logo
  • २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • टिस्टाको तीर, कञ्चनजङ्घाको छायाँ: कालिम्पोङको आध्यात्मिक यात्रा

    टिस्टाको तीर, कञ्चनजङ्घाको छायाँ: कालिम्पोङको आध्यात्मिक यात्रा

    टिस्टाको तीर, कञ्चनजङ्घाको छायाँ: कालिम्पोङको आध्यात्मिक यात्रा

    तोमनाथ उप्रेती

     

    बिहान अझै पूर्ण रूपमा जागेको थिएन। पूर्वी क्षितिजमा सूर्यले सुनौलो अनुमान पठाएको थियो। बिराटनगर निद्राको अन्तिम तहमा थियो। सडकहरू चुप थिए। हावाले रातको चिसोपन बोकेको थियो। मैले झोला काँधमा राखेँ। यात्रा दूरी पार गर्ने कर्म होइन भन्ने कुरा म धेरै अघिदेखि जान्दथेँ। प्रत्येक यात्रा वास्तवमा आत्माले आफैँलाई पढ्ने अर्को अध्याय हो। मानिस कहिलेकाहीँ पहाड हेर्न निस्कन्छ। तर फर्कँदा थाहा पाउँछ, उसले आफ्नै उचाइ देखेर आएको रहेछ।

    बिराटनगर पछाडि सर्यो। सहरका घरहरू क्रमशः स्मृतिमा रूपान्तरण हुन थाले। अगाडि खुला आकाश थियो। सडक कालो नदीजस्तो बगिरहेको थियो। गाडीका पाङ्ग्राहरू समयका चक्रझैँ घुमिरहेका थिए। प्रत्येक घुमाइले एउटा पुरानो विचारलाई पछाडि छोड्दै नयाँ अनुभूतितर्फ धकेलिरहेको थियो। जीवन पनि यस्तै हुँदो रहेछ। हामी सोच्दछौँ हामी सडकमा छौँ। वास्तवमा सडक नै हामीभित्र यात्रा गरिरहेको हुन्छ।

    रङ्गेली आइपुग्दा बिहानले पृथ्वीलाई पूर्ण रूपमा अँगालेको थियो। खेतहरूमा हरियो सागर लहराइरहेको थियो। धानका बिरुवाहरू हावासँग मन्त्रजस्तो संवाद गरिरहेका थिए। किसानहरूको मौन श्रम कुनै उपनिषद् भन्दा कम लागेन। उनीहरू पसिनाले दर्शन लेखिरहेका थिए। सूर्यका किरणहरू प्रत्येक थोपामा आरतीको ज्योति बनेर झर्दै थिए। मैले महसुस गरेँ, श्रमभन्दा ठूलो कुनै पूजा हुँदैन। मन्दिरको घण्टीले मात्र ईश्वर बोलाउँदैन। हलोले कोरेको माटोले पनि परमात्मालाई आमन्त्रण गरिरहेको हुन्छ।

    गौरीगञ्जतिर बढ्दै गर्दा सीमाको अनुभूति नजिकिँदै गयो। मानिसहरूले बनाएका रेखाहरू नक्सामा देखिन्छन्। नदीले ती मान्दैन। बादलले ती चिन्दैन। चराले ती सम्झँदैन। प्रकृतिको नागरिकता सधैँ असीमित हुन्छ। सीमाहरू राजनीतिक हुन्छन्। आत्मा भने सदैव विश्वमानव हुन्छ। यही सोचले मेरो मन शान्त बनायो। संसारमा सबैभन्दा ठूलो देश सम्भवतः चेतना हो।

    बिर्तामोडको चहलपहलले यात्रालाई नयाँ लय दियो। बजारहरू जागिसकेका थिए। पसलका ढोकाहरू खुलिरहेका थिए। मानिसहरू आफ्नाआफ्ना दिन बोकेर हिँडिरहेका थिए। प्रत्येक अनुहार एउटा अधुरो कथा थियो। प्रत्येक आँखामा एउटा नबोलिएको सपना। यात्रुले सबै कथा सुन्न सक्दैन। तर मौनताले धेरै कुरा पढ्न सक्छ।

