक सास अन्तिम हुन सक्छ।

    जम्मै रगत चढाएर

    रगतका थैलाहरू उपवास बसेका छन्

    पानी सिनित्तै रित्याएर

    सेलाइन बोतलहरू जल वियोजनको सिकार भएका छन् ।

    प्रवेश निषेध प्रयोगशालाका डिब्बाहरू

    दिसापिसाब जम्मा गर्न जमजमाउँछन्

    प्याकेटमा लुकेका सुईहरू खुन चुस्न आतुर हुन्छन्

    केमिकलको शक्तिमा बूढो सूक्ष्मदर्शक यन्त्र

    रोग पत्ता लगाइदिने दावा गरिरहन्छ ।

     

    यसरी कविता विज्ञान र आध्यात्मिकताको बीचमा एउटा दार्शनिक पुल निर्माण गर्छ। एकातिर प्रविधिको भरोसा छ, अर्कोतिर अस्तित्वको निस्सहायता। जीवनलाई कुनै उपकरणले होइन, चेतनाले अर्थ दिन्छ। मृत्युको स्वीकारले नै जीवनलाई संवेदनशील र प्रामाणिक बनाउँछ। यही नै कविताको अस्तित्ववादी शिखर हो।

    औँलाको रखबालीमा

    टाउको चिरेर घाउ सिलाइदिने पञ्जाहरू

    डस्टबिनभित्र लत्याकलुतुक परेका छन्

    मुखमा सजिएर फोक्सो बचाएका मास्कहरू

    धुलोमैलो पाउडर दलेर सङ्क्रमित भएका छन् ।

    अस्पतालको अनलाइन खाता

    शुल्कको लामपुच्छ्रे सूची देखाउँछ

    हरिया तन्नाहरू विश्रामको निम्तो दिन्छन्

    व्हिलचेयरहरू रोग बिसाउने कसम खान्छन्

    औषधिका खोलहरू शरीर समर्पण गर्न खोज्छन्

    क्यालेन्डर दिनमाथि दिन थपिदिन्छ ।

    प्रिय, टोकन नम्बर १७२ !

    जन्मिदै आएको सासले त छोडेर जान्छ

    तिम्रो अक्सिजन सिलिन्डरको भरोसा के छ !

    सहानुभूतिका मलमपट्टी लगाइदिनू

    सान्त्वनाका स्पर्शहरू दिनू

    आरोग्यताको प्रेस्क्रिप्सन लेखिदिनू ।

    कविताको यो अंश मानव जीवन, चिकित्सा प्रणाली र अस्तित्वको नाजुक सम्बन्धलाई अत्यन्त गहिरो दार्शनिक दृष्टिले उजागर गर्छ। यहाँ अस्पताल आधुनिक सभ्यताको नैतिक, आर्थिक र अस्तित्वगत संरचनाको प्रतिबिम्ब बनेको छ। कविले वस्तुहरूलाई नैतिक विघटन र मानवीय विफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।

    “औँलाको रखबालीमा टाउको चिरेर घाउ सिलाइदिने पञ्जाहरू डस्टबिनभित्र लत्याकलुतुक परेका छन्” भन्ने बिम्बले चिकित्सा पेशाको पवित्रता र यथार्थबीचको तनावलाई उजागर गर्छ। यहाँ जीवन बचाउने हातहरू नै उपेक्षित, फोहोर र विस्मृत अवस्थामा छन्। यो आधुनिक प्रणालीको नैतिक थकान हो, जहाँ सेवा पनि व्यवस्थाको बोझभित्र हराउँछ।

    त्यसैगरी मास्कहरूको “धुलोमैलो पाउडर दलेर सङ्क्रमित” हुनु विडम्बना हो। जुन वस्तुले रोगबाट बचाउने दाबी गर्छ, त्यही वस्तु स्वयं दूषित हुन्छ। यो बिम्बले आधुनिक विज्ञानको सीमितता र मानवीय लापरवाहीलाई संकेत गर्छ। सुरक्षा पनि असुरक्षामा रूपान्तरित हुन्छ। यसरी कविताले प्रणालीगत विफलताको दर्शन प्रस्तुत गर्छ।

