संस्कार, चेतना र प्रतिबिम्ब
तोमनाथ उप्रेती
मानव जीवन आन्तरिक संस्कार, चेतना र प्रतिबिम्बको निरन्तर संवाद हो। संस्कारले हाम्रो व्यक्तित्वको आधार निर्माण गर्छ, चेतनाले त्यसलाई अनुभूति र दिशा दिन्छ र प्रतिबिम्बले हामीलाई आफूलाई आफैंभित्र हेर्ने अवसर प्रदान गर्छ। यी तीन तत्वबीचको सम्बन्ध बुझ्नु नै आत्म–अन्वेषणको प्रारम्भिक मार्ग हो।
संस्कार भनेको विगतका अनुभव, शिक्षा, वातावरण र सामाजिक प्रभावबाट बनेको मानसिक संरचना हो। यो अदृश्य भए पनि हाम्रो सोच, निर्णय र व्यवहारमा प्रभाव पार्छ। व्यक्ति के सोच्दछ, कसरी प्रतिक्रिया दिन्छ र कस्तो जीवनशैली अपनाउँछ भन्ने कुरा धेरै हदसम्म संस्कारमा निर्भर हुन्छ। संस्कारलाई चेतनाले निर्देशित नगरेसम्म त्यो यान्त्रिक प्रतिक्रिया मात्र बन्न सक्छ।
चेतना मानव अस्तित्वको जागरूकता हो। यो आफूलाई र संसारलाई बुझ्ने अनुभूति हो। चेतनाले संस्कारलाई प्रश्न गर्छ, सुधार गर्छ र नयाँ दिशा दिन्छ। जब चेतना जागृत हुन्छ, तब व्यक्ति आफ्ना पुराना बानी र सीमित धारणाबाट माथि उठ्न सक्छ। यसरी चेतना परिवर्तनको मूल स्रोत बन्छ।
प्रतिबिम्ब आत्म–अवलोकनको प्रक्रिया हो। जब हामी ऐनामा आफ्नो रूप देख्छौं, त्यो बाहिरी शरीरको छवि मात्र होइन, हाम्रो आन्तरिक अवस्थाको संकेत पनि हुन सक्छ। जीवनका अनुभवहरू पनि एक प्रकारको ऐना हुन्, जसले हाम्रो संस्कार र चेतनाको स्थिति देखाउँछन्। प्रतिबिम्बले हामीलाई आत्मसमीक्षा गर्न, आफ्ना कमजोरी र सम्भावना बुझ्न मद्दत गर्छ।
यी तीनै तत्वहरू एक–अर्कासँग जोडिएका छन्। संस्कारले चेतनालाई आकार दिन्छ, चेतनाले प्रतिबिम्बलाई बुझ्ने क्षमता दिन्छ र प्रतिबिम्बले संस्कारलाई सुधार्ने अवसर दिन्छ। यो निरन्तर चक्रले मानव व्यक्तित्वलाई विकसित गर्दै लैजान्छ।
आधुनिक जीवनमा धेरै मानिसहरू बाह्य सफलतामा मात्र केन्द्रित छन्, तर आन्तरिक संस्कार र चेतनाको विकासलाई उपेक्षा गर्छन्। परिणामस्वरूप मानसिक असन्तुलन, तनाव र असन्तुष्टि बढ्दै गएको देखिन्छ। यदि व्यक्ति नियमित आत्म–प्रतिबिम्बमा संलग्न हुन्छ भने उसले आफ्ना संस्कारलाई बुझ्न र सुधार्न सक्छ, जसले चेतनालाई अझ शुद्ध बनाउँछ।
नैतिकता व्यक्ति वा संस्थाको आचरण, व्यवहार, निर्णयमा झल्किने सच्चरित्रता, इमान्दारी र विवेक हो। यस्ता मूल्यहरू समाजको मेरुदण्ड हुन्। तर, नेपालमा सार्वजनिक जीवनदेखि निजी क्षेत्रसम्म नैतिकताको ह्रास देखिन्छ। नेताहरू भ्रष्टाचारको दलदलमा फसिरहेका छन्, कर्मचारीहरू घुस लिने संस्कारमा रमाइरहेका छन्, नागरिकहरू पनि नियम उल्लंघनलाई सामान्य ठानिरहेका छन्। यस्तो परिवेशमा जब हामी अरूको गल्ती देख्छौं, त्यो देखाइ आत्म सुधारका लागि नभई दोषारोपणको लागि मात्र हुन्छ भने, त्यो नैतिक चेतनाको संकेत होइन, ढोंगको अभिव्यक्ति हो।
राजनीतिमा नैतिकताको गिरावट सबैभन्दा बढी देखिन्छ। नेताहरू जनताका सेवक होइन, स्वार्थी सौदागर झैं देखिन्छन्। निर्वाचनको बेला गरेका वाचा, घोषणापत्रका आदर्श कुरा सब झूट सावित हुने गरेका छन्। जब कुनै सरकार असफल हुन्छ, सत्तारुढ दल विपक्षीलाई दोष दिन्छ, विपक्षी दल सरकारलाई विफल सावित गर्न उद्दत हुन्छ। तर, कसैले ऐनामा हेरेर भनेको छैन मैले के गर्न सक्थेँ? मेरो भूमिकाले समाजमा के असर पार्यो?
हाम्रो समाजमा अरूको आलोचना गर्न, दोष देखाउन, बादबिवाद गर्न रमाउने प्रवृत्ति धेरै छ। सामाजिक सञ्जालमा कसैको व्यक्तिगत जीवन, निर्णय, धर्म, संस्कृति आदिमा टिप्पणी गरिन्छ तर आफू के कति गलत छौं भन्ने कुरा सोच्दैनौं। यस्तो व्यवहारबाट सामाजिक सद्भाव भंग हुने खतरा बढेको छ। हामीले आफूले दिनु पर्ने योगदान, आचरण, बोलीमा ध्यान नदिई अरूको कमीकमजोरीतर्फ औंला तान्ने बानी बसाल्यौं।
नेपालको युवापुस्ता भविष्यका कर्णधार हुन्। उनीहरूमा चेतना छ, विद्रोह गर्ने हिम्मत छ, तर केही हदसम्म उनीहरू पनि यस्तै संस्कारमा अल्झिएका छन्। बेरोजगारी, अवसरको अभाव, राजनीतिक हस्तक्षेप आदि समस्या छन्, तर आत्मदर्शनको पनि आवश्यकता छ। हामीले कति मेहनत गरेका छौं? हामी आफ्नै ज्ञान, सीप, क्षमता सुधार्न लागिपरेका छौं त?
यस अवस्थामा, हाम्रो शिक्षा प्रणाली, समाज र राज्य संयन्त्रले आत्मनिरीक्षण, आलोचनात्मक सोच र नैतिक शिक्षा प्रदान गर्न जरुरी छ। विद्यालय स्तरबाट नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, आत्मविवेचन सिकाउनुपर्छ। केवल अरूलाई दोष दिने होइन, आफूले के योगदान गर्न सकिन्छ भनेर सोच्न सक्ने चेतना विकास गर्नुपर्छ।
हाम्रो समाजले अब ‘ऐनामा हेर्ने’ संस्कार सिक्नुपर्छ। ऐना अनुहार हेर्ने साधन मात्र होइन, त्यो आत्मनिरीक्षणको प्रतीक हो। एकपटक ऐनामा हेरेर म के गर्दैछु? म समाजका लागि जिम्मेवार छु कि केवल आलोचक? भनेर सोध्न सके, तबमात्र परिवर्तन सम्भव हुन्छ। सत्य यथार्थ हेर्न सक्ने आँखा र सुधार गर्न सक्ने साहस नै असल नागरिकता हो।
दोष देखाउने आँखा भन्दा पनि दोष स्वीकृत गर्ने विवेक महत्वपूर्ण हो। नेपालजस्तो परिवर्तनशील समाजमा सुधारका प्रयासहरू त भइरहेकै छन्, तर ती प्रयासहरू प्रभावकारी बन्नका लागि व्यक्तिगत र सामूहिक नैतिकताको पुनर्संस्थापन अनिवार्य छ। जबसम्म हामी ऐनामा हेरेर आफ्ना कमी कमजोरी बुझ्दैनौं, सुधारको यात्रा अधुरो रहन्छ।अरूको गल्ती देख्नुअघि एकपटक ऐनामा हेरौं। त्यो ऐनाले देखाउने हाम्रो प्रतिबिम्बले नै परिवर्तनको सुरुवात गर्नेछ।
आत्म–ज्ञान बाहिरी संसार होइन, भित्री संसारबाट सुरु हुन्छ। जब व्यक्ति आफ्ना विचार र व्यवहारलाई निष्पक्ष रूपमा हेर्न थाल्छ, तब ऊ परिवर्तनको यात्रामा प्रवेश गर्छ। यो यात्रामा संस्कार कच्चा सामग्री हो, चेतना शिल्पकार हो, र प्रतिबिम्ब ऐना हो।
संस्कार, चेतना र प्रतिबिम्ब मानव जीवनको त्रिकोणीय आधार हुन्। यीमध्ये कुनै एकको अभावमा व्यक्तित्व अधुरो हुन्छ। जब यी तीनबीच सन्तुलन कायम हुन्छ, तब मानव जीवन केवल अस्तित्व होइन, अर्थपूर्ण अनुभूति बन्न पुग्छ। यही सन्तुलन नै आत्म–विकास, शान्ति र पूर्णताको मूल आधार हो।
प्रतिक्रिया