    काँकडभिट्टा पुग्दा सीमाको औपचारिकता सुरु भयो। कागजहरू हेरिए। परिचयहरू प्रमाणित भए। तर मनले एउटा प्रश्न गरिरह्यो। यदि आत्माको यात्रा हो भने उसलाई कसले रोक्न सक्छ? शरीर सीमा पार गर्न अनुमति खोज्छ। चेतना कहिल्यै रोकिँदैन। मानिसको साँचो पासपोर्ट उसको सद्भाव हो। असल कर्मभन्दा बलियो कुनै भिसा हुँदैन।

    भारततर्फ पाइला टेकेपछि भूगोल फेरियो। तर आकाश उही थियो। हावाको सुगन्ध उस्तै। सूर्यको ताप समान। त्यस क्षण मैले बुझें, राष्ट्र फरक हुन सक्छन्। तर प्रकृतिको संविधान एउटै हुन्छ। पृथ्वीले कहिल्यै विभाजन स्वीकार गरेकी छैन। विभाजन त मानिसको मानसिक नक्सामा मात्र हुन्छ।

    सिलिगुडी विशाल प्रवेशद्वारझैँ लाग्यो। यहाँ मैदानले पहाडलाई स्वागत गरिरहेको थियो। व्यापार, यातायात र संस्कृतिका अनगिन्ती धागाहरू यहीँ आएर गाँसिएका थिए। मानिसहरूको भीड नदीको भेलझैँ निरन्तर बगिरहेको थियो। यहाँ समय अलि छिटो दौडिन्थ्यो। तर मैले आफ्नो गति ढिलो राखेँ। यात्रा छिटो सक्नुभन्दा गहिरो अनुभव गर्नु ठूलो कुरा हो।

    सिलिगुडीको समथर भूमिलाई पछाडि छोड्दै गाडी बिस्तारै पहाडतिर उक्लिन थाल्यो। सडक अब केवल यात्रा गर्ने मार्ग थिएन; त्यो त जीवनका अनगिन्ती अध्यायहरू खोल्ने मौन ग्रन्थ बनिसकेको थियो। पहिलो घुम्ती आयो। त्यसपछि अर्को। अनि फेरि अर्को। प्रत्येक मोडले एउटा नयाँ दृश्य मात्र देखाएन, एउटा नयाँ प्रश्न पनि जन्मायो। किन जीवन कहिल्यै सिधा हुँदैन? किन सबैभन्दा सुन्दर गन्तव्यसम्म पुग्ने बाटो सधैँ घुमाउरो हुन्छ?

    तल टिस्टा नदी हरियो रजतधाराजस्तै बगिरहेकी थिई। माथि बादलहरू पहाडका काँधमा सेता ध्यानवस्त्र ओढाएर बसिरहेका थिए। देवदारुका रूखहरू मौन साधकझैँ आकाशतिर उभिएका थिए। हावाले तिनका पातहरूमा अदृश्य मन्त्रहरू उच्चारण गरिरहेको थियो। गाडीको प्रत्येक मोडसँगै मनभित्रका अनेकौँ भ्रम पनि विस्तारै खुल्दै गए। मैले महसुस गरेँ—सीधा बाटोले गन्तव्य चाँडै भेटाइदिन्छ, तर घुमाउरो बाटोले धैर्य, सहिष्णुता र प्रतीक्षाको अर्थ सिकाउँछ।

