बोदेबरसाईन।सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमा जेठ २३ गते राति भएको डाका तथा हत्या घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
५० वर्षीय कन्तलाल चौधरीको घरमा डाँका समूहले लुटपाट गर्दै गोली हानेर हत्या गरेका थिए भने उनका ४८ वर्षीय भाई रामाकान्त चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो।
इलाका प्रहरी कार्यालय कडरबोना सप्तरी कार्यालय प्रमुख प्रहरी निरीक्षक गजेन्द्र राय सहितको प्रहरी अधिकृतहरू घटना संलग्न दोषी पत्तालगाउन अनुसन्धानमा खटिएका थिए।
घटनामा संलग्न रहेको आरोपमा सुरुङ्गा–८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय संजय मरिक, सुरुङ्गा–७ का ३३ वर्षीय राजु बिक, बोडेबरसाइन–२ का २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका–११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका–८ का २४ वर्षीय दिपक मरिक, उदयपुर बेलका नगरपालिका–१ का २८ वर्षीय चन्दर मरिक, सिरहा लहान नगरपालिका–६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान–८ का ३८ वर्षीय उमेश साह सोनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट नगद, सुनचाँदीका गरगहना, दुई राउन्ड गोलीसहित एकथान कटुवा पेस्तोल बरामद भएको छ। आज पत्रकार सम्मेलन गरी सप्तरी प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो।
घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न सप्तरी प्रहरीले विभिन्न टिम बनाएर थालेकाे विशेष अनुसन्धानले अहिलेकाे नतिजा ल्याउन सप्तरी प्रहरी सफल भएकाे एसपी गाैतम केसी बताए ।
पत्रकार सम्मेलनमा मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमाप्रसाद चतुर्वेदीले प्रदेशमा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी अझ कडाइका साथ परिचालित हुने जानकारी दिए। संगै डीआईजी चतुर्वेदीले सफल अनुसन्धान गरि हत्यारा पक्राउ गरेकोमा धन्यवाद दिए ।
प्रतिक्रिया