हाइकुहरू
तोमनाथ उप्रेती
१)
धुवाँको आकाश
हर्मुजमा तरङ्ग उठ्छ
शान्ति टाढिँदै।
२)
तेलको बस्ती
डरले ढाकिएको रात
घडी रोकिएको।
३)
डुङ्गा छायामा
समुद्रको निलो छाती
आगोको चिन्ह।
४)
क्षेप्यास्त्र उड्छ
बादल चिर्दै जान्छ समय
मानव काँप्छन्।
५)
वार्ता टेबल
शब्दहरू थाक्दै छन् आज
विश्व मौन छ।
६)
आँसुको नक्सा
सीमाना पार गर्दै बग्छ
युद्धको नदी।
७)
हेलिकप्टर घुम्छ
हावामा डरको संकेत
जीवन खोज्दै।
८)
शहर अँध्यारो
बत्तीभन्दा ठूलो छ छाया
भविष्य हरायो।
९)
डुङ्गा हराए
समुद्रले केही बोल्दैन
लहर साक्षी।
१०)
क्षतिग्रस्त तट
मान्छे र धुवाँ मिसिएको
नाम खोजिरहे।
११)
विद्यालय बन्द
पुस्तकहरू मौन बसे
बाल्यकाल रोयो।
१२)
राजनीतिक स्वर
अर्थ बदलिँदै गएको
सत्य अस्पष्ट।
१३)
हावा भारी छ
समाचारले थिचिएको
मन थकित छ।
१४)
ओमानको रात
घाइते सडक बोल्दैन
चन्द्र उदास छ।
१५)
फुजैराहको आगो
ऊर्जा र डर सँगै जले
धातु रोइरहे।
१६)
समुद्री बाटो
अब नक्सामा काँडा झैं
यात्रा डराउँछ।
१७)
सन्देशहरू टुटे
फोनमा मौन उत्तर मात्र
दूरी बढ्दै छ।
१८)
सैनिक छायाँमा
निर्णयहरू भारी छन्
मानव हराउँदै।
१९)
विश्वको सास
हर्मुजमा अड्किएको छ
शान्ति पर्खिँदै।
२०)
रातपछि बिहान
तर उज्यालो अनिश्चित
आशा बाँकी छ।
प्रतिक्रिया