हाइकुहरू
तोमनाथ उप्रेती
१.
अहङ्कार चर्क्यो
विवेक ओझेल पर्दा
हृदय रित्तियो।
२.
मौन विनम्रता
शिखरभन्दा अग्लो छ
आत्माको उचाइ।
३.
दम्भको बादल
सत्यको सूर्य ढाक्यो
क्षणिक अन्धकार।
४.
अहङ्कार रोप्दा
करुणा उम्रेन कहिल्यै
मरुभूमि मन।
५.
शक्ति बढिरह्यो
प्रेम घट्दै जाँदा
मानव हरायो।
६.
सुनको महल
आत्मा भोकै रह्यो
कस्तो समृद्धि?
७.
विनम्र नजर
संसार सानो लाग्यो
हृदय विशाल।
८.
अभिमान भारी
आत्माको पखेटाले
उड्नै सकेन।
९.
शिखरको हावा
अहङ्कार बोकेपछि
श्वास नै भारी।
१०.
सत्य झुकेन
अहङ्कार थाकेपछि
प्रकाश फक्रियो।
११.
मन जित्नेलाई
संसार झुक्नुपर्छ
यही विजय।
१२.
विनम्र हातले
उचालेको मानवता
अमर रहन्छ।
१३.
अहङ्कार ढल्यो
चेतनाको आकाशमा
शान्ति उदायो।
१४.
आफू हरायो
संसार खोजिरह्यो
उत्तर भित्रै।
१५.
नतमस्तक मन
त्यहीँबाट सुरु हुन्छ
साँचो शिखर।
प्रतिक्रिया