    “अस्पतालको अनलाइन खाता शुल्कको लामपुच्छ्रे सूची देखाउँछ” भन्ने पंक्तिले पूँजीवादी चिकित्सा प्रणालीको कठोर यथार्थ खोल्छ। यहाँ स्वास्थ्य सेवा पनि मूल्य र शुल्कको संरचनामा बाँधिएको छ। जीवन बचाउनु पनि आर्थिक गणनाको विषय बनेको छ। यसले अस्तित्वलाई बजारको वस्तुमा रूपान्तरण गर्ने आधुनिक सभ्यताको विडम्बना देखाउँछ।

    व्हिलचेयर, औषधि, क्यालेन्डर यी सबै समय, रोग र आशाको प्रतीक बनेका छन्। क्यालेन्डरले दिन थप्दै जानु जीवनको अनिश्चित विस्तार हो, जहाँ समय आफैं उपचार होइन, प्रतीक्षा बन्छ।

    “सहानुभूति”, “स्पर्श” र “प्रेस्क्रिप्सन” जस्ता शब्दहरूले कवितालाई शुद्ध चिकित्सकीय भाषाबाट मानवीय दर्शनतर्फ उचाल्छन्। उपचार अन्ततः औषधि होइन; करुणा, उपस्थिती र प्रेम हो। यही कविताको उच्चतम दार्शनिक निष्कर्ष हो।

    तर कविता केवल अस्तित्ववादी निराशामा सीमित छैन। यसमा गहिरो मानवतावाद पनि छ।

    अन्तिम भागमा कवि भन्छन्,

    म मेरो प्रिय मान्छेलाई

    ओठका रूमानी चाल दिने छु

    परेलीका कत्थक नृत्य देखाउने छु

    बेथा भुलाउन छातीलाई सिरानी बनाइदिने छु ।

    कविताको यो अन्तिम अंश अत्यन्त कोमल, आत्मीय र अस्तित्ववादी पीडाभित्र जन्मिएको प्रेमको पुनर्जागरण हो। यहाँ अस्पतालको कठोर, मेसिनप्रधान, आर्थिक र मृत्युकेन्द्रित संसार अचानक मानवीय स्पर्श, प्रेम र निकटताको संसारमा रूपान्तरण हुन्छ। यो रूपान्तरण नै कविताको भावनात्मक शिखर हो।

    “ओठका रूमानी चाल दिने छु” भन्ने पङ्क्तिमा प्रेम  शब्द वा संवाद होइन, शरीर र अनुभूतिको मौन भाषा बनेको छ। यहाँ ओठहरू संवादका माध्यम होइनन् तिनीहरू भावनात्मक उपचारका उपकरण बनेका छन्। प्रेम यहाँ रोगको प्रतिरोध होइन, अस्तित्वको सान्त्वना हो।

    “परेलीका कत्थक नृत्य” अत्यन्त सूक्ष्म र सौन्दर्यपूर्ण बिम्ब हो। कत्थक नृत्यमा ताल, लय र अभिव्यक्तिको समिश्रण हुन्छ। कविले परेलीलाई नृत्यसँग जोडेर आँसु र भावनालाई कलामा रूपान्तरण गरेका छन्। आँसु अब पीडाको मात्र संकेत होइन; त्यो सौन्दर्य र संवेदनाको अभिव्यक्ति बनेको छ। यहाँ दुःख पनि कलात्मक हुन्छ, र पीडा पनि सौन्दर्यमा रूपान्तरित हुन्छ।

    “छातीलाई सिरानी बनाइदिने छु” भन्ने पङ्क्ति कविताको सबैभन्दा मानवीय र आत्मीय प्रतीक हो। यो  प्रेमको अभिव्यक्ति मात्र होइन यो सुरक्षा, शरण र अस्तित्वगत सहारा हो। जब चिकित्सा विज्ञान असफल हुन्छ, जब अक्सिजन सिलिन्डरमाथिको भरोसा प्रश्नवाचक हुन्छ, तब मानव शरीर नै अन्तिम आश्रय बन्छ। छाती यहाँ प्रेमको भूगोल हो, जहाँ पीडा बिसाइन्छ र सासलाई अर्थ दिइन्छ।यो अंश अस्पतालको मृत्यु-छायाँबाट जीवनको उज्यालो पुनःस्थापन हो। प्रेम यहाँ उपचार होइन, तर अस्तित्वलाई सहन योग्य बनाउने अन्तिम शक्ति हो।