    पहाडले आफ्नै मौन भाषामा एउटा गहिरो सत्य सुनाइरहेको थियो। उचाइ कहिल्यै हतारले प्राप्त हुँदैन। प्रत्येक आरोहणले थकान माग्छ। प्रत्येक शिखरले विनम्रता खोज्छ। जो मानिस कठिन मोडहरूसँग डराउँदैन, उसैले क्षितिजको विस्तृत सौन्दर्य देख्न पाउँछ। त्यस क्षण मलाई लाग्यो, जीवनका जटिल घुम्तीहरू वास्तवमा बाधा होइनन्; ती त आत्मालाई परिष्कृत गर्ने आध्यात्मिक विद्यालय हुन्। पहाड उक्लँदै गर्दा मैले केवल उचाइ बढाइरहेको थिइनँ, आफ्नै चेतनालाई पनि क्रमशः विस्तारित गरिरहेको थिएँ।

    टिस्टा नदी अचानक तल चम्किई।  हरियो जलले चट्टानहरूलाई आलिङ्गन गरिरहेको थियो। उसको प्रवाह अनन्त थियो। मैले नदीलाई धेरै बेर हेरेँ। नदीले आफ्नो पानी कहिल्यै रोक्दिन। त्यसैले ऊ कहिल्यै कुहिँदैन। मानिस पनि आफ्नो करुणा, ज्ञान र प्रेम बगाइरह्यो भने मात्र जीवन ताजा रहन्छ। सञ्चयले कहिलेकाहीँ दुर्गन्ध जन्माउँछ। प्रवाहले सदैव पवित्रता ल्याउँछ।नदीको गर्जन कुनै हिंसा थिएन। त्यो त अस्तित्वको घोषणा थियो। चट्टानहरू उसको मार्गमा थिए। तर उसले तिनलाई शत्रु मानेन। उसले तिनकै बीचबाट बाटो बनायो। यही नै कर्मयोगको शिक्षा हो। अवरोधहरू हटाउनुपर्दैन। तिनलाई पार गर्ने बुद्धि चाहिन्छ।

    पहाडहरू क्रमशः अग्लिँदै गए। हावामा चियाको कोमल सुगन्ध मिसिन थाल्यो। जंगलका रूखहरूले हरियो प्रार्थना गरिरहेका थिए। कुहिरोले आकाशलाई ध्यानको वस्त्र ओढाइदिएको थियो। प्रत्येक पातमा मौनता झुन्डिएको थियो। शहरमा मौन दुर्लभ हुन्छ। जंगलमा मौन नै भाषा हुन्छ।

    दार्जिलिङ नजिकिँदै गर्दा हिमाली सभ्यताको अनुहार खुल्दै गयो। पुराना भवनहरू। साँघुरा सडकहरू। चियाबारीका हरिया तरङ्गहरू। टाढा क्षितिजमा उभिएको कञ्चनजङ्घाको हिममुकुट। त्यो दृश्य हेर्दा मन स्वतः नतमस्तक भयो। उनीहरू धैर्यका मूर्तिहरू हुन्। हजारौँ वर्षदेखि उभिएर उनीहरूले समयलाई ध्यान गरिरहेका छन्।

    दार्जिलिङले मलाई एउटा सत्य सम्झायो। प्रसिद्धि र शान्ति सधैँ एउटै ठाउँमा बस्दैनन्। पर्यटकहरूको भीडबीच पनि केही कुनाहरूमा यति गहिरो मौनता थियो कि आफ्नै मुटुको धड्कन सुनिन्थ्यो। मानिस बाहिरको आवाजबाट भागेर यहाँ आउँछ। तर अन्ततः उसले आफ्नै भित्रको कोलाहलसँग भेट्नुपर्छ।

    दार्जिलिङपछि बाटो फेरि मोडियो। यात्रा अझ अन्तरङ्ग बन्यो। देवदारुका रूखहरू आकाशतर्फ प्रार्थना गरिरहेका सन्यासीझैँ देखिन्थे। चराहरूको स्वर कुनै वैदिक ऋचाजस्तो लाग्थ्यो। हावा मन्दिरको धूप बनेर बगिरहेको थियो। सूर्यको प्रकाश पातहरूबाट छिर्दा पृथ्वीमा सुनका अक्षरहरू लेखिएको भान हुन्थ्यो।

    कालिम्पोङको पहिलो दृश्य आँखामा पर्यो। पहाडको काखमा बसेको शान्त नगर। टिस्टा नदीलाई माथिबाट हेरिरहेको। बादलसँग मित्रता गरेको। इतिहासलाई मौन रूपमा बोकेको। त्यो नगर कुनै सहरजस्तो मात्र लागेन। त्यो एउटा ध्यानस्थ ऋषिजस्तो लाग्यो।कालिम्पोङका सडकहरू साँघुरा थिए। तर दृष्टि विशाल। यहाँका पुराना औपनिवेशिक भवनहरू समयका मौन साक्षी थिए। ढुङ्गाका पर्खालहरूले धेरै पुस्ताका पाइला सम्झिरहेका थिए। हरेक झ्यालले इतिहासतर्फ हेरेको थियो। हरेक ढोकाले समयलाई स्वागत गरेको थियो।

    डेलो पहाडतिर उक्लिँदा हावा झन् शुद्ध हुँदै गयो। माथिबाट हेर्दा टिस्टा नदी रिबनझैँ तल फैलिएको देखिन्थ्यो। पहाडहरू तरङ्गित समुद्रझैँ एकपछि अर्को फैलिएका थिए। क्षितिजमा कञ्चनजङ्घा दिव्य ज्योतिजस्तो उभिएको थियो। त्यो दृश्य कुनै चित्रकारको क्यानभास थिएन। त्यो ब्रह्माण्डले आफ्नै हस्ताक्षर गरेको कृति थियो।

    कालिम्पोङ पुग्नुअघि टिस्टा नदीको हरित नील जलराशिले यात्रुलाई गहिरो आत्मसंवादमा डुबाउँछ। हिमालको काखबाट जन्मिएकी टिस्टा निरन्तर बगिरहेकी छे। उसले कुनै अवरोधसँग युद्ध गर्दिन। चट्टानहरूलाई तोड्ने होइन, तिनकै बीचबाट आफ्नो मार्ग बनाउँछे। यही प्रवाहमा जीवनको शाश्वत दर्शन लुकेको छ। मानिसले पनि संघर्षलाई नष्ट गरेर होइन, स्वीकार र विवेकका साथ रूपान्तरण गर्दै अगाडि बढ्नुपर्छ। टिस्टाको कलकल ध्वनि प्रकृतिको मौन उपदेश हो, जसले परिवर्तनलाई जीवनको अनिवार्य धर्मका रूपमा स्वीकार गर्न सिकाउँछ।

    कालिम्पोङको डेलो पहाडबाट टिस्टाको  उपत्यका र क्षितिजमा उभिएको कञ्चनजङ्घा अवलोकन गर्दा मन स्वतः विनम्र बन्छ। संसारको तेस्रो सर्वोच्च हिमशिखर कञ्चनजङ्घा हिमराशिको थुप्रो होइन। त्यो धैर्य, स्थिरता र मौन प्रज्ञाको जीवित प्रतीक हो। हजारौँ वर्षदेखि समयका असंख्य परिवर्तनहरू देख्दै उभिएको हिमालले मानिसलाई सिकाउँछ कि वास्तविक महानता प्रदर्शनमा होइन, स्थिर चरित्रमा हुन्छ। उचाइले अहङ्कार बढाउँदैन; साँचो उचाइले विनम्रता जन्माउँछ।

    कालिम्पोङका बौद्ध गुम्बाहरू, हावामा फर्फराइरहेका प्रार्थनाध्वजाहरू, घुमिरहेका प्रार्थनाचक्रहरू र ध्यानमग्न वातावरणले यात्रालाई अनन्दित तुल्याएको छ। यहाँ मौनता नै भाषा बन्छ। प्रार्थना शब्दभन्दा माथिको अनुभूति बनेर फैलिन्छ। यहाँ बुझिन्छ कि धर्म कुनै भवनभित्र सीमित विषय होइन, धर्म त करुणा, सहअस्तित्व र आत्मशुद्धिको निरन्तर अभ्यास हो। प्रार्थना बाहिरको देवतालाई होइन, भित्रको चेतनालाई जागृत गर्ने साधना हो।

