logo
  • २०८२ असार २ | Mon, 16 Jun 2025
  • ‘पशुपति आदर्श मावि प्रकरणमा भ्रम छरियो’

    ‘पशुपति आदर्श मावि प्रकरणमा भ्रम छरियो’

    लहान, ५ जेठ ः लहानको पशुपति आदर्श माध्यमिक विद्यालयको भाडा रकमसम्बन्धी प्रकरणमा जनमानसमा भ्रम छरि विनातथ्य व्यक्तिको बदनाम र चरित्र हत्या गर्ने काम गरिएको नेपाल थारु संघले जनाएको छ । संघका सिरहा अध्यक्ष अजय कुमार चौधरीले आज एक विज्ञप्ति जारी गर्दै यस प्रकरणमा जिल्ला अदालत सिरहाबाट फैसला भइसकेको अवस्थामा चरित्र हत्या गर्ने नियतका साथ समाचार सम्प्रेषण भएकोप्रति विरोध जनाएका हुन् ।

    विज्ञप्ति अनुसार नौ वर्षअघि व्यापारीहरूसँग संकलित पसल भाडा रकम भ्रष्टाचारसम्बन्धी उजुरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट मिति २०८१ चैत २५ गते आएको पत्र अनुसार लहान नगरपालिकाले मिति २०८२ वैशाख ८ गते विद्यालयलाई आवश्यक राय र कागजात पठाउन आग्रह गरेको थियो ।

    सोही अनुसार विद्यालयमा मिति २०८२ वैशाख २२ गते लहान नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन, मुद्दासम्बन्धी विवरण र रायसहित आवश्यक कागजात पेश गरेको थियो। विद्यालयले आफ्नो अभिलेख अनुसार आ.व. २०७२÷०७३ र २०७३÷०७४ को लेखापरीक्षण प्रतिवेदनसहित भाडा रकमसम्बन्धी मुद्दा जिल्ला अदालत सिरहा इजलासमा रही मिति २०८२ वैशाख १५ गते फैसला भइसकेको र फैसलाले वादीको अभिलेख दावी नपुग्ने ठहर गरेको स्पष्ट पारेको छ ।

    यस्तो अवस्थामा मिति २०८२ जेठ ३ गते केही संचार माध्यममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री तथा लहान न.पा. १ निवासी पशुपति आदर्श माविका दाता परिवारमाथि चरित्र हत्या गर्ने आशयका साथ भ्रामक समाचार प्रकाशित गरिएकोप्रति नेपाल थारु सङ्घका अध्यक्ष अजय कुमार चौधरीले एक प्रेस विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्।

    विज्ञप्तिमा भनिएको छ, “विद्यालयलाई अरबौंको सम्पत्ति दान गर्ने परिवारमाथि तत्कालीन प्रधानाध्यापक परमेश्वर रायले व्यापारीहरूसँग संकलन गरेको रु. ५० लाख रकम चुनावमा खर्च गरिएको आरोप पूर्णरूपमा मनगढन्ते, आधारहीन र पूर्वनियोजित रुपमा समाजमा बदनाम गराउने प्रपञ्चमात्र हो ।” यस्तो समाचार अदालतको मानहानी हुने किसिमले तयार पारिएको र पत्रकारले कुन कानुन वा ऐन अनुसार यस्तो संवेदनशील सूचनाको प्रकाशन गरे भन्नेमा प्रश्न उठाइएको छ ।

    चौधरीले विज्ञप्तिमा भनेका छन्, “जब अदालतले फैसला गरिसकेको छ, जब अख्तियारमा अझै अनुसन्धान जारी छ, तब पत्रकारलाई यस्ता सूचना कसरी चुहावट भयो ? के लहान नगरपालिका आफैले अदालतको फैसला हुनासाथ जानकारी चुहाएर समाचार गराएको हो ? यदि हो भने यो गम्भीर आपराधिक नियत हो र यसप्रति हामी घोर आपत्ति जनाउँछौं ।”

    उनले यस्ता घटनाले राज्यका संवैधानिक निकाय, अदालत र संचार जगतकै विश्वसनीयतामाथि प्रश्न उठ्ने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । साथै पत्रकारिताको आडमा चरित्रहत्या र बदनाम गर्ने उद्देश्यले सञ्चालित यस्ता फोहरी खेलको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

    चौधरीले कानुन सबैका लागि बराबर हुने र व्यक्तिको होइन विधिको शासन हुनुपर्ने कुरामा जोड दिँदै निष्पक्ष र सत्य तथ्यको आधरमा मात्र समाचार सम्प्रेषण गर्न संचारमाध्यमलाई आग्रह गरेका छन्। उनले प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउँदै दोषी जोकोही होस्, कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन् ।

    यसले स्थानीय तहदेखि सञ्चारकर्मी, प्रशासनिक संयन्त्र र न्यायिक प्रक्रियामाथिसमेत प्रश्न उठाएको छ । प्रकाशित समाचार सन्तुलित नभएको आरोप लगाइएको छ ।

    यसअघि विभिन्न सञ्चारमाध्यममा स्रोतको हबला दिएर विद्यालय व्यवस्थापन समितिले ८९ जना व्यापारीबाट संकलन गरिएको रु ५ करोड रूपैयाँभन्दा बढी रकम सटर नबनाई दुरुपयोग भएको गुनासो व्यापारीहरूले गर्ने गरेको समाचार प्रकाशित भएको थियो ।

    उक्त समाचार अनुसार यो प्रकरणमा तत्कालीन विद्यालय व्यवस्थापन समितिमार्फत नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पद्म नारायण चौधरीलाई पनि मुछिएको थियो ।

    यस प्रकरणमा थप स्पष्ट पार्न थारु संघले आज लहानमा पत्रकार सम्मेलन गरेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ ५, सोमबार १९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP