राजबिराज। सप्तरीस्थित कोशी पश्चिमी नहर भएर दैनिकरूपमा पाँच हजारभन्दा बढी नागरिकको आवतजावत हुने भएपनि नहरको सडक निर्माण नहुँदा स्थानीयलाई सास्ती छ । तीन पुस्तादेखि नहर सडकमा कालोपत्रे गर्न सरकारको ध्यान नपुग्दा समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ।
यता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सीके राउतले कोशी पश्चिम नहरअन्तर्गतको सर्भिस रोड मर्मत तथा पुनर्निर्माणका लागि भारत सरकारसँग पत्राचार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई सिफारिस गर्न अनुरोध गरेका छन्।
ऊर्जा मन्त्रालयलाई गत ५ बैशाखमा पठाइएको पत्रमा सप्तरी निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका अध्यक्ष डा. राउतले सप्तरी जिल्लाको कोशी नदी अन्तर्गत भारत सरकारको कोशी परियोजनाअन्तर्गत निर्माण भएको पश्चिम नहरको सर्भिस रोड पूर्ण रूपमा जीर्ण भइसकेको उल्लेख गरेका छन्।
उनका अनुसार सडक जीर्ण हुँदा सर्वसाधारणको आवतजावतमा कठिनाइ हुनुका साथै बालुवा र धूलोको कारण हावाहुरी चलेर स्थानीय बासिन्दा प्रभावित भएका छन्। यसले जनजीवनमा गम्भीर असर पारिरहेको भन्दै उनले सडकको तत्काल मर्मत तथा पुनर्निर्माण आवश्यक रहेको जनाएका छन्।
“सप्तरीको कोशी पश्चिम-नहरको सर्भिस रोडको अवस्थाबारे आज संचारमाध्यमा आएको समाचारप्रती ध्यानाकर्षण भएको छ,” डा. राउतले भनेका छन्, “यसको मरम्मत तथा पुनर्निर्माणका लागि भारत सरकारलाई सिफारिस गरिदिन ऊर्जा मन्त्रालयमा वैशाख ५ गते पत्र दर्ता गराइएको छ। प्राप्त जानकारीअनुसार सिफारिसको प्रक्रिया मन्त्रालयमा अगाडि बढिरहेको छ।”
डा. राउतले सम्बन्धित सडक खण्ड भारत सरकारकै कोशी परियोजनाअन्तर्गत पर्ने भएकाले नेपाल सरकारमार्फत औपचारिक पहल आवश्यक रहेको बताएका छन्। उनले सडक मर्मतका लागि यथाशीघ्र भारत सरकारसँग समन्वय गर्न आग्रह गरेका छन्।
सप्तरी सदरमुकाम राजविराजदेखि दक्षिण र पश्चिमतर्फको ग्रामिण क्षेत्रमा सडकको यस्तो समस्या हो । १२ वैशाख २०११ सालमा भारत र नेपालबीच भएको कोसी सम्झौता बमोजिम सप्तरीमा ३५ किलोमिटर लम्बाई भएको कोसी पश्चिमी नहर निर्माण भयो र सोही नहरबाट आउजाउ पनि सुरू भयो ।
कूल नहरमध्ये राजविराजदेखि पश्चिम १७ किलोमिटरको क्षेत्र राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिका विकट क्षेत्रमा पर्दछ । हटैल, तरही, कुशाह, लक्ष्मीपुर, भुतही, फतेपुर, कटैया सहितका क्षेत्रमा अहिलेसम्म कालोपत्रै सडक नहुँदा बिरामीलाई अस्पताल पुर्याउनुदेखि सबै खालको समस्या भोग्नुपरेको स्थानीयको दुखेसो छ।
प्रतिक्रिया