    डेलोको शिखरमा उभिँदा मलाई लाग्यो, उचाइले मानिसलाई ठूलो बनाउँदैन। उचाइले उसको अहंकार सानो बनाइदिन्छ। तल फैलिएको संसारलाई हेर्दा आफ्ना चिन्ताहरू कति साना रहेछन् भन्ने थाहा हुन्छ। पर्वतको सबैभन्दा ठूलो शिक्षा यही हो। विनम्रता।

    डुर्पिन पहाडको बौद्ध गुम्बामा प्रवेश गर्दा घण्टीको ध्वनि हावामा फैलियो। प्रार्थना झण्डाहरू हावासँग मन्त्र उडाइरहेका थिए। प्रत्येक रङ्गले एउटा भावना बोकेको थियो। प्रत्येक घुमिरहेको प्रार्थना चक्रले समयलाई करुणामा रूपान्तरण गरिरहेको थियो। बुद्धका मौन नेत्रहरूमा संसारको सम्पूर्ण करुणा विश्राम गरिरहेको थियो।त्यहाँ राखिएका प्राचीन तिब्बती ग्रन्थहरू सभ्यताको स्मृति थिए। निर्वासनको पीडा थिए। विश्वासको विजय थिए। पुस्तकहरू कागजमा मात्र लेखिँदैनन्। कहिलेकाहीँ इतिहास आँसुले पनि लेखिन्छ।

    म गुम्बाको आँगनमा धेरैबेर बसिरहेँ। हावाले प्रार्थना झण्डा हल्लाइरहेको थियो। मलाई लाग्यो, प्रत्येक कम्पन एउटा अदृश्य मन्त्र हो। शब्दहरू उच्चारण नगरे पनि ब्रह्माण्डले मनको भाषा बुझ्दोरहेछ। प्रार्थना आवाज होइन। प्रार्थना चेतनाको दिशा हो।कालिम्पोङका अर्किडहरूले अर्को संसार देखाए। फूलहरू मौन संगीत थिए। रङ्गहरू  प्रकाशका भाव हुन्। प्रकृतिले कुनै विद्यालय नगई यस्तो अनुपम कला कसरी सिक्यो होला भन्ने प्रश्न मनमा उठ्यो। उत्तर फेरि मौनतामै हरायो।

    स्थानीय मानिसहरूसँग कुरा गर्दा इतिहास बिस्तारै खुल्दै गयो। तिब्बतसँगको पुरानो व्यापार। नाथुला र जेलेपला हुँदै गुड्ने कारवाँ ऊन, नुन, अन्न, घोडा, प्रार्थना, संस्कृतिहरू सबै यही बाटो भएर बगेका रहेछन्। सडकहरू कहिल्यै सभ्यताका धमनी हुन्।समय बदलियो। सीमाहरू फेरिए। युद्ध आयो। व्यापार रोकियो। अर्थतन्त्र बदलियो। तर पहाड बदलिएन। टिस्टा रोकिइन। बादल थाकेन। प्रकृतिले मलाई सिकाइरही। परिवर्तन अनिवार्य छ। तर अस्तित्वको मूल लय शाश्वत हुन्छ।

    साँझ बिस्तारै झर्दै गयो। कालिम्पोङ सुनौलो प्रकाशले नुहायो। घरका झ्यालहरूमा बत्तीहरू ताराजस्ता बल्न थाले। आकाश र पृथ्वीबीच प्रकाशको संवाद सुरु भयो। त्यो दृश्य हेर्दा लाग्यो, मानिसले अन्धकार हटाउन सूर्य बन्नुपर्दैन। एउटा सानो दीपक पनि पर्याप्त हुन्छ।