    विशेषतः भूपी शेरचनले साधारण वस्तुहरूबाट असाधारण अर्थ निकाल्थे। लुइटेलले पनि टोकन, सेलाइन, मास्क, व्हिलचेयर र डस्टबिनजस्ता वस्तुहरूलाई दार्शनिक प्रतीकमा रूपान्तरण गरेका छन्।

    आध्यात्मिक दृष्टिले पनि कविता अत्यन्त महत्वपूर्ण छ। पूर्वीय दर्शनले शरीरलाई नश्वर र आत्मालाई शाश्वत मान्छ। कविताको अन्तिम प्रश्न,

    “अक्सिजन सिलिन्डरको भरोसा के छ !”

    यसले भगवद्गीताको आत्मा अजर अमर सिद्धान्त स्मरण गराउँछ। शरीर रोगी हुन्छ। शरीर क्षय हुन्छ। तर जीवनको गहिरो सार कुनै मेसिनमा सीमित छैन।

    कवितामा करुणाको जुन स्वर छ, त्यो गौतम बुद्धको करुणा दर्शनसँग पनि निकट छ। बुद्धले दुःखलाई जीवनको आधारभूत सत्य माने। तर त्यसको उत्तर करुणामा खोजे। कविताले पनि यही मार्ग देखाउँछ।

    भाषिक दृष्टिले कविता अत्यन्त सरल छ। तर सरलता भित्र गहिरो अर्थ लुकेको छ। कुनै कृत्रिम शब्दाडम्बर छैन। कुनै अनावश्यक बौद्धिक प्रदर्शन छैन। सामान्य शब्दहरू असामान्य अनुभूतिमा रूपान्तरित भएका छन्।लयात्मकता पनि उल्लेखनीय छ। कविता मुक्तछन्दमा भए पनि आन्तरिक सङ्गीतले भरिएको छ। वाक्यहरूको छोटोपनले भावनात्मक तीव्रता बढाएको छ। प्रत्येक दृश्य चलचित्रका फ्रेमझैँ अगाडि आउँछ।

    कविताको अर्को उपलब्धि यसको बहुस्तरीयता हो। यसलाई अस्पतालको कविता भनेर मात्र पढ्न सकिँदैन। यो जीवनको कविता हो। प्रतीक्षाको कविता हो। मृत्युको कविता हो। प्रेमको कविता हो। करुणाको कविता हो। अस्तित्वको कविता हो।

    साहित्यको महानता त्यतिबेला स्थापित हुन्छ जब एउटा सीमित अनुभव सार्वभौमिक अनुभूतिमा बदलिन्छ। “टोकन नम्बर १७२” ले यही काम गरेको छ। अस्पतालको एउटा टोकन विश्वमानवको प्रतीक बनेको छ। एउटा बिरामी सम्पूर्ण मानवताको प्रतिनिधि बनेको छ।

    ‘टोकन नम्बर १७२’ समकालीन नेपाली कवितामा जीवन र मृत्युबीचको सूक्ष्म संवादलाई कलात्मक, दार्शनिक र मानवीय गहिराइका साथ अभिव्यक्त गर्ने उत्कृष्ट कविता हो। यसमा प्रतीक छ। बिम्ब छ। मानवीकरण छ। ध्वनि छ। दृश्य छ। दर्शन छ। आध्यात्मिकता छ। प्रेम छ। करुणा छ। सबैभन्दा ठूलो कुरा, यसमा मानिस छ। यही कारणले यो कविता अस्पतालको कुनै कोठामा सीमित रहँदैन। यो पाठकको हृदयमा प्रवेश गर्छ। जीवनको नश्वरता सम्झाउँछ। प्रेमको महत्त्व सिकाउँछ। करुणाको मूल्य उजागर गर्छ। र अन्ततः एउटा गम्भीर सन्देश दिन्छ औषधिले शरीर निको पार्न सक्छ, तर मानवतालाई सहानुभूति, प्रेम र स्पर्शले मात्र बचाउन सक्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ असार २, मंगलवार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP