अन्धकारभित्रको उज्यालो खोजी
तोमनाथ उप्रेती
मानव मन भित्र अनगिन्ती भावनाहरूको बास हुन्छ । तीमध्ये डर, घृणा र रिस जीवनका सबैभन्दा शक्तिशाली र विनाशकारी भावनामा पर्छन् । यी तीन भावनाहरू स्वतन्त्र रूपमा पनि उत्पन्न हुन सक्छन्, तर धेरैपटक एक–अर्काबाट जन्म लिन्छन् र परस्परलाई पोषण गर्छन् । यही अन्तरसम्बन्धले मानिसलाई “मनको अन्धकार यात्रा” तर्फ धकेल्छ जहाँ विवेक धुमिल हुन्छ, दृष्टिकोण संकुचित हुन्छ, र निर्णयहरू भावनाको आँधीमा बहन्छन् ।
डर (त्रास) प्रायः पहिलो ढोका हो । अज्ञातको भय, भविष्यको अनिश्चितता वा विगतका पीडादायी अनुभवहरूले मानिसलाई असुरक्षित बनाउँछ । जब डरले मनमा जरा गाड्छ, यसले असहजता र अविश्वासको बीज रोप्छ । यस अविश्वासको बीजबाट नै घृणा (वितृष्णा) पलाउँछ । डरको कारण हामी अरूलाई खतरा ठान्न थाल्छौं र समयसँगै उनीहरूको व्यवहार, विचार वा अस्तित्व नै अस्वीकार्य देखिन थाल्छ ।
घृणा, स्वभावतः, छुट्याउने शक्ति हो । यसले “हामी” र “तिनीहरू” बीचको दूरीलाई बढाउँछ । जब घृणाले मनमा ठाउँ लिन्छ, संवादको ढोका बन्द हुन्छ , सहानुभूति मर्छ । तर घृणा यथावत् बस्दैन यसले रिस (आक्रोश) जन्माउँछ । रिस बाहिर फुट्ने ऊर्जा हो, जसको मूलमा घृणा र डर दुबैको दवाव हुन्छ । डरले हामीलाई भाग्न प्रेरित गर्छ, तर रिसले हामीलाई आक्रमण गर्न धकेल्छ ।
यी तीन भावनाको मेलले व्यक्ति मात्र होइन, समाजलाई पनि असर पार्छ । व्यक्तिगत स्तरमा, यो संयोजन मानसिक तनाव, चिन्ता र आत्मविनाशतर्फ लैजान सक्छ । सामाजिक स्तरमा, यसले द्वन्द्व, हिंसा, विभाजन र युद्धसम्म जन्माउन सक्छ । इतिहासका धेरै युद्ध, नरसंहार र सामाजिक विद्रोहको जरा यिनै भावनामा पाइन्छ ।
दार्शनिक दृष्टिले, यी तीन भावनाहरू एक प्रकारको चक्र (संसार) जस्तै छन् डरले घृणा जन्माउँछ, घृणाले रिस ल्याउँछ, र रिसले फेरि नयाँ डर सिर्जना गर्छ। यो चक्र आत्मज्ञानको प्रकाश नभएसम्म निरन्तर चलिरहन्छ। यहाँ दोस्रो तहको दर्शन प्रवेश गर्छ — मुक्तिको दर्शन। ध्यान, आत्मनिरीक्षण र संवाद मानसिक उपचार मात्र होइनन्, यी आत्मज्ञानका द्वार हुन्। जब मानिसले आफ्ना भावनालाई टाढाबाट देख्न सिक्छ, ती भावनाहरूमा आफूलाई गास्दैन, तब डरको शक्ति कमजोर हुन्छ, घृणा विगलित हुन्छ, र रिसको ऊर्जा प्रेम वा करुणामा रूपान्तरण हुन्छ।
रिस, शरीरको दृष्टिले, हर्मोनको विस्फोट हो, जसले मुटु, रक्तचाप, पाचन प्रणाली र स्नायु प्रणालीमा असर गर्छ। तर दार्शनिक दृष्टिले, यो हार्मोनिक प्रतिक्रिया भौतिकतामा सीमित छैन — यो हाम्रो चेतनाको तरंग हो, जसले हाम्रो कर्म, सम्बन्ध र नियतिको दिशा परिवर्तन गर्न सक्छ। त्यसैले, रिसको प्रबन्ध स्वास्थ्यको लागि होइन, सम्पूर्ण जीवनको गुणस्तरको लागि अनिवार्य छ।
डर, घृणा र रिस हाम्रो शत्रु होइनन्, यी सन्देशवाहक मात्र हुन्। यी भावनाहरूले हामीलाई देखाउँछन् कि हामी कहाँ असुरक्षित छौं, कहाँ अन्धकारमा छौं। यदि हामीले यी सन्देशलाई बुझ्यौं भने, यी भावना हाम्रो शिक्षक बन्छन्; नबुझ्यौं भने, यी नै हाम्रो विनाशका कारण बन्छन्। आत्मज्ञानको ज्योति नै यो अन्धकार चक्रको अन्तिम उपचार हो, जसले मानिसलाई रिसमुक्त, सन्तुलित र समृद्ध जीवनको मार्गमा लैजान्छ।
रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ।प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ। रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो। रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ। बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ। रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ। रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।
हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो । रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन् ।रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केहि दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
प्रतिक्रिया