    रात परिसकेको थियो। आकाशमा असंख्य ताराहरू थिए। पहाडहरू कालो ध्यानमा उभिएका थिए। हावाले देवदारुका पातहरूमा अदृश्य वीणा बजाइरहेको थियो। मैले आँखा बन्द गरेँ। यात्रा पूरा भएको थिएन। किनकि बाहिरी यात्रा सकिए पनि भित्री यात्रा अझै जारी थियो।त्यस रात मैले एउटा अनुभूति लिएर निदाएँ। बिराटनगरदेखि रङ्गेली, गौरीगञ्ज, बिर्तामोड, काँकडभिट्टा, सिलिगुडी, दार्जिलिङ हुँदै कालिम्पोङसम्मको यो यात्रा वास्तवमा  चेतनाको आरोहण थियो। मैले पहाड मात्र देखिनँ। धैर्य देखेँ। नदी मात्र सुनिनँ। प्रवाहको धर्म सुनेँ। गुम्बा मात्र घुमिनँ। मौनताको उपनिषद् पढेँ। फूल मात्र हेरेनँ। सृष्टिको सूक्ष्म सौन्दर्य छामेँ। अन्ततः मैले बुझेँ संसारका सबै यात्राहरू कुनै न कुनै दिन एउटा गन्तव्यमा पुगेर टुङ्गिन्छन्। तर आत्माको यात्रा कहिल्यै समाप्त हुँदैन। प्रत्येक क्षितिजपछि अर्को क्षितिज हुन्छ। प्रत्येक पर्वतपछाडि अर्को आकाश। र प्रत्येक यात्रापछाडि अर्को गहिरो मनुष्य जन्मिरहन्छ।

    यात्रा चेतनाको विस्तार हो। आत्माले आफूलाई नयाँ दृष्टिबाट चिन्ने अवसर हो। बिराटनगरबाट रङ्गेली, गौरीगञ्ज, बिर्तामोड, काँकडभिट्टा, सिलिगुडी र दार्जिलिङ हुँदै कालिम्पोङतर्फ उकालो लाग्दा सडक मात्र बदलिँदैन, मनका आयाम पनि विस्तार हुन थाल्छन्। समथर तराईका फाँटहरू क्रमशः हिमाली भिरालोपनमा रूपान्तरण हुन्छन्। प्रकृतिको यही रूपान्तरणले मानिसभित्र लुकेको मौन यात्रुलाई पनि जागृत गरिदिन्छ।

    कालिम्पोङको यात्रा  हिमाल, नदी र वनस्पतिको दृश्यावलोकनभन्दा धेरै ठूलो अनुभूति बन्छ। टिस्टाको प्रवाहले कर्मयोग सिकाउँछ। कञ्चनजङ्घाले धैर्यको उपदेश दिन्छ। कुहिरोले अनिश्चिततालाई स्वीकार गर्न प्रेरित गर्छ। देवदारुका वनले मौनताको शक्ति सम्झाउँछन्। यहाँ आइपुग्दा यात्रुले थाहा पाउँछ कि पृथ्वीका सबै सुन्दर गन्तव्यहरू अन्ततः आत्माको भित्री यात्राका प्रतीक मात्र हुन्। कालिम्पोङले सिकाउने सत्य यही हो मानिसले संसार जित्नुभन्दा पहिले आफ्नै मनलाई उज्यालो बनाउनुपर्छ। जब अन्तर्मन शान्त हुन्छ, तब टिस्टाको प्रत्येक छाल, कञ्चनजङ्घाको प्रत्येक हिमरेखा र हावाको प्रत्येक स्पर्शमा दिव्य चेतनाको अनुभूति हुन थाल्छ। त्यसपछि यात्रा समाप्त हुँदैन; त्यहीँबाट आत्मबोधको वास्तविक यात्रा आरम्भ हुन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र ५, शुक्रबार २०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP