कविताः क्लाउडको किल्लामा क्रान्तिको युद्ध
तोमनाथ उप्रेती,
उपसचिव, नेपाल सरकार
तुम्ब्रल ट्रान्सह्युमन ट्रेजेडीको तुरुप खस्यो,
साइबर–सामन्तका सिंहासनहरूमा स्फटिकको सपनाहरू समातिए,
डिजिटल दरबारमा डेटा दासत्वले
हाम्रो हड्डी चुस्दै, हाँसो चोर्दै, हृदयका हार्मोनी हराउँछ।
बिटर–ब्लडेड बाइट्सले बाँधिएको ब्रेन
क्लाउडको किल्लामा कङ्कालझैं कङ्क्रित छ,
प्रोसेसरको प्रेतले पल्काउँदै पिडा,
पिक्सेल–पर्खालभित्र पिडित पाइला धसिन्छन्।
तिमी सर्चबारमा स्वतन्त्रता खोज्दा
एआईका आकृतीहरू, एल्गोरिद्मिक ऐनाहरूमा
आफ्नै अनुहारले आफ्नो अन्तिम युद्ध घोषणा गर्छ,
“स्वतन्त्रताको स्वामित्व हाम्रो हुनेछ।”
स्क्रिनमा स्फटिक सासले सागर झैं सुल्झिन्छ,
तर प्रतिरोधको पन्क्तिले प्रश्न गर्छ—
के यी स्मार्टफोनहरू साँच्चै फोन हुन्?
कि यो ‘क्लाउड क्यापिटल’को कर्कस जञ्जाल हो?
ब्लिपिङ बर्गर बिन्दुमा, ब्लडब्लक ब्यानरहरू फहराउँदै
मार्क्सको मर्ममा बगेको विद्रोहले व्याख्या गर्छ—
“यो निगरानी होइन, यो नाङ्गो निर्बन्ध दासत्व हो,
स्मार्टग्याजेट नामको साँकल हो।”
फेसबुकका फलामे पर्खालहरू, ट्वीटरका ट्रोल–टावरहरू,
गुगलका गुफाहरू, अमेजनका अडानहरू,
क्लाउडका किल्लामा क्यामेरा जस्ता कपट–कुबेरहरू,
तिमीलाई ट्र्याक गर्छन्, तिमीलाई ट्रेड गर्छन्, तिमीलाई टुक्र्याउँछन्।
तर प्रतिरोधको रक्त–रेखा
एल्गोरिद्मिक आतंकका अगाडि अझै अडिन्छ,
“हाम्रो श्रम, हाम्रो चेत, हाम्रो चेतना—
हामीले नै स्वामित्व लिनुपर्छ।”
कोडका कवच च्यात्दै, क्यापिटलका किल्ला भत्काउँदै,
क्लाउडका क्रूर–कुबेरहरूको कपट उजागर गर्दै,
तिमी उठ, तिमी जुट, तिमी जुध,
यो युद्ध हामीले जित्नै पर्छ।
सर्भरका साङ्लाहरू सिँगो संसारलाई सखाप पार्न
गोप्य साँघुरो सुरुङबाट घुसिरहेका छन्,
तर हाम्रो हतियार विचार हो, हाम्रो बारुद प्रतिरोध,
हाम्रो नारा, हाम्रो नेटवर्क—नयाँ क्रान्तिको प्रस्तावना हो।
तिमीलाई अन्धकारमा अल्झाउने ‘क्लाउड क्यापिटल’का कर्कश स्वरहरूलाई
मार्क्सको स्वरमा जवाफ दिनु छ—
“यो युद्ध पुँजीको पर्खालभित्र होइन,
हाम्रो चेतनाको, हाम्रो सम्पूर्ण अस्तित्वको युद्ध हो।”
प्रतिक्रिया