राजबिराज। सप्तरीको खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चाैधरीले प्रमुख प्रशासकीय अधिकृतलाई चालु आर्थिक वर्षको खाता सञ्चालनका लागि समयमा अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन्। यता तलबभत्ताको मांग राख्दै नेपाल शिक्षक महासंघ खडक नगर कार्यसमिति आन्दोलित भएका छन्।
तलबभत्ता नदिएको भनी शिक्षकहरू नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। नेपाल शिक्षक महासंघ खडक नगर कार्यसमितिकाअध्यक्ष दिनेश मण्डल जानकारी दिनुभयो। उहाँले भने शिक्षकहरूको बैठकले तलबभत्ता मांगदै हामी कार्यालयमा तलाबन्दी गरेका छाैं।उहाँले भने शैक्षिक वातावरण कायम गर्न र समस्या समाधानका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसंग मांग गरेको छु।यदी हाम्रो मांग सम्बोधन भएन भनेहामी दोश्रो चरणको आन्दोलन घोषणा हुने मण्डलले बताए।
चाडपर्वको समयमा चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्च सबै रोकिएको छ।
स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था अनुसार नगरपालिकाले समयमा नै नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो।
यता नगरप्रमुख चाैधरीले नगरसभाबाट बजेट स्वीकृत भएको झण्डै तीन महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी तीन महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ।
खडक नगरपालिका उपप्रमुख रिता कुमारी चाैधरीले समयमा नगरसभाबाट बजेट पारित भएको तर तीन महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताइन्।उहाँले भने नगरप्रमुख चाैधरीले मिति २०८२ असोज २ गते बसेकाे कार्यपालिका बैठकमा भएको निर्णय समेत उल्लघन गरेको आरोप लगाइन्। ‘मैले पटकपटक, प्रमुखसँग समन्वय गरिसके। तर, उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन्,’ उनले भनिन्।
पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक,स्वास्थ्यकर्मी गरी झण्डै आठ सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि असोजसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन्।
कार्यपालिका सदस्य सिंघेश्वर मण्डलले नगरप्रमुखको हटका कारण साउनदेखि नगरभित्रका सम्पूर्ण विकास निर्माण कार्यहरु पनि रोकिएको जानकारी दिइन्।
प्रमुख प्रशासकीय अधिकृत उपसचिव बिनय सोनुले भने नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले तलबप्राप्त गर्न नसकेको बताए।’नगरप्रमुख ज्यूले अख्तियारी नदिँदा पालिकाको खाता अझैसम्म पनि सञ्चालन गर्न सकिरहेका छैनौँ,’ उनले भने।
प्रतिक